विदेशमा कमाउन नसकेका चौधरीलाई स्वदेशकै कृषिबाट मनग्गै आम्दानी

डिसी नेपाल
६ माघ २०७७ १५:१७

काठमाडौं। शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका विरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन्। पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन्। घरकै बारीमा तरकारी खेती गरेर उनले वार्षिक रूपमा आठ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन्।

विदेशमा दुःख गर्दासमेत गतिलो आम्दानी हात पार्न नसकेका उनले बारीमा तरकारी रोप्न थालेपछि विगतका दुःखका दिन बिर्सेका छन्। दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी अरेविया गएका उनी स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाइ स्वदेश फर्केका हुन्।

‘धेरै पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएको थिएँ’, उनले भने, ‘अत्यधिक गर्मीका कारण पेट दुख्ने र खुट्टा दुख्नेलगायत स्वास्थ्य समस्याले काम गर्न नपाइ घर फिर्ता भएँ। वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जा र पछि उपचार गर्न लागेको कर्जा तिर्न निकै समस्या थियो।’

‘गाउँकै साहुबाट कर्जा लिएकाले घरदैलोमै पैसा माग्नका लागि आउने गर्दथे’, विगत सम्झँदै उनले भने, ‘घर फर्केपछि हाउस पेन्टिङको कार्य गर्न थाले। त्यसबाट केही पैसा जम्मा भयो। ती पैसामध्ये केही कर्जावापतको ब्याज तिर्न भ्याएँ। जम्मा भएको केही रकम तरकारी खेतीका लागि आवश्यक पर्ने बीउबिजन, रसायनिक मल, विषादी खरिद गर्नका लागि राखेँ।’

सुरुमा थोरै जग्गामा तरकारी खेती गरेका चौधरीले विस्तारै तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल बढाउँदै लगे। हाल स्वामित्वको दुई बिघा जग्गामा उनले तरकारी रोपेका छन्। ‘परम्परागतरूपमा तरकारी रोप्दै आएका थियौं’, उनले भने, ‘तालिम लिएपछि तरकारी लगाउने तौरतरिका सिकेपछि आम्दानी मात्रै बढेको छैन्। वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जासमेत तिर्न सकिएको छ।’

उनले हिउँदे तरकारी बालीमा आलु, काउली, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, बन्दा, हरियो सागपातलगायत रहेको छ। बेमौसमी तरकारी बालीका रूपमा उनले काँक्रा, लौका, फर्सी, तितेकरेलालगायत प्लाष्टिक टनेलमा लगाएका छन्। वर्षे तरकारीमा तनेबोडी, तितेकरेलाको खेती उनले गर्दै आएका छन्।

विदेशको दुःखले स्वदेशमै आयआर्जनमूलक कार्य गर्नुपर्छ भन्ने सोच राखेर तरकारी खेती गरेको उनले बताए। ‘कर्जा तिर्न कुनै उपाय थिएन’, उनले भने, ‘बारीमै मेहेनत गर्न परिवारले सघाए, त्यसपछि आम्दानी बढ्दै गएको छ। मेहेनत गरेपछि जे पनि सम्भव हुँदोरहेछ।’

उनले तरकारी खेतीसँगै बङ्गुर, ब्रोइलर कुखुरा र स्थानीय जातका कुखुरासमेत पालन गरेका छन्। किसान चौधरीजस्तै बेलडाँडी गाउँका २० बढी परिवार तरकारी खेतीमा संलग्न रहेका छन्। तरकारी खेतीमा संलग्न सबैका घरघरमा दुईदेखि चारसम्म मौसमी तथा बेमौसमी तरकारी खेती गर्नका लागि प्लाष्टिकका टनेल निर्माण गरिएका छन्। प्लाष्टिका टनेलसँगै यहाँका किसानले खेतबारीमा तरकारी उत्पादन गरी बेच्दै आएका छन्।

सिँचाइका लागि पुरानो गाउँमा कुलो छ। त्यसै कुलोको पानी प्रयोग गरी तरकारीलगायतको खेतीमा सिँचाइको व्यवस्था हुने गरेको छ। तीन कठ्ठा जग्गामै गोलभेँडा खेती गरी गतवर्ष ६० हजार रुपैयाँ आम्दानी हात पारेका तेजबहादुर चौधरीले यस वर्ष गोलभेँडा खेतीको क्षेत्र विस्तार गरेका छन्।

हालसम्म ४० हजार रुपैयाँ बढीको गोलभेँडा र ७० हजार रुपैयाँ बढीको काउली उनले बिक्री गरेका छन्। ‘खर्च कटाएर एक सिजनमै गत वर्ष दुई लाख रुपैयाँ आम्दानी हात परेको थियो’, उनले भने, ‘यस वर्ष तरकारी सप्रिएकाले आम्दानी दोब्बर हुन्छ।’

बेलडाँडी गाउँका तरकारी खेतीमा संलग्नहरुको आम्दानी पाँच लाखदेखि वार्षिकरूपमा १५ लाख रुपैयाँबढी हुने गरेको छ। यहाँका युवाहरु विगतमा परिवारको खर्च चलाउनकै लागि वैदेशिक रोजगारी र मजदुरीका लागि भारतमा जाने कार्य गर्दै आएका थिए। तरकारी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि युवा यसमै रमाउन थालेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *