संसद विघटनले राजनीतिक अस्थिरता ल्याएको छः उपेन्द्र यादव
पर्सा । जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयले मुलुकमा राजीतिक अस्थिताको वातावरण निर्माण गरेको आरोप लगाएका छन् । जसपा पर्साले आज वीरगञ्जमा अयोजना गरेको विरोध कार्यक्रममा अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अस्थिता उत्पन्न गरेको तथा लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको बताए ।
पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री यादवले दुवै छिमेकीसँग राष्ट्र हितका आधारमा सन्तुलित मैत्रीपूर्ण सम्बन्ध राख्न तथा समान व्यवहारका आधारमा कूटनीतिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । यादवले वर्तमान समस्या संवैधानिकभन्दा बढी राजनीतिक रहेकाले यसको समाधानको उपाय राजनीतिबाट नै खोजिनुपर्ने भनाइ राखे ।
कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक अस्थिरताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने तत्वले सल्बलाउने मौका पाएको बताए । उनले वर्तमान संविधानले नेपाली नागरिकलाई प्रदान गरेको मौलिक हकलाई हेर्न नचाहने र प्रतिगमनको पर्खाइमा रहेकाहरुलाई संसद विघटनको निर्णयले अवसर प्रदान गरेको जिकिर गरे । जसपा पर्साका अध्यक्ष रामनरेश यादवका अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले नेकपाका नेताहरुको आन्तरिक झगडाले लोकतन्त्रलाई नै धरापमा पारेको आरोप लगाए । रासस
Facebook Comment