म हिंसाको कुरा गर्दिन तर शान्ति प्रक्रिया डिरेल हुन्छ कि भन्ने ठूलो चिन्ता छ : प्रचण्ड

डिसी नेपाल
९ माघ २०७७ १६:२७

काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेको विरुद्धमा तत्कालीन सत्तारुढ दल नेकपाको एक समूह (माधव–प्रचण्ड) समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ।

काठमाडौंका विभिन्नस्थानबाट नाराजुलससहितको प्रदर्शनपछि प्रदर्शनी मार्गमा विरोधसभा गरियो। सभालाई सो समूहका दुबै अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे।

विरोध सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन भएको बुझाउन प्रचण्डले लामो समय खर्च गरे। त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखे।

र उनले शान्ति प्रक्रिया नै डिरेल हुने हो कि भन्ने चिन्ता लागेको बताए। उनले भने, ‘म हिंसाको कुरा गर्दैन। फेरि जंगल जाने कुरा पनि छैन। तर मलाई शान्ति प्रक्रिया डिरेल हुन्छ कि भन्ने ठूलो चिन्ता छ।’ उनले प्रतिनिधिसभा विघटन देशलाई भड्खालोमै हाल्ने कदम भएको भन्दै यस्तो अरजाकताको साक्षी कोही बन्ने छैनन् भन्ने विश्वास रहेको बताए।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो मूल्य चुकाएर प्राप्त भएको भन्दै प्रधानमन्त्री ओलीको कदमले यो व्यवस्था नै संकटमा परेको जिकिर गरे।

र उनले एक कथा सुनाउँदै ओलीको आलोचनासमेत गरे। उनले भने, ‘माधवजी र झलनाथजीले मलाई भन्नु भएको छ। २०६२/०६३ मा गणतन्त्रका लागि आन्दोलन हुँदा पार्टीको बैठकमा उहाँ (ओली)ले नोट अफ डिसेन्ट लेख्नु भयो। उहाँ गणतन्त्र विरोधी हुनुहुँदो रहेछ। कुर्सी नै भाँच्छु हुन्नुहुन्थ्यो, अहिले संविधान नै भत्काउनु भयो। अहिले संविधान आईसीयूमा छ। हामी त्यसलाई कसरी बचाउने भन्ने चिन्तामा छौं। उहाँ ठट्टामजाक गरिरहनु भएको छ।’

प्रचण्डले कालीबहादुर खामको विषयमा पनि बोल्दै ओलीको आलोचना गरे। उनले खामलाई गलत तरिकाबाट मुद्दा लागेको र त्यसलाई सही ढंगबाट हल गर्नुपर्छ भनेर आफूले सँधै सहयोग गरेको बताए। उनले भने, ‘जनयुद्धका कमाण्डरलाई प्रचण्डले सहयोग नगर्ने, ओलीले सहयोग गर्ने हुन्छ? कोही पनि जनयुद्धका कमाण्डरहरु भ्रममा नपर्नु होला।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *