यूएईमा नेपाली समुदायलाई कोभिड–१९ को नयाँ स्वरुपदेखि सतर्क रहन आग्रह
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)मा विगत केही समयदेखि कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि यूएईस्थित नेपाली समुदायलाई सतर्क रहन भनिएको छ। अबुधाबीस्थित नेपाली राजदूतावासले विशेष गरी कोभिड–१९ को नयाँ प्रकार (New Covid Strain)देखि सतर्क रहन नेपालीहरुलाई आग्रह गरेको हो।
यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार ९ जनवरी २०२१ मा एकै दिन दुई हजार नौ सय ९८ ओटा नयाँ संक्रमणका केसहरू देखा परेका थिए। विशेष गरी युरोपेली मुलुकहरूमा देखापरिरहेको कोभिड–१९ को नयाँ प्रकार यूएईमा पनि पछिल्लो समयमा देखापरेको यूएईका स्वास्थ्य निकायहरूले जनाएका छन्। कोभिड–१९ को यो नयाँ स्वरूप अझ बढी संक्रामक रहेको बताइएको छ।
यस्तो परिस्थितिमा यूएई सरकारले अवलम्बन गरेबमोजिमका स्वास्थ्य प्रोटोकलहरूको पूर्ण परिपालना गरी उच्च सुरक्षा एवं सतर्कता अपनाउन यूएईस्थित नेपाली समुदायलाई दूतावासले सूचनामार्फत सचेत गराएको हो।
साथै, संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न, सामाजिक जमघट, भीडभाड आदिबाट टाढै रहन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, मास्क एवं स्यानिटाइजरको नियमित प्रयोग गर्न आदि कार्यहरू नियमित एवं अझ प्रभावकारी रूपमा पालना गर्न भनेको छ।
Facebook Comment