पुलिसको लगातार दोस्रो जित, एपीएफले गण्डकीलाई हरायो
काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो । पुलिसले दिएको ३ सय ११ रनको लक्ष्यसहित पछ्याएको लुम्बिनीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३६ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि सौरभ खनालले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै देव खनालले ४९ रन बनाउँदा कप्तान कृष्ण कार्कीले अविजित रहदै ४० रन बनाए । जोड्दा सन्दीप रजालीले ४० रन बनाए । पुलिसका राशिद खान र पवन सर्राफले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । पुलिसका लागि सुनिल धमलाले शतकीय पारी खेले । पहिलो शतक बनाउने क्रममा सुनिलले १४५ बलमा ७ चौका र १ छक्काको मद्दतमा १ सय ४ रन बनाए ।
यस्तै दिपेन्द्र सिंह ऐरीले ८५ रनको बनाउँदा विस्फोटक ब्याटिङ गरेका पवन सर्राफले १३ बलमा अविजित रहदै ५० रन बनाए । उनले ६ छक्का र १ चौका प्रहार गरे । यससंगै उनले घरेलु क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । त्यस्तै आरिफ शेखले २९ रन तथा अमित श्रेष्ठले २८ रन बनाए । लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले एक/एक विकेट लिए ।
जितसँगै समूह बी मा रहेको पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । पुलिस दोस्रो स्थानमा रहेको छ । यस्तै तेस्रो स्थानमा रहेको लुम्बिनीले २ खेलमा २ अंक जोडेको छ ।
यसैगरी आजै मुलपानी मैदानमा भएको अर्को खेलमा एपीएफले गण्डकीलाई ६ विकेटले पराजित गरेको छ । गण्डकीले दिएको १०७ रनको लक्ष्य आसिफ शेखको ७८ रनको मद्दतमा एपीएफले ४ विकेट गुमाएर पुरा ग¥यो ।
Facebook Comment