विभागद्वारा अल साशा ओभरसिजमा छापा

डिसी नेपाल
४ माघ २०७७ १७:०८

काठमाडौं। वैदेशिक रोजगार विभागको अनुगमन तथा अभिमुखिकरण शाखाका शाखा अधिकृत कुशल बराल नेतृत्वमा खटिएको अनुगमन टोलीले अल साशा ओभरसिज प्रा.लि.मा छापा मारेको छ। वैदेशिक रोजगार जान लागेका व्यक्तिसँग सरकारले तोकेको मूल्यभन्दा बढी रकम असुल गरिरहेको अवस्थामा विभागले गौशालास्थित उक्त म्यानपावरमा आज(आइतबार) छापा मारेको हो।

अल साशा ओभरसिजमार्फत वैदेशिक रोजगारमा जान लागेका चितवनका शुमन थापाले साउदी अरब जानका लागि सोहि म्यानपावरलाई ९४ हजार पाँच सय रुपैयाँ बुझाउन लागेका थिए। उक्त म्यानपावरका सञ्चालक सुमन थापासँग नभई सोहि कम्पनीसँग सम्बन्धित रहेर काम गर्दै आएका अनुप राईलाई ९४ हजार पाँच सय रुपैयाँ बुझाएर भोलि(माघ ५ गते) राति ११ः४५ बजेको फ्लाइटमा पीडित थापा विदेश उड्ने भएका थिए।

तर विदेश उड्नुभन्दा अगाडिसम्म पीडक राईसँग पीडित थापाको तलबलगायतको कुरामा विवाद भएपछि उनी विभागमा उजुरी दिन पुगेका थिए। सोहि उजुरीको आधारमा विभागको अनुगमन टोलीले उक्त म्यानपावर कार्यालयको मिटिङ्गहलमा रहेका पीडक राईले लगाएको ज्याकेटको गोजीबाट उक्त रकम रंगेहात बरामद गरेको हो।

पछिल्लो समय विभागले विभिन्न म्यानपावर कम्पनीहरुमा छापा मार्ने काम गरिरहेको छ। विदेश पठाइदिने भन्दै युवाहरु ठगिने गरेकाले विभागले अनुसन्धानको दायरालाई अझ फराकिलो बनाउँदै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *