नेकपा विभाजनको बाछिटा कांग्रेस र जसपामा पनि !

डिसी नेपाल
११ माघ २०७७ ८:२१

काठमाडौं। पार्टीभित्रको आन्तरिक किचलोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई समूहका विभाजित बनेको छ।

एउटा समूहको नेतृत्व केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–माधव नेपालले गरेका छन्। दुवैले आफूलाई आधिकारिक दाबी गरेका छन्, आधिकारिकताको विषयमा निर्वाचन आयोगले निर्णय गर्न बाँकी नै छ।

प्रतिनिधिसभा विघटनसँगै मुलुकको राजनीति दुई ध्रुवमा विभाजित बनेको छ। अधिकांश दलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका छन्। तर ती मध्ये केही दल निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा निर्वाचनबाट भाग्न नहुने पक्षमा छन् भने कही दल प्रतिनिसभा पुनःस्थापना गर्नुपर्ने पक्षमा छन्।

प्रधानमन्त्रीको कदमको विरोध गरेको नेपाली कांग्रेसभित्र निर्वाचन कि आन्दोलन भन्ने विषयमा मतभेद चर्किँदै गएको छ। यद्यपी प्रधानमन्त्रीको कदमको विरुद्ध कांग्रेसले दुई चरणको आन्दोलन सम्पन्न गरिसकेको छ।

तर कांग्रेसभित्र अझै पनि आन्दोलन गर्ने कि चुनावमा जाने भन्ने विषयमा मतभेद छ। प्रतिनिधिसभा विघटन विरद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई जारी छ। तर राजनीतिक दलका नेताहरुले आफ्नो पक्षमा सडक आन्दोलन सुरु गरेका छन्।

कांग्रेसभित्र विशेष गरी सभापति शेरबहादुर देउवा निर्वाचनमा जानुपर्ने पक्षमा छन्। अदालतले जे निर्णय गर्छ त्यसलाई स्वीकार गर्नुपर्ने भन्दै अहिले नै सडक आन्दोलनमा जान नहुने पक्षमा देउवाको लाइन छ।

यद्यपी, प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पुस पाँच गते बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै आन्दोलनमा जाने निर्णय गरेको थियो। सोही निर्णयका कारण सभापति देउवा अप्ठेरोमा परेका छन् र दुई चरणको आन्दोलन पनि सम्पन्न भइसकेको छ।

उता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने प्रतिनिधिसभा पुनःस्थापनालाई जोड दिँदै आएका छन्। पौडेल पक्षधरले मुलुकलाई अस्थिरतामा लैजाने गरी आएको ओलीको कदमलाई समर्थन गर्न नसकिने भन्दै पुनःस्थापनाको पक्षमा आफूलाई उभ्याएका छन्। पछिल्लो समय पौडेल प्रधानमन्त्री ओली विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन्।

उता जनता समाजवादी पार्टी (जसपा) भित्र पनि चुनाव कि पुन : स्थापना भन्ने विषयमा मतभेद छ। पूर्व राजपा पक्षधर नेताहरु चुनावमा जानुपर्ने पक्षमा छन् भने पूर्व समाजवादी पार्टीका नेताहरु भने पुनःस्थापनाको माग गर्दै सडक आन्दोलनमा जानुपर्ने पक्षमा छन्। अझ बाबुराम भट्टराई त प्रचण्ड–माधव नेपाल समूहसँग कार्यगत एकता गरेर सडक आन्दोलनमा जानुपर्ने पक्षमा देखिएका छन्।

अझ केही दिन अगाडि प्रचण्ड र भट्टराई बीच उपराष्ट्रपतिलाई साक्षी राखेर भेटवार्ता भएको र सहकार्यको विषयमा छलफल पनि भएको थियो।
तर जसपाभित्रै नेताहरु महन्थ ठाकुर, राजेन्द्रमहतोसहित पूर्व राजपाका नेताहरु भने निर्वाचनमा जानुपर्ने पक्षमा छन्। नेता महतोले सार्वजनिक कार्यक्रममा निर्वाचनबाट भाग्न नहुने अभिव्यक्ति दिँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *