काँग्रेसको रणनीति : शेरधनलाई जोगाउँदै बागमतीमा नेतृत्व लिने

डिसी नेपाल
१३ माघ २०७७ १४:३०

काठमाडौं। सत्तारुढ दल नेकपामा देखिएको विभाजनको फाइदा उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश सरकारमा आफ्नो नेतृत्वको प्रयास थालेको छ।

अहिले दुई वटा प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास पेश भएको छ।

दुईवटा मुख्यमन्त्री विरुद्ध पेश भएका अविश्वास प्रस्ताव र नेकपामा आएका विभाजनको फाइदा उठाउँदै काँग्रेसले बागमती प्रदेशमा मुख्यमन्त्री लिने गरी रणनीति बनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आन्दोलनमा होमिएको कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच दुई एक नम्बर र बाग्मती प्रदेश सत्ता साझेदारी गर्ने सहमति भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार केही दिन अगाडि प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलमा उनीहरुबीच एक नम्बर प्रदेश सरकार विरुद्ध पेश भएको अविश्वासको प्रस्तावको विपक्षमा उभिने र बाग्मती प्रदेशमा भने कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो।

एक नम्बर प्रदेशमा सम्भवतः मंगलबार नै यो विषयमा सहमति हुने संभावना रहेको छ। एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली निकट नेता हुन्।

बाग्मती प्रदेशमा प्रचण्ड–माधव नेपाल समूहका अष्टलक्ष्मी शाक्यलाई मुख्य मन्त्री बनाउनु भन्दा कांग्रेसलाई नै सरकारको नेतृत्व दिने विषयमा ओली सहमत भएको स्रोतको दाबी छ।

सभापति देउवा इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने पक्षमा रहे पनि काँग्रेसमा यो विषय सर्वसम्मत भने छैन।  पौडेल पक्ष दुवै प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावलाई सफल पारेर मुख्यमन्त्रीका लागि वार्ता खुला राख्नुपर्ने पक्षमा छ।  यद्यपी केन्द्रीय कमिटीमा देउवाको बहुमत रहेका कारण पार्टीबाट निर्णय गराउन सहज हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *