ढिकीच्याँउकी बुहारी

डिसी नेपाल
१० माघ २०७७ ६:५७

‘ए शेरेकी आमा! आजपनि तेरो छोरोले कुटाई खाएर आएछ। हेर, उ रुँदैछ। कमेज पनि च्यातिएको छ’ लठेप्रो बंशीले छोरो देखाउँदै मुरलीलाई भन्यो।

‘जति भनेपनि मान्दैन। साथीसँग कुस्ती खेल्न गैहाल्छ। चुप लागेर सहिदिए त हुन्थ्यो नि, पटक्कै सहँदैन। बाबुआमा यस्तै छन् भनेपछि सहनु पर्छ नि’, मुरलीले बंशीलाई सुनाई।

मुरली पनि सानोमा के कम थिइ र! जिस्क्याउने साथीलाई खोच्याउँदै भुत्ल्याउँन दौडिहाल्थी। तर भेट्टाउन सके पो भुत्ल्याउनु। भेट्टएकालाई चाहिँ रुवाएरै छाड्थी। जन्मदै मुरलीको दाहिने खुट्टा अलि छोटो रैछ। ठूली हुँदै गएपछि साथीहरुले जिस्क्याएको बुझ्ने भैहाली।

कोही लौ लंगडी आई भनेर जिस्क्याउँथे त कोही खोरण्डी आई भन्थे। पछिपछि त मुरली ढिकी कुट्दै आई पनि भन्न थाले। झन् पछि त ढिकीच्याँउ आई ढिकीच्याँउ आई भनेर जिस्क्याउन थाले। अब त उ सबैकी ढिकीच्याँउनै भई।

‘ए शेरेकी आमा! शेरेलाई कुटने साथीलाई म पनि गएर बजाइदिउँ कि के? यो एक जनालाई कति जनाले कुटने?’ रिसले मुर्मुरिएको लठेप्रो बंशी बम्क्यो।

‘ए शेरेका बा! तिमी पनि कुन चाहिँ गतिला थियौ रे सानामा? कसैले तिमीलाई गोज्याँग्रो, लठेप्रो वा ग्वाँचे भन्यो भने कुट्न पुगिहाल्थ्यौ रे। सम्झन आफ्नो बालककाल पनि’, मुरलीले बंशीको बालककालको सुनेको कुरा सम्झाई।

बंशीले पनि सम्झियाे हो त नि। उसका साथीहरु उसलाई कोही गोज्यांग्रो भन्ने, कोही लठेप्रो त कोही ग्वाँचे। रीस उठेर कुट्न गयो भने बढ्ता कुटाई आफैं खाने।

शेरबहादुरलाई रीस उठ्नु पनि स्वाभाविकै थियो। कोही ढिकीच्याँउको छोरो भनेर जिस्क्याउने त कोही ग्वाँचेको छोरो भनेर। सहोस् पनि कति। कोही पनि उसको नाम लिएर बोलाउँदै नबोलाउने। अनि त पुग्थ्यो कुस्ती खेल्न। बंशीको गोज्याँग्रो हिडाई, लठेप्रो बोली र मुरलीको खोच्याएर हिड्ने शारीरिक विकृतिको मारमा बिचरो शेरबहादुर नराम्रोसँग परेको थियो।

कमानसिंहलाई आप्mनो लठेप्रो छोरो बंशीको बिहे हुँदैन कि भन्ने पीर थियो। पल्लो गाउँको गुमानसिंहकी छोरी मुरलीको कुरा आयो। कमानसिंहले नाईनास्ती गर्ने कुरै भएन। साइत जुराएर लंगडी मुरली र लठेप्रो बंशीको बिहे गरिदिए। रहदाबस्ता शेरबहादुर पनि जन्मिगो।

मुरलीले नौ कक्षासम्म गाउँकै स्कूलमा पढन पाई, त्यसपछि बिहे भैहाल्यो। बंशीले त के पढोस्? बोल्नै राम्रोसँग नजान्नेले के पढला भनेपनि कमानसिंहले बंशीलाई जसोतसो साँउअक्षरसम्म फोर्ने बनायो। तर मुरली र बंशी दुवै जोईपोईलाई छोरो शेरबहादुरले चाहिँ धेरै पढोस् भन्ने नै थियो।

मुरली र बंशीको ढिकीच्याँउ र ग्वाँचे शब्द अब छोराछोरीको पुस्तामा सरेको थियो। मुरलीका साथीसंगी पनि बिहेपछि कुनै कुन खोला पारी त कुनै कुन डाँडा पारि पुगिसकेका थिए। आक्कलझुक्कल भेट भएपनि मुरली नै भनेर सुखदुखका कुरा साटासाट गर्थे।

बंशीका साथी पनि कोही सेनामा त कोही पुलिसमा जागिरे भैसकेका थिए। बचेखुचेका गाउँमै भएपनि अब उसलाई कसैले ग्वाँचे भन्दैनथे।
शेरबहादुरले गाउँबाटै प्रवेशिका परीक्षा पास गर्यो। गाउँमा कलेज नभएपछि मुरली र बंशीले छोरालाई काठमाण्डूमा पढाउने निधो गरे। सेनामा जागिरे सुबिदार जीतबहादुर भुजेलसँग सल्लाह गरे। सुबिदारका परिवार काठमाण्डुमै डेरा गरी बस्थे।

‘ल ल म शेरबहादुरलाई काठमाण्डूमै लगेर मेरो डेरा नजिकै कोठा खोज्दिन्छु। मकहाँ ठाउँ पुग्ने भए मै राख्थें। भनसुन गरी शंकरदेव क्याम्पसमै भर्ना गरिदिउँला’, सुबिदारले मुरली र बंशीलाई ढुक्क पार्दै भने।

‘ढुंगा खोज्दा देउतै फेला पारिहाल्यौं नि’, मुरलीले सुबिदारलाई भनी। भने बमोजिम सुबिदारले शेरबहादुरलाई शंकरदेव क्याम्पसमा भर्ना गरिदिए। कोठा पनि उनकै डेरा नजिक फेला पर्यो। शेरबहादुरको अभिभावक चाहिँ सुबिदारर्नी भइन्। सुबिदारलाई कहिले कता जानुपर्ने कहिले कता, पल्टनको जागिर न भयो।

शेरबहादुरले ब्याचलरसम्म राम्रै अंक ल्याएर पास गर्यो। खर्च र खानपीनको कुनै दुःख भएन, सबै आमाबाले नै पुर्याएका थिए। शेरबहादुरको काम पढ्नु थियो, पढ्यो, आमा बाको नाक ठाडै राख्यो।

२४ वर्षको भैहालेंं, आमा बालाई कति दुःख दिइरहनु भनी शेरबहादुर जागिर खोज्न थाल्यो। कसोकसो एउटा डिस्को डान्सबारमा काम पनि पाइहाल्यो। रातको दुई बजेसम्मको ड्यूटी। डान्सबारमा काम गर्दै जादा एउटी डान्सगर्लसँग उसको घनिष्टता पनि बढदै गयो। एक्लो शेरबहादुर, उसको कोठामा डान्सगर्ललाई पनि आउन सजिलै भयो।

एक दिन शेरबहादुरले नै भनिहाल्यो ‘कुन्जा! अब हामी बिहे गरौँ। कति दिन यसरी लुकीलुकी भेट्ने।’ ‘तिम्रा आमाबाले मलाई नभित्र्याउने हुन कि?’, कुन्जाले सोधी।

‘नभित्र्याए के भो त? तिमी पनि कमाइ हाल्छ्यौ, म पनि कमाइ हाल्छु। अलग्गै काठमाण्डूमै बसौंला’, शेरबहादुरले कुन्जालाई ढुक्क पार्दै भन्यो।
‘मलाई त केही फरक पर्दैन। आमा बा नभएकी, सानैमा टुहुरी भएकी, मावलीमा मामा माइजूले दिएको दुखसास्तीमा हुर्केकी र जसोतसो एसएलसीसम्म पास गरेकी। तिमी पो आमा बाको एक्लो छोरो। आमा बालाई खबर त गर्नु पर्छ नि। म पो कुचोले बढार्नु पर्ने कसिंगर हावाले नै उडाएकी भएकी छु त’, कुन्जाले दुःख सुनाउँदै भनी।

‘हुन्छ कुन्जा, म भोलि नै गाउँ जान्छु र हाम्रो बिहेको कुरा आमा बालाई भन्छु। आजै बिदा पनि मिलाउछु’, शेरबहादुरले भन्यो।
गाउँबाट शेरबहादुर आमा बासँगै फर्कियो। मुरली र बंशीले पनि पढेकै केटी रैछ, काम पनि एकै ठाउँमा गर्दा रैछन् ठीकै छ नि भनी चित्त बुझाएर आफ्नो मन्जुरी दिए।

काठमाण्डूमै टामटुम पारी मुरली र बंशीले गुह्येश्वरी मन्दिरमा छोरोको बिहे गरिदिए र दुई दिनपछि नयाँ दुलहीलाई घर पनि देखाउनु पर्छ भनी गाउँ लिएर गए। नयाँ दुलही हेर्न गाउँमा मानिसहरु जम्मा हुने भैगए। आफैंले किन मुख फोर्नु, दुुलहीले आफैं बुझोस् र घरको काममा आफूलाई सघाओस भन्ने मुरलीले सोचेकी थिई।

तर कुन्जा भने शहरमा सुकिलीमुकिली भै नाँच्तै हिड्ने भएकीले गाईबस्तुको भकारो सोहोर्नु, घरदैलो पोत्नु, आँगनमा कुचो लाउनु, पधेरामा पानी लिन जानु र घाँस दाउरा गर्नु आफ्नाे बसको काम नभएको देख्न थाली। काम भनेको घरभित्र जे छ त्यै पकाउने र खाने। बाहिरको काम त भोकले गाईबस्तु कराए पनि घाँस परालसमेत नहाल्दिने। मुरलीले पनि केही दिनपछि शहर फर्किहाल्छे भनी कुनै काम लाइन्।

दुई चार दिनपछि गाउँमा घुम्दै जाँदा कुन्जाले आफूलाई ढिकीच्याँउकी बुहारी पो रैछु भन्ने थहा पाई। कसैले त ग्वाँचेकी बुहारी पनि भन्दा रैछन्। शेरबहादुरकी स्वास्नी, मुरली वा बंशीकी बुहारी त कसैले नभन्ने। यस्तो गाउँमा धेरै दिन के बस्नु भनी कुन्जाले शेरबहादुरलाई कर गरी छिटैनै काठमाण्डू फर्की।

केही महिनापछि शेरबहादुरले थाहा पायो कि उ त कुन्जाको दोस्रो लोग्ने पो रहेछ। तैपनि उसको र कुन्जाको सम्बन्ध एक वर्षसम्म राम्रै रह्यो। त्यसपछि कुन्जाले शेरबहादुरलाई बिस्तारै बिस्तारै उपेक्षा गर्न थाली। डान्सपार्टनरसँग अन्यत्रै रात पनि बिताउन थाली।

शेरबहादुरले सम्झाउन खोज्दा ‘मेरो निजी मामलामा हस्तक्षेप नगर नत्र तिम्रो र मेरो बाटोनै फरक पर्नेछ’, भन्दै धम्क्याउन थाली। बिहे त लोग्ने छ भनेर देखाउनमात्र गरेकी पो रैछ। अब त्योपनि कति दिनको हो शेरबहादुरलाई शंका लाग्न थाल्यो।

एक दिन तीनजना केटा शेरबहादुरको कोठामा आएर ‘तिम्री श्रीमती दुर्घटनामा परेकी छन्। हामीले अस्पताल चाहिँ पुर्याइदियौं। अब तिमी तुरुन्त अस्पताल जानु र औषधिउपचार गर्नु, अवस्था गम्भीर छ। नत्र अबेर होला’, भने।

शेरबहादुरले पनि ‘कसरी परी त कुन्जा दुर्घटनामा?’, भनी सोध्यो। ‘दयारामले तिम्री श्रीमतीलाई मोटरसाइकलमा राखेर तिम्रो कोठामा ल्याउँदै थियो, अनियन्त्रित हँुदै आएको एउटा जीपले अगाडिबाटै दाहिनेपट्टि ठक्कर दिइहाल्यो।

दयारामको अबस्था चिन्ताजनक छ उसकी आमा र श्रीमतीले अस्पतालमा औषधिउपचार गराउँदैछन्, तिमी पनि झट्टै गैहाल। ढिलो भयो भने तिमीलाई नै गाल पर्ला’, भनी केटाहरुले धम्क्याउँदै भने।

कुन्जालाई केही भैहाल्यो भने आपैंmलाई गाल आउने सम्झी शेरबहादुर अस्पतालतिर हानियो। अस्पतालमा कुन्जालाई छटपटाउँदै रोइरहेको देख्यो। कुन्जाले पनि यै हो मेरो श्रीमान शेरबहादुर भनेर डाक्टरलाई देखाई।

‘ल शेरबहादुरजी! तपाईकी श्रीमतीको दाहिने गोडाको पाँच औंलामात्र होइन गोडाको आधा भाग कामै नलाग्ने गरी किचिएको छ, काटेरै फ्याक्नुपर्छ। ल यो यो औषधि तुुरुन्त ल्याइहाल्नोस्’, भन्दै डाक्टरले हातमा पुर्जा थमाइदिए।

बुन्जाको दाहिने गोडाको आधा भाग काटेर प्mयाक्नै पर्यो। अब उ पनि खोच्याएर हिडने भई। स्वतन्त्र जीवन बिताउन चाहने कुन्जाले बुझिहाली अब उ कसैको सहारा बिना रहन सक्दिन रशेरबहादुर नै अब उसको सबै थोक हो।

खबर पाएपछि शेरबहादुरकी आमा र बा दुबै आए। बुहारीको त्यो अबस्था देखेपछि अब कसरी यसले नाँच्ली र कमाउली भनी भक्कानिएर रोए। कुन्जालाई निको भएपछि मुरलीले गाउँमै लिएर गई र भनी ‘बुहारी तिमीले सक्ने काममात्र गर्नु।’ तर कुन्जाले पनि आँखाबाट आँसु झार्दै भनी ‘आमा! तपाईं र ममा अब के चाहिँ फरक छ र? तपाइँले गाईबस्तुको भकारो सोहोर्न सक्ता म किन सक्तिन? म पनि सक्छु। म पनि घरभित्र र बाहिरको सबै काम गर्छु।’

गाउँ त भयो। लौ ढिकीच्याँउकी बुहारी पनि ढिकीच्याँउ नै भइछ भनेर हल्ला भैगयो। सासुबुहारीले सुनेर पनि नसुनेझैं गर्नु बाहेक अर्को उपाय थिएन।

‘आमा! तपाईकै बुहारी त हुँ नि। म पनि ढिकीच्याँउनै भएँ त के भो। गाउँलेले जस्तो देखे त्यस्तै भने। मन बुझाउनै पर्यो। बरु आमा! तपाईंको छोरालाई पनि घरै बोलाउनोस्। गाउँमै धेरै काम छ रे। तपार्इँको छोरो भए मलाई पनि पीर पर्दैन।

त्यो डिस्को नाँचमा नाना थरिका केटी नाँच्छन्। १० थोक मनमा लिएर नाँच्छन्। ठाउँनै त्यस्तो भएकाले नानाथरिको हाउभाउ देखाएर नाँच्नै पर्छ। तपाईंको छोराले पनि यो त लंगडी भैहाली, अब के काम भनेर त्यस्तै नाँच्ने केटीको फन्दामा परेर मलाई बिर्सने हो कि?’, कुन्जाले रुदै सासूलाई भनी।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *