बेलायतको ‘द रिफरेन्स ग्रुप’मा नेपाली मूलका श्रेष्ठ

डिसी नेपाल
५ माघ २०७७ ११:२४

काठमाडौं। रंगभेद एवं जातीय आधारमा हुने असमानता र विभेदबारे अनुगमन गरी त्यसको रोकथामका लागि रणनीति तय गर्न पूर्वमन्त्रीसमेत रहेका सत्तारुढ पार्टीका एक बेलायती सांसद मारिया मिलरले गठन गरेको ‘द रिफरेन्स ग्रुप’मा नेपाली मूलका शिवजी श्रेष्ठ नियुक्त भएका छन्।

एशियन मूलका समुदायको प्रतिनिधित्व गर्दै जातीय आधारमा हुने असमानता र विभेदबारे अनुगमन गरी त्यसको रोकथामका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको हो। सांसद मिलरको सचिवालयका अनुसार समितिमा एसियन मूलका समुदायको प्रतिनिधित्व गर्दै श्रेष्ठलाई नियुक्त गरिएको हो।

बेजिङस्टोक मल्टिकल्चरल फोरमको अध्यक्षका हैसियतमा समितिमा श्रेष्ठको नियुक्ति भएको हो। कार्यक्षेत्रमा हुने जातीय विभेद सम्बन्धी अध्ययन र अनुगमन गरी यसको रोकथामका लागि रणनीति बनाउनु नै समितिको प्रमुख कर्तव्य रहने श्रेष्ठले बताए।

कोभिड १९ महामारीबीच बेलायतमा अहिले सुरु भइसकेको कोभिड खोप वितरणमा अल्पसंख्यक समुदायको समान पहुँचका लागि समेत समितिले काम गर्ने उनले बताए। पूर्वमन्त्री एवं हाल बेलायती संसद हाउस अफ कमनको महिला तथा समानता छनोट समितिका सभापति सांसद मिलरद्वारा गठित जातीय विभेदविरूद्धको समितिमा भएको नियुक्तिलाई आफूले एक अवसरका रुपमा लिएको श्रेष्ठले बताए।

नेपाल प्रहरीका पूर्व डीएसपीसमेत रहेका श्रेष्ठ बेलायतको नेपाली र स्थानीय दुवै समुदायमा सक्रिय रहँदै आएका छन्। विश्वका २७ देशबाट आएका करिब ८० वटा समुदायको प्रतिनिधित्व रहेको बेजिङस्टोक मल्टिकल्चर फोरमको नेतृत्व गरेका श्रेष्ठ लेबर पार्टीको बेजिङस्टोक कार्यसमितिमा पनि सदस्य छन्। अश्वेत, एशियन तथा अल्पसंख्यक समुदायसम्बन्धी विभागमा संयोजक समेत रहेका श्रेष्ठलाई केही महिनाअघि बेलायतको ह्याम्पसायर प्रहरीले आफ्नो सल्लाहकार बोर्डमा मनोनित गरेको थियो।

सांसद मिलरको नेतृत्वमा रहेको उच्चस्तरीय समितिमा स्थानीय बेजिङस्टोक काउन्सिलका मेयर डायनी टेलर, बेजिङस्टोक जिल्ला प्रहरीका प्रमुख चीफ इन्सपेक्टर क्यारेन म्याकमेनस, बेजिङस्टोक काउन्सिलका डेपुटी लिडर साइमन बाउन्डलगायत सदस्य छन्। त्यस्तै, स्थानीय बेजिङस्टोक अस्पताल ट्रस्टका प्रमुख, एल्डवर्थ स्कुलका हेडटिचरका साथै जातीय विभेदविरुद्ध क्रियाशील समुदायका अगुवा समितिमा सदस्य छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *