ओमान र नेपालबीच श्रम सम्झौता र फ्रि भिसासम्बन्धमा छलफल
काठमाडौं। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले श्रम सम्झौता र फ्रि–भीसाका लागि ओमानसँग छलफल गरेकी छन्। ओमानस्थित नेपाली दूतावासका अनुसार राजदूत ढकाल र ओमानको परराष्ट्र मन्त्रालयका सचिव शेख खलिफा अल हार्थीबीच भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको हो।
भेटमा नेपाल र ओमान सरकारबीच तयारी हुने भएको श्रम सम्झौता, पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता, ओमानले सयवटा देशलाई प्रदान गर्न लागेको फ्रि–भीसा सम्बन्धी, भीसा उन्मुक्ति सम्झौताको कार्यान्वयन तथा नेपाली दूतावासको भवन निर्माणको प्रगति आदिमा पछिल्लो अवस्थाका बारेमा जानकारी आदान–प्रदान भएको दूतावासले जनाएको छ।
ओमानका नयाँ परराष्ट्रमन्त्री सइद बद्र बिन हमाद बिन हमुद अल बुसैदीले विदेशी राजदूतहरूका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा राजदूत ढकाल सहभागी भएको दूतावासले जनाएको छ। त्यस्तै, राजदूत ढकालले ओमानको परराष्ट्र मन्त्रालयले आयोजना गरेको मानव बेचविखनविरुद्धको अन्तरक्रियामा सहभागी भइ पीडित कामदारहरूका लागि साझा सेल्टरको व्यवस्था गर्न जोड दिएकी छन्।
राजदूत ढकालले ओमानका लागि लक्जेमबर्गका नवनियुक्त कन्सुलर डा.आदिल अल शाफरी, ओमानका लागि मोरक्कोका राजदूत तारिक अल हिसनसँग नेपालको बहुपक्षीय हितकाबारेमा छलफल गरेको दूतावासले जनाएको छ।
त्यस्तै ओमानका लागि सिरियाका राजदूत बसाम सैफ इद्दिन अल्ख्तिब, ओमानका लागि यमनका राजदूत डा.खालिद विन सलेह विन शातेफ, ओमानका लागि दक्षिण अफ्रिकाका राजदूत मनाविल शोगोले, जापानका राजदूत तोसिनोरी कोबयासी, ओमानका लागि फिलिपिन्सकी राजदूत इमेल्डा पानोलोङसँग द्विपक्षीय हितमा साथै श्रम बजारको पछिल्लो अवस्था र सहकार्यका अन्य कूटनीतिक विषयहरूमा छलफल गरेको दूतावासले जनाएको छ।
Facebook Comment