नेपाली सेनाका सिपाहीले १६ वर्षमै पेन्सन पाउने

खेमराज थापा
५ माघ २०७७ २०:१५

काठमाडौं। नेपाली सेनाको सेवा र शर्तसम्बन्धी नियावली संशोधन भएसँगै सेनाको तल्लो तहमा रहेका सैन्य कर्मचारीहरुले सेवा शुरु गरेको १६ वषमै पेन्सन पाउने भएका छन्।

सैनिक सेवा (तेस्रो संशोधन) नियामवली २०७७ लाई गएको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उच्च स्रोतले जनायो।

सेनाले यो नियामवली संशोधनका लागि एकवर्ष अगाडि नै पक्रिया शुरु गरेको थियो। तर, कानून मन्त्रालय र अर्थमन्त्रालयको सहमति लिन लामो समय कुर्नुपरेकाले मन्त्रिपरिषदबाट स्वीकार हुन समय लागेको स्रोतले बतायो।

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्भ पौडेलले मन्त्रिपरिषद्बाट नियामवली स्वृकती भएको जानकारी प्राप्त भइनसकेको उल्लेख गर्दै एक वर्षअघि नै प्रक्रिया शुरु गरिएको जानकारी दिए।

स्रोतका अनुसार अब सेनाको उच्च अधिकृतदेखि सिपाहीसम्मलाई ४ वर्गमा वर्गीकरण गरि पेन्सन अवधि व्यवस्था गरिएको छ। यसअघि सबैको एउटै २० वर्षमा पेन्सन हुने भए पनि अब सहायक सेनानी र सोभन्दा माथि महारथी २० वर्ष, सुवेदार, प्रमुख सुवेदारको १९ वर्ष, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाक सेवा प्रवेशको १६ वर्षमा पेन्सन हुने भएको छ। तर पेन्सन अवधि पुगे थप अवधि सेवामा भने रहन सक्छन्।

सेनामा यो नयाँ पेन्सन अवधि लागू भएसँगै सबैभन्दा धेरै तल्लो तहका सेनाका कर्मचारी लाभान्वित हुनेछन्। यो पेन्सन अवधिबारे सेनाका पूर्व जर्नेलहरुले पनि सकरात्मक प्रतिक्रिया दिएका छन्। सेनाका अवकास प्राप्त जर्नेल नेपालभुषण चन्दले यो निर्णकै निकै राम्रो भएको प्रतिक्रिया दिए।

उनले डिसी नेपालसँग भने, ‘यो निकै राम्रो निर्णय हो। अब सेनाप्रति आकर्षण बढ्छ। सिपाहीले जागिरे जीवन सकेर अर्को जीवन पनि शुरु गर्न सक्छ। आफू सेवानिवृत भएपछि उसले आफ्नो परिवारका सदस्यलाई पनि सेनामा सेवा गर्न प्रेरित गर्छ। सेना एक अनुशासित संगठन हो। त्यसले गर्दा देशमा अनुशासन पनि कायममा सहयोग पुग्छ। यो निर्णयले संस्थालाई पनि राम्रो गर्छ।’

जर्नेल चन्दसँग अर्का अवकास प्राप्त जर्नेल बाबुकृष्ण कार्कीपनि सहमत छन्। उनले पनि यो व्यवस्थाले सेनाको मनोबल बढ्ने बताए। उनले डिसी नेपालसँग भने, ‘हौसला, मनोबल बढ्छ। २० वर्ष सेनामा रहँदा उमेर ४० नाघिसकेको हुन्छ। त्यसैले अब १६ वर्षमै पेन्सनमा आउँदा उसले सेकेण्ड इनिङ पनि शुरु गर्न सहज हुन्छ।’

अहिले वैदेशिक रोजगारमा जान सेनाका कर्मचारीहरुले बिचैमा जागिर छाड्दै आएका छन्। यो त्यो नहुने विश्वास गरिएको छ। जर्नेल कार्कीले वैदेशिक रोजगारीमा जान पनि बाटो खुल्ने बताए।

त्यतिमात्र होइन उनले थपे, ‘एक इमान्दार सिपाहीको तलबले परिवार पाल्न मुस्किल हुन्छ। त्यसैले उसले सेकेण्ड इनिङ शुरु गर्नुपर्ने हुन्छ। अर्कोतर्फ सँगैका साथीहरु राजनीतिमा लागेर मन्त्रीसम्म भइसक्छन् तर सेनाका सिपाही भने उही अवस्थामा हुँदा उनीहरुको मनोबल गिरेको हुन्छ। १६ वर्षमै पेन्सन आए उनीहरु अन्य विकल्पमा सहज रुपले जान सक्छन्।’

तत्कालिन प्रधानसेनापति गौरव शम्शेर राणाका पालामा सेनाका सबै तहका कर्मचारीको पेन्सन अवधि एउटै बनाइएको थियो। तर, हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र सुधारको अभियान नै चलाएका छन्। सोही अभियान अनुसार नियामवली संशोधन पनि एक प्रमुख काम हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *