लोकतन्त्रको आवरणमा लुटतन्त्र,सर्बसत्तावाद र कुशासनः कमल थापा

डिसी नेपाल
२४ पुष २०७७ २०:४८

दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १४ बर्षअघि नयाँ नेपाल निर्माणको नाममा राजसंस्था र हिन्दुराष्ट्र समाप्त गरियो र देशले धान्न नसक्ने संरचना कायम गरेका कारण अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्वसत्तावाद कायम भएको बताएका छन् ।

चुनाव चिन्ह र झण्डा अनावरण कार्यक्रमलाई शुक्रबार दमौलीमा सम्बोधन गर्दै थापाले धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृतिमाथि आक्रमण भैरहेको भन्दै आपत्ती प्रकट गरे ।

थापाले देश अभिभावकबिहिन भएको , विदेशीको चलखेल बढेको, भ्रष्टाचार र कुशासन हाबी भएको भन्दै यो संकटबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उपयुक्त हुने बिचार व्यक्त गरे ।

सम्वर्द्धनवादको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नको निमित्त राप्रपालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले पार्टीलाई राष्ट्रवादी शक्ति बनाउने अभियानमा सबैको सहयोगको अपेक्षा गरेको बताए ।

वाईडबढी, तेत्तीस क्विन्टल सुन, एनसेल कर, बालुवाटार जग्गा प्रकरण जस्ता ब्रम्हलुटको ज्वलन्त नमुना भएको भन्दै थापाले संसद विघटनको घटनाबाट संविधान र संवैधानिक व्यवस्थामाथी गम्भीर प्रश्न चिन्ह खडा भएको समेत स्पष्ट पारे।

कार्यक्रममा राप्रपा नेतृ दुर्गा श्रेष्ठ, हेमजङ गुरुङ, राजेन्द्र अधिकारी, गौमाया श्रेष्ठ, बिनोद घर्ती लगायतले पार्टी र संगठनलाई मजबुत गराउन सकृय हुनुपर्ने आवश्यकता औँल्याए । पार्टी एकता पछि राप्रपाको चुनाब चिन्ह हलो कायम गर्ने सहमति भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *