‘अनुचित’ माग राखेर म्यान पावर व्यवसायी आन्दोलित

काठमाडौं। अनुचित माग राख्दै म्यान पावर व्यवसायी वैदेशिक रोजगारविरुद्ध आन्दोलनति भएका छन्।
वैदेशिक रोजगार विभागले गत पुस २२ गते वैदेशिक रोजगारीलाई मर्यादित एवं व्यवस्थित बनाउन सरोकारवाला व्यक्ति तथा व्यवसायीलाई आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको थियो। विभागको सोही सूचनालाई लिएर आफूहरुलाई अन्याय भएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आइतबार आन्दोलन गरेको छ।
विभागले सूचनामार्फत सरोकारवाला व्यक्ति तथा व्यवसायीलाई वैदेशिक रोजगारीमा छनौट भएपछि मात्र श्रमिकको सक्कल राहदानीलगायत आवश्यक कागजात लिन, कामदारसँग आर्थिक लेनदेन बैंकमार्फत गर्नलगायतका वैधानिक रुपले कार्य अनुरोध गरेको थियो।
तर व्यवसायीलाई यही कुरा मन परेन। राहदानी संकलन गरेर वैदेशिक रोजगारीमा जाने युवाहरुलाई ठग्दै आएका व्यवसायीहरु ठग्न नपाउने भएपछि अनुचित माग राखी आन्दोलनमा उत्रेका हुन्।
व्यवसायीहरुको आन्दोलनबारे वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल भन्छन्, ‘विभागले वैदेशिक रोजगारीलाई मर्यादित एवं व्यवस्थित बनाउन सरोकारवाला सम्पूर्ण व्यक्ति तथा संस्थाहरुका लागि सार्वजनिक सूचाना निकालेको विरुद्धमा उनीहरुले आन्दोलन गरेका हुन्। राहदानी राख्न पाइदैन, बैंकमार्फत कारोबार गर्न पाइदैन भनेर आन्दोलन गरेका हुन्।’

कामदारको हितका लागि कुनै कसर नछोड्ने भन्दै उनले भने, ‘कामदारहरुको हितमा कहाँकहाँ असर पर्छ विभागले त्यहाँनेर ध्यान दिनुपर्छ। व्यक्तिगत वा संस्थागत हितका लागि आउँछन् र कामदारहरुलाई वास्ता गर्दैनन् भने यो उहाँहरुले गर्नु हुँदैन।’
‘विदेश जानका लागि बजारमा कति मान्छेहरु ठगिएका छन्, तिनीहरुको हितमा उहाँहरु अहिलेसम्म बोल्नु भएको छ? यहाँ दिनको पाँच÷छवटा उजुरीहरु आउँछन् जसमा म्यानपावरहरु संलग्न छन्,’ उनले थपे।
कामदारहरुको हितमा काम गर्न छोडेर व्यवसायीहरुको बद्मासीहरुलाई छिपाउनका लागि आन्दोलन गरिएको महानिर्देशक दाहालले बताए। उनले डिसी नेपालसँग भने, ‘आन्दोलन गर्न, घेराउ गर्न सकिन्छ तर वास्तविक मुद्दा के हो? यो आन्दोलनको मौसम हो भनेर आन्दोलन गर्न खोजेको कि मलाई राख्न मन नभएर, चित्त बुझाउन नसकेर दोषी देखाएर निकाल्न खोजेको हो? तर म कुनै पनि हालतमा कामदारको हितभन्दा बाहिर गएर काम गर्नेवाला छैन्।’
‘विश्वले नेपालको निजी क्षेत्रलाई घृणा गरिराखेको छ, त्यसैले आफ्नो इज्जत माथि उठाउनुस्, तपाईंहरुकै बीचमा के के समस्याहरु छन्, आफू भित्रै लडाई गरेर व्यवसायीहरुबीचको समस्याहरु समाधान गर्नुस्।’
उनले अगाडि थपे, ‘यतिखेर आन्दोलन गर्ने हो कि सहजीकरण गर्ने हो। सहजीकरण गरेर कामदारले दुःख पाएको छ कि छैन, व्यवसायीले भिजिट भिसामा पठाएका २०औं हजार मान्छे दुबईमा गएर दुःख पाएका छन, तलब पाएका छन्। त्यसको विषयमा उहाँहरुको आवाज खोई? आफ्नै संस्थागत हितका लागि विभागले गरेको कडाइप्रति ठग्न पाइन भनेर यहाँ आन्दोलन गर्न आउने?’
व्यवासायीलाई आफ्नो नैतिकतामा, व्यवसायिक नीति नियममा उदाहरणीय भएर निस्कन आग्रह गर्दै महानिर्देशक दहालले आफू कानूनभन्दा बाहिर बसेर कुनै पनि हालतमा काम नगर्ने बताए। उनले भने, ‘प्रष्ट रुपमा भन्छु म कसैको एक रुपैयाँ खाँदिन पनि र काम गर्दाखेरी प्रष्ट रुपमा गर्छु। तर त्यसरी बाच्न गाह्रो रहेछ क्या यहाँ। उनीहरुसँग मिलिदिनु पर्यो, उनीहरुले भनेको मानिदिनु पर्यो, अनुगमन गर्न जाँदा उनीहरुलाई अगाडि नै खबर गरिदिनु पर्यो।’
राहदानी संकलन गर्न नपाउने भएपछि विरोधमा उत्रेका व्यवसायीको चित्त नबुझेको अर्को विषय धरौटीको रकम हो। विभागले वैदेशिक रोजगारीमा ठगिनेहरुलाई जुन म्यान पावर कम्पनीबाट विदेश गएको हो, उसकै धरौटीबाट रकम असुल गराउँदै आएको छ। यसरी धरौटीबाट ठगिएकाहरुको रकम असुल गराइदिएपछि व्यवसायी विरोधमा उत्रेका छन्।
महानिर्देशक दाहालले भने, ‘धरौटी काट्दा नाङ्गो कामदारको अगाडि व्यवसायीलाई उभ्याउँदा उहाँहरुलाई निको नलागेर संघले आफूविरुद्ध व्यक्तिगत असन्तुष्टिका लागि आन्दोलन गरेको हो।’
आफूप्रति व्यक्तिगत असन्तुष्टिको आन्दोलन भएको उनको भनाइ छ। उनले भने, ‘म ठाडो बोल्छु। घुस खान्न, कामदारको हितमा कुरा गर्छु, कुनै कामदारविरुद्ध नै जान्न। अनि उहाँहरुको हितमा त हुँदैन यो काम? एउटा मान्छेबाट दुई÷तीन लाख असुल गर्न पाउनु हुन्न उहाँहरुले, स्ट्रिङ अप्रेशन गरिदिन्छु, शनिबार आइतबार, विदाको दिन, राति १२ बजे पनि गरिदिन्छ। अनि उहाँहरुलाई अप्ठ्यारो पर्यो नि त?’
बद्मास गर्नेलाई अगाडि ल्याएर उभ्याउन पनि पछि नहट्ने र कामदारको उजुरीको आधारमा सम्बन्धित व्यवसायीलाई कुनै हालतमा नछोड्ने भन्दै गर्दै दाहालले ठगिएका श्रमिकको हक हितका लागि दुई सय ७० वटा म्यानपावर कम्पनीहरुलाई कारवाही गरेको प्रमाण विभाग रहेको जानकारी गराए।
विभागमा वैदेशिक रोजगारी व्यवसायी संघले आइतबार नै विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएको छ। संघले म्यान पावर कम्पनीको शाखा कार्यालय खोल्न पाउनुपर्ने, ठगीबारे मेलमिलाप समिति गठन गर्नुपर्ने, इजाजत नवीकरण गर्नुपर्ने, अनुगमनमा जाँदा सञ्चार माध्यमलाई सहभागी गराउनु नहुने, कोरोनाका कारण रोजगारी गुमाएकाहरुका बारेमा मेलमिलाप समिति गठन गरि समस्या समाधान गर्नुपर्ने लगायतका माग राखेका छन्। मेलमिलाप समितिमा संघको प्रतिनिधि हुनुपर्ने संघको माग छ।
Facebook Comment