पौडेलको निवासमै पुगेर सभापति देउवाले खोजे सहमति

डिसी नेपाल
५ माघ २०७७ १९:३४

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको महाधिवेशन, संसद् विघटनबारे नीति र प्रदेश सरकारविरुद्ध आएका अविश्वास प्रस्तावबारे निर्णय हुन नसकिरहेका बेला सोमबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एक्लाएक्लै छलफल भएको छ।

सभापति देउवा सोमबार अपराह्न पाँच बजे पौडेल निवास बोहोराटार पुगेको बुढानिलकण्ठ स्रोतले जनाएको छ। पार्टीको आन्तरिक विवादमा दुई नेताबीच सुमधुर सम्बन्ध नरहेको चर्चा चलिरहेका बेला सभापति देउवा आफै पौडेल निवासमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

बुढानिलकण्ठ स्रोतका अनुसार पार्टीको महाधिवेशन र प्रदेश सरकारविरुद्ध आएको आविश्वास प्रस्तावबारे सहमति खोज्न देउवा पौडेल निवास पुगेका हुन्। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपामा विभाजनसँगै अविश्वास प्रस्ताव दर्ता भएका छन्। यी दुबै प्रदेशमा बुधबार प्रदेशसभाको अधिवेशन शुरु हुँदैछ।

दुबै प्रदेशमा काँग्रेसले समर्थन गर्नेले नै सरकार बनाउने अवस्था रहेकाले काँग्रेसको भूमिका महत्वपूर्ण छ। त्यसैले काँग्रेसले गर्ने निर्णयले दुईवटा प्रदेशको सरकारको भविष्य निर्धारण गर्नेछ।

सभापति देउवाले यी महत्वपूर्ण विषयमा सहमतिमै निर्णय लिन पौडेलसँग छलफल गरेको बुढानिलकण्ठ स्र्रोतले बतायो।

उता पौडेल निकट स्रोतका अनुसार प्रदेश सरकारबारे काँग्रेसको रणनीति स्थानीय अवस्थाअनुसार निर्णय गर्नुपर्ने सुझाव पौडेलले दिएका छन्।

सकेसम्म कााग्रेसले यी दुबै प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि पहल गर्ने सम्भावना रहेको काँग्रेस नेताहरु बताउँछन्।

उता फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने निर्णय भए पनि अब फागुनमा नहुने भएपछि महाधिवेशनको नयाँ मिति तोक्नेबारे पनि दुई शीर्ष नेताहरुबीच छलफल भएको बोहोराटार स्रोतले जनाएको छ। क्रियाशील सदस्यता छानविन समितिबारे पनि दुबै नेताबीच छलफल भएको छ। तर, ठोस सहमति बनिनसकेको जनाइएको छ।

देउवा क्रियाशील छानविन समितिको संयोजक रमेश लेखकलाई बनाउन चाहन्छन् भने पौडेल यसअघिका संयोजक नरहरि आचार्यकै संयोजकत्वमा समिति बनाउनुपर्ने अडानमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *