‘प्रचण्ड सहमतिमा होइन, समिकरणको बाटाेबाट सत्तामा पुग्ने हतारोमा हुनुहुँदो रहेछ’
एकताको रक्षाका लागि गरिएका प्रयासहरु किन असफल भए भनेर कमरेडहरु प्रश्न गर्नुहुन्छ। म कति कुरा बताउ भनेर अन्योलमा पर्छु। प्रतिनिधिसभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिएँ जनार्दन शर्माको साथमा।
त्यस दिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्वकासाथ सुझाएको थिए। तर कमरेड प्रचण्ड त्यस प्रति एकरती पनि सकारात्मक देखिनु भएन। मेरो तर्फबाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनु भएन।
उहाँ आफ्नो भित्री योजनामा निकै प्रतिवद्ध भइसक्नु भएको रहेछ। उहाँ सहमतिमा होइन, समिकरणको बाटाेबाट सत्तामा पुग्ने हतारोमा हुनुहुँदो रहेछ। नेपाली राजनीतिमा आज हामी त्यसको परीणाम व्यहाेर्दै छौं।
पार्टी एकता समयको माग र आवश्यकता थियो। दुई अध्यक्षले त्यसको नेतृत्व गर्दा चमत्कारको शैलीमा आफूलाई प्रस्तुत गर्नु भयाे। हामीले बैचारिक र सांगठनिक प्रश्नलाई सुल्झाएर अघि वढ्नु उचित हुने सुझाव दिएका थियौं। तर उहाँहरुले भावनात्मक कुरा गर्नु भयाे।
हामीले त्यसलाई स्विकार गर्यौं। तर कमरेड प्रचण्डमा एकतालाई पूर्णतामा लैजाने कुरामा कुनै तत्परता देखिएन। भएको शक्तिसमिकरणका माध्यमबाट अघि बढ्ने कुरामा नै हमेसा रुची देखियो। तर आज आएर विचार गर्दा पार्टी एकता नै कमजोर धरातलमा अडेको देखियो।
आजको संकटको कारण प्रतिनिधिसभाको विघटन हो या दुई तिहाईको जनादेशलाई र पार्टी एकताको भावनालाई आत्मसात गर्न नसक्ने कुरा हो भन्नेमा हाम्रा बीचमा बिमति रहेछन्। प्रतिनिधिसभा विघटन परिणाम हो, कारण होइन। कारण त हाम्रो पार्टी प्रणालीमा छ र त्यसमा सुधार नै नयाँ एकताको आधार हो।
तर पनि यसले दुई फरक आन्दोलनका प्रवृत्तिहरुलाई अन्तरघुलन हुने अवसर भने प्रदान गरेको छ। एकातिर कमरेड केपीको साथमा रामबहादुर थापा बदल हुनुहुन्छ, अर्कोतिर पुष्पकमल दाहाल प्रचण्डको साथमा माधवकुमार नेपाल। यसले पनि नयाँ शिराबाट आन्दोलनलाई पूनर्गठन गर्ने अवसर प्रदान गरेको छ।
नेपाली राजनीतिमा पुरानो पुस्ताले अधिकार प्राप्तिको लडाईँमा ऐतिहासिक भूमिका निर्वाह गरेकै हो। नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले एउटै पुस्ताले तीनवटा क्रान्तिको नेतृत्व गरेको कुरा सगौरव चर्चा गर्नुहुन्थ्यो। वास्तवमा क्रान्तिको इतिहासमा यो अनुपम कुरा नै थियो। तर दुनियामा एउटा क्रान्तिबाट युगको परिवर्तन हुन्छ।
तर हामी कहाँ तीनवटा क्रान्ति पछि पनि युग परिवर्तनको आभाष दिन सकिएको छैन। यस्तो किन? पुरानो पुस्ताका नेताले खोज्ने कोशिस कहिले गर्नु भएन। कमरेड केपीले त्यसको समाधान दिने प्रयास के गर्नु भएको थियो।
उहाँलाई चारैतिरवाट घेरावन्दी गरियो र अपमानजनक हिसावले पार्टी र आन्दोलनवाट बाहिर पठाउने कोशिस गरियो। कमरेड केपी ओलीको प्रतिनिधिसभा विघटनको घटनालाई सोही परिपेक्षमा हेर्नु पर्दछ। यो एक प्रकारले नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्धमा कमरेड केपी शर्मा ओली नेतृत्वमा भएको राजनीतिक विद्रोह हो। नयाँ युगतर्फको पाइला हो।
नेकपा भित्र कमरेड केपी शर्मा ओलीलाई एकता निर्माणमा असफल भएको आरोप लगाइएको छ। मेरो विचारमा नेपालका पार्टी निर्माणमा देखिएको जडताको परिणाम हो यो। नौ सदस्यीय सचिवालयमा सात जना पार्टी प्रमुख हुनु र चार जना पूर्व प्रधानमन्त्री हुनु आफैंमा एकता निर्माणको चुनौती थियो।
पश्चिमा मुलुकहरुले राजनीतिमा आउनसक्ने यस प्रकारको अवस्थाको समाधान पहिले नै खोजेका थिए। समाजवादी चीनले पनि त्यसको समाधान खोजिसकेको छ। तर हामीले पद्धतिगत सुधारको साटो व्यवस्थापनमा जोड दियौं र आजको संकटलाई आमन्त्रण गरौं।
मेरो विचारमा पार्टी पद्धतिमा सुधारको प्रयास नगर्ने हो भने पुनर्गठित पार्टीहरु भित्र पनि भविष्यमा यही प्रकृतिको समस्या नआउला भन्न सकिन्न। अहिले प्रचण्ड र माधव कमरेडहरुका बीचमा चलिरेहको छलफलले पनि त्यही संकटलाई संकेत गरिरहेको छ।
कतिपय कमरेडहरु नयाँ शिरावाट एकताको पहल गर्न अनुरोध गरिरहनु भएको छ। त्यो पहलकदमीका लागि यस्ता कुरामा मतैक्यताको आवश्यकता पर्दछ।
आजको संकटको कारण प्रतिनिधिसभाको विघटन हो या दुई तिहाईको जनादेशलाई र पार्टी एकताको भावनालाई आत्मसात गर्न नसक्ने कुरा हो भन्नेमा हाम्रा बीचमा बिमति रहेछन्। प्रतिनिधिसभा विघटन परिणाम हो, कारण होइन। कारण त हाम्रो पार्टी प्रणालीमा छ र त्यसमा सुधार नै नयाँ एकताको आधार हो।
आउनुहोस् नयाँ जनादेशको वाटोवाट नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकतावद्ध गरौं। पार्टी पद्धतीको सुधारका माध्यमवाट नयाँ युगको सारथीको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनलाई सुदृढ गरौं।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलकाे फेसबुकबाट
Facebook Comment