कोरोनाविरुद्धको लडाईँः १४ गतेबाट खोप अभियान

काठमाडौं। कोरोना महामारीविरुद्धको लडाईँमा नेपालमा पनि खोप अभियान शुरु हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आगामी बुधबार देश व्यापी खोप अभियान शुरु हुने जानकारी दिएका छन्।
आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमार्फत मन्त्री त्रिपाठीले खोप अभियानबारे जानकारी दिएका हुन्। उनका अनुसार आगामी बुधबार देशका विभिन्न ६ वटा अस्पताल र १२० खदोप केन्द्रबाट खोप अभियान शुरु हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको भर्चुअल रुपमा उद्घाटन गर्ने भएका छन्। त्यस्तै माघ १८ गतेसम्म देशका ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रबाट खोप दिइने छ। खोप अभियानको पहिलो चरण १० दिनसम्म जारी रहने छ।
मन्त्री त्रिपाठीका अनुसार पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ। यसरी पहिलो चरणमा खोप लगाउनेको संख्या ४ लाख ३० रहेको छ।
अक्सफोर्ड–एक्ट्राजेनेका र भारतीय कम्पनी सिरम इन्स्टिच्युटले विकास गरेको कोभिशिल्ड नामक खोप लगाउन लागिएको हो। यो खोपको १० लाख डोज भारतले निःशुल्क उपहार दिएको थियो। नेपाल सरकार थप आवश्यक खोपका लागि दाता खोजिरहेको छ।
कोभिशिल्ड खोप अहिले भारतमा पनि लगाइएको छ। भारतमा यो खोप लगाएपछि करिब ५ सय जनालाई साइड इफेक्ट देखिएको छ। केही मानिसहरुको मृत्युसमेत भएको छ। तर, भारतीय अधिकारीहरुले खोपका कारण मृत्यु नभएको बताइरहेका छन्।
स्वास्थ्य मन्त्री त्रिपाठीले खोपबारेको भ्रममा नपरी अभियानमा सहभागी हुन अपीलसमेत गरेका छन्। नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ।
Facebook Comment