सर्वोच्चको फैसला नेपालको संविधान र शासकीय प्रणाली अनुरुप आउँछः एकनाथ ढकाल

डिसी नेपाल
१० माघ २०७७ १७:१३

काठमाडौं। नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको रिटमा सर्वाेच्च अदालतले गर्ने निर्णयले नेपालको संविधानको परिधि र शासकीय व्यवस्थालाई प्रष्ट पार्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल परिवार दल सुदुरपश्चिम प्रदेशले काठमाडौंमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै ढकालले प्रतिनिधिसभा विघटनको विषयमा देशका राजनैतिक दलहरु तथा नागरिकहरुबीच तिव्र ध्रुविकरण भएकोप्रति चिन्ता व्यक्त गर्दै अदालतमा विचाराधीन मुद्धालाई सडकबाट प्रभावित बनाउन नहुने भन्दै सबै दल तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

अध्यक्ष ढकालले संचारमाध्यमले नकारात्मक समाचारलाई मात्र हेडलाइन बनाउन नहुने भन्दै सकारात्मक चिन्तनले मात्रै समस्याको सहि परिणाम हासिल हुने जिकिर गरे । ढकालले पुराना राजनैतिक दलहरुले जनतालाई पटक पटक धोका दिएकाले अब वैकल्पिक शक्ति निर्माण गर्नु पर्ने बताउँदै परिवार दल सोहि कार्यमा अघि बढ्ने स्पष्ट पारे । आफ्नो निहित स्वार्थको लागि झुटो आश्वासन दिने, देशलाई मुठभेड तर्फ धकेल्ने तथा आफ्नै सहयोद्धालाई बदनाम गर्दै हिड्नेहरुबाट नागरिकले थप के आशा गर्ने भन्दै अब नयाँ विचार, नयाँ नेतृत्व तथा नयाँ सुसंस्कार युक्त राजनैतिक शक्ति नेपालको आवश्यकता भएको जिकिर गरे।

अध्यक्ष ढकालले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुनसक्ने भन्दै निर्वाचनका लागि तयार रहन आफ्ना कार्यकर्तालाई आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *