संवैधानिक राजसंस्था निर्वाचनको मुख्य कार्यसूची हुन्छः डा प्रकाशचन्द्र लोहनी

डिसी नेपाल
६ माघ २०७७ २३:२४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी आगामी निर्वाचनमा संवैधानिक राजसंस्था र धर्म सापेक्षता पार्टीको मुख्य एजेण्डा हुने बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राजतन्त्रलाई सबै दलको सहमतिमा कायम गर्ने र धर्मबारे संविधानअनुसार जनमत सङ्ग्रह गर्नुपर्ने विचार राखे ।

अध्यक्ष लोहनीले सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धमा गर्ने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने विचार व्यक्त गरे । उनले मुलुकमा बेरोजगारी समस्या विकराल भएकामा चिन्ता व्यक्त गर्दै विश्वका विभिन्न देशमा नेपाली युवा कामदारको रुपमा जानु दुःखद् भएको बताए ।

‘देश र जनतालाई एकताको सुत्रमा बाँध्न राजसंस्था आवश्यक भएको छ । शासन जनताले गर्ने, बेलायत, क्यानाडा, नर्वेमा जस्तो अभिभावकको रुपमा रहने राजसंस्था व्यवस्था चाहिएको छ । राजा र जनताको एकतामा नै देश बलियो हुने हो, प्रजातन्त्र सुढृद हुने हो,’ लोहनीले भने ।

भागभण्डाका कारण प्रशासनतन्त्रमा आठपरिया प्रवृत्ति चलीरहेको भन्दै अध्यक्ष लोहनीले चिन्ता व्यक्त गरे । ‘एक वर्षमा तीन–तीन पटक सचिव सरुवा गरिन्छ, यो कस्तो व्यवस्था हो, कस्तो प्रजातन्त्र हो,’ उनले भने ।

राप्रपाका नेता रामचन्द्र रायले नेकपाको घरझगडाले देश अस्थितर बनेको, संंवैधानिक संकट खडा भएको बताए । नेता श्याम तिमल्सिनाले राप्रपा विकल्प दिन एक भएको र त्यसै अनुरुप देश र जनताको हितमा विकल्प दिने बताए ।

राप्रपाका नेता सगुनसुन्दर लावतीले राजसंस्था, सनातन हिन्दुराष्ट्र पुनःस्थापना हुनुपर्छ भन्ने युवाहरुको माग बमोजिम देश अघि बढ्न आवश्यक रहेको बताए । नेता जनकराज पाठकले परिवर्तनले जनचाहना सम्बोधन नगरेको भन्दै नयाँ विकल्प प्रस्तुत गर्नुपर्ने बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *