प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममा निर्मला पन्तका हत्याराको खोजी

डिसी नेपाल
२४ पुष २०७७ १७:३८

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (ओली)का अध्यक्ष केपी शर्मा ओली नेकपामा विभाजन आएपछि पहिलो पटक राजधानी बाहिरको राजनीतिक कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम प्रदेशको कैलाली पुगे।

शुक्रबार धनगढीमा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ओली र अन्य चारजना मन्त्री सहभागी भए।

नेकपामा विभाजन आएपछि राजधानी बाहिर प्रधानमन्त्रीले सम्बोधन गर्ने यो पहिलो कार्यक्रम भएकाले धनगढीमा ‘शक्ति’ प्रदर्शन गर्नुपर्ने चुनौती नेकपा (ओली)लाई थियो। तर, त्योभन्दा ठूलो चुनौती भएर उभिइन् ‘निर्मला पन्त’।

अढाई वर्ष अघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त शुक्रबारको कार्यक्रममा आफू गएकी होइनन्। उनका हत्याराको खोजी भएको हो धनगढीमा। नेकपा (ओली)को कार्यक्रमस्थलमा ‘निर्मला पन्तका बलात्कारी खोई ?’ लेखिएको सेतो टि शर्ट लगाएका युवाहरु देखिए।

अढाई वर्षसम्म यो घटनाबारे हत्यारा पत्ता लगाउन सरकार असफल छ। यो घटना भएको शुरु शुरुमा नेपाल सरकारका मन्त्रीहरुले हत्यारा भेटिसकेको अभिव्यक्ति दिएका थिए। गृहमन्त्री रामबहादुर थापाले संसदमै यस्ता घटना भइरहने अभिव्यक्ति दिएका थिए।

यो प्रकरणलाई लिएर ओली सरकारको निकै आलोचना भएको थियो। बुधबार फेरि धनगढीमा यो घटनाले प्रधानमन्त्री ओलीलाई तर्साएको छ। प्रधानमन्त्री सहभागी कार्यक्रममा यस्ता टि शर्ट देखिएपछि प्रहरीले टि शर्ट लगाउने युवाहरुलाई नियन्त्रणमा लिएको छ।

उनीहरुलाई के आरोपमा नियन्त्रणमा लिइएको हो ? भन्ने डिसी नेपालको प्रश्नमा कैलाली प्रहरी प्रमुख एसीले फोनमा भने, ‘आरोप त के हुनु? उनीहरुकै सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो। टि शर्टमा निर्मलाबारे लेखिएको देखियो।’

शुक्रबार दिनभर आफू फिल्डमै खटिएको भन्दै एसपीले भने, ‘म दिनभर फिल्डमै छु। थप कुरा पछि गरौंला।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *