एनआरएनएको विशेष महाधिवेशन जारी

डिसी नेपाल
१० माघ २०७७ २२:२२

काठमाडौं। गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबार शुुरु भएको छ। भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ।

एनआरएनएको विशेष साधारणसभाको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको भन्दै गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए।

नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीहरुलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको बताए।

प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै, उनले भने, संकटको यस अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ। ज्ञवालीले संकटको बीचमा पनि विदेशमा रहेका नेपाली विज्ञहरुलाई नेपालमा जोड्ने प्रयत्न गरेको प्रति खुशी व्यक्त गरे।

उनले एनआरएनए नेपालको विकासको लागि सहयात्री भएको उल्लेख गरे। मन्त्री ज्ञवालीले एनआरएनए विशुद्ध सामाजिक संस्था भएकाले राजनीतिक दृष्टिकोणलाई बाहिर राखेर सहकार्य गरी अघि बढ्नु पर्नेमा जोड दिएका छन्।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए। उनले विपत र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व प्रशंसायोग्य भएको बताए। साथै, राजनीतिक लडाँईमा नभई विकासको बाटोमा अग्रसर हुनुपर्नेमा उनले जोड दिए।

विशेष अधिवेशनलाई सम्बोधन गर्दै संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिए। उनले संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए। उनले संघका राष्ट्रिय समितिहरुलाई दरिलो बनाउनु पर्नेमा जोड दिए।

अर्का पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनीभूत छलफल गर्न सुझाव दिए।

विशेष अधिवेशनमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशिल संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको बताए। उनले अधिवेशनमा संरक्षक परिषद्को सुझाव अनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन लागेकोमा कार्यसमितिप्रति विशेष धन्यवाद व्यक्त गरे।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भवन भट्टले ‘सबै हात एकै साथ’ अभियान अनुसार सबैलाई संस्थाको एकताको लागि आव्हान गरे। उनले सबै पक्षलाई समेटेर संस्थालाई अघि बढाउन आग्रह गरे। भट्टले मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएको बताउँदै नेपालमा लगानीको लागि जोड दिए।

कार्यक्रममा शुभकानमा मन्तव्य दिदैं संघका संरक्षक रामप्रताप थापाले संसारभर छरिएका नेपाली र नेपालमा रहेका नेपालीहरुलाई जोड्ने काम संघले गर्दै आएको स्मरण गराए। उनले संस्थाभित्र मेरो र तेरो भन्ने भावनाले होइन सामूहिक रुपमा हाम्रो भन्ने भावनाले अघि बढ्नु पर्नेमा जोड दिए।

महाधिवेशनमा संघका सल्लाहकारहरु कुल आचार्य, टिबी कार्की, उपाध्यक्षहरु डा.बद्री केसी, अर्जुन श्रेष्ठ, सोनाम लामा लगायतले शुभकामना मन्तव्य दिए।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन संघका महासचिव डा.हेम राज शर्मा र स्वागत मन्तव्य उपाध्यक्ष रविना थापाले राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *