सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दर्ज्यानी चिन्ह प्रदान

डिसी नेपाल
२७ पुष २०७७ १९:२५

काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका ६ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरे।

सोही विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका ९ जना अधिकृतहरुलाई समेत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गरे।

नेपाल सरकार गृहमन्त्रालय मन्त्रिस्तरको यही पुस गतेको निर्णयले ६ जना अधिकृतहरु सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका थिए। यस्तै पुस २४ गतेकै निर्णयले ९ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर थिएका थिए।

सो समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व पूरा गर्न पूर्णव्यावसायिक भई इमान्दारिताकासाथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने बताए।

उनले राष्ट्र र संगठनको लागि आफ्नो ज्यानको समेत आहुती दिएका अमर सशस्त्र प्रहरीहरुको त्याग र बलिदानको सम्मान हुने गरी ईमान्दारिताकासाथ जिम्मेवारी निर्वाहमा लाग्नुपर्ने चर्चा गर्दै सशस्त्र प्रहरी अधिकृतहरुले आफू मातहतकालाई समेत अनुगमन तथा मार्गदर्शन गर्दै कुशल नेतृत्व प्रदानगरी आगामी दिनमा अझै परिस्कृत भएर राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपत विपदमा परेकाहरुको उद्वार कार्यमा सकृय रहनुपर्ने उल्लेख गरे।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुपर्ने उल्लेख गरे।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *