चाडपर्वले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् : प्रदेश प्रमुख कलाैनी

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘मकर सङ्क्रान्ति’, ‘माघे सकराती’ र ‘माघीपर्व’को अवसरमा शुभकामना व्यक्त गरेका छन्।
उनले आज शुभकामना सन्देश जारी गर्दै हरेक वर्ष थारूहरुले मनाउने माघीपर्व, मगर समुदायले मनाउने माघे सकराती पर्व र अन्य समुदायले मनाउने मकर सङ्क्रान्ति पर्व तथा राष्ट्रिय योग दिवस, २०७७ को सुखद् उपलक्ष्यमा प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा आरोग्यताका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा भनिएको छ, “नेपालमा हरेक जातजाति तथा क्षेत्रमा मनाइने चाडपर्वले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । पर्वका आफ्नै खालको विशिष्ट महत्व छ । हाम्रा चाडपर्वले हाम्रो भौगागिलक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्न योगदान गरेका छन् । तिनको माध्यमबाट राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।”
पूर्वीय दर्शनबाट प्रादुर्भाव भएको योग र ध्यानका माध्यमले शरीरलाई विकारमुक्त राखी मानिसलाई स्वस्थ बनाउने कुरा हाम्रो पूर्वजहरुको खोज अनुसन्धान र व्यवहारबाट प्रमाणित भइसकेको र आधुनिक चिकित्सा पद्धतिले समेत स्वीकार गरी सरकारले विसं २०७२ देखि माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरेको जनाउँदै प्रदेश प्रमुख कलौनीले यस वर्ष ‘योग गरौँ डटेर, कोभिड जान्छ हटेर’ भन्ने मूल नारासँगै मनाइने दिवसले रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास लिएको बताए।रासस
Facebook Comment