कोहलपुर ओपन क्रिकेटः कोहलपुर एकेडेमी र बीबी वारियर्सबीच उपाधि भिडन्त हुने
कोहलपुर। शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारी कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र बीबी वारियर्स फाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको उपाधिको लागि शनिवार फाइल खेल हुनेछ।
बी एण्ड बी साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न सेमीफाइनलमा कोहलपुर क्रिकेट एकेडेमीले न्यू दर्पण युथ क्लब तथा बीबी वारियर्सले बीबीसीसी किर्तीपुरलाई पराजित गर्यो।
कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो सेमीफाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमीले न्यू दर्पण युथ क्लबलाई ४ विकेटले पराजित गर्यो। न्यू दर्पणले दिएको ६३ रनको लक्ष्य कोहलपुरले ९.२ ओभरमा ६ विकेट क्षेतिमा पुरा गर्यो।
कोहलपुरका लागि विनायक गिरीले सर्वाधिक १७ रन, अजय शहानीले १३ रन, सन्दिप नेपालीले १२ रन तथा रमेश सिंहले १० रन बनाए। न्यू दर्पणका बलर सिमोन थापा र दिपक राना मगरले समान २–२ विकेट तथा करन भण्डारी र मोहन थापाले समान १–१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिंग रोजेको न्यू दर्पणले १३.५ ओभरमा सबै विकेट गुमाएर ६२ रन बनाएको थियो। उसको लागि गजेन्द्र ओलीले सर्वाधिक २० तथा दिप राना मगरले १२ रन बनाए। कोहलपुर क्रिकट एकेडेमीका बलर रोशन सिंह, लभकुश यादव, रुपेश कुर्मी र रमेश सिंहले समान २–२ विकेट तथा अजय सहानीले १ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच रुपेश कुर्मी चुनिए।
दोश्रो सेमीफाइनलमा बीबी वारियर्सले बीबीसीसी किर्कीपुरलाई ३१ रनले पराजित गर्यो।
टस जितेर ब्याटिंग रोजेको बीबी वारियर्सले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १२६ रन बनएको थियो। उसका लागि विजय चौधरीले अर्धशतक बनाउने क्रममा ४१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए। शाहिद अन्सारीले २६, अनुपम सिंह र प्रनित थापाले समान १६–१६ रन तथा अमर सिंह रौटेलाले १० रन बनाए। बीबीसीसी किर्तीपुरका बलर सौरभ बमले २ विकेट तथा प्रकाश चन्द ठकुरी र निरज सिंह धामीले समान १–१ विकेट लिए।
यसअघि शुक्रबारनै सम्पन्न चौथो क्वार्टरफाइनलमा बीबीसी किर्तीपुरले यस एक्स्पर्टलाई ३२ रनले पराजित गर्यो। बीबीसीसीले दिएको १०० रनको लक्ष्य पछ्याउने क्रममा यस एक्स्पर्टले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो।
एक्स्पर्टका लागि शुबेन्दु पाण्डेले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बीबीसीसीका बलर किशन बिष्टले सर्वाधिक ३ विकेट तथा निरज सिंह धामी, सौरभ बम र सुरज तिवारीले समान २– २ विकेट लिए।
यसअघि टस हारेर ब्याटिंग गरेको बीबीसीसी किर्तीपुरले १४.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनाएको थियो।
बीबीसीसीका लागि किशन बिष्टले सर्वाधिक २२ रन, सौरभ बमले १९ रन, सन्दिप कुँवरले १३ रन तथा दिपक बोहराले १० रन बनाए। यस एक्स्पर्टका बलर सन्दिप खत्री र बसन्त रेग्मीले समान घ–३ विकेट लिए। नासिर अन्सारी, सौगात खत्री, अनिश छेत्री र राकेश गगुप्ताले समान १–१ विकेट लिए।
खेलको प्लेयर फ द म्याच किशन बिष्ट चुनिए।
Facebook Comment