प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको छः सभामुख सापकोटा

डिसी नेपाल
१२ माघ २०७७ २२:०३

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको बताएका छन् ।

अन्तरपार्टी महिला सञ्जालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सरकारको काममा प्रतिनिधिसभाले सधैँ सहयोग गरेको र कुनै पनि अवरोध नभएको स्पष्ट पारे । सभामुख सापकोटाले भने, “सरकारको नीति तथा कार्य होस् वा बजेट पास गर्ने विषयमा प्रतिनिधिसभाले सहयोग गरेको छ । कार्यपालिकालाई पूर्ण रुपमा सहयोग नै गरिएको छ । कुनै पनि असहयोग भएको छैन ।”

पछिल्लो पटक प्रतिनिधिसभा विघटनका सम्बन्धमा पनि आफ्नो तर्फबाट विज्ञप्तिमार्फत पनि अवस्थाको बारेमा जानकारी गराएको र सर्वोच्च अदालतमा स्पष्ट रुपमा आफ्नो धारणा पठाएको उनको भनाइ छ । सभामुखको हैसियतले के गर्न सकिन्छ भन्ने बारेमा आफूले गम्भीरतापूर्वक चिन्तन मनन गरिरहेको जानकारी दिए । उनले प्रतिनिधिसभाको सञ्चालनमा अवरोध आएको उल्लेख गर्दै राजनीतिक दल, नागरिक समाज तथा सरोकार भएका व्यक्ति वा निकायले प्रकट गरेको विश्वासलाई आफूले सम्मान गर्ने बताए ।

अन्तरपार्टी महिला सञ्जालले नेपालको संविधानमा प्रतिनिधिसभा विघटनसम्बन्धी कुनै पनि प्रावधान नभएको भन्दै संवैधानिक र कानूनी आधार बिना गरिएको विघटन आफूहरुलाई मान्य नभएको उल्लेख गरेको छ । नेपालको संसदीय प्रणाली मौलिक विशेषता सहितको भएको स्पष्ट पार्दै सञ्जालले प्रतिनिधिसभा विघटनलाई अस्वीकार गर्न सभामुखलाई आग्रह गरेको छ ।

सञ्जालका अध्यक्ष सावित्रा भुसाललको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *