अनुशासित प्रतिनिधिसभा निर्माण गर्न निर्वाचन जरुरी छ : अर्थमन्त्री पौडेल

डिसी नेपाल
१४ माघ २०७७ १८:३१

रुपन्देही । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले अनुशासित प्रतिनिधिसभा निर्माण गर्न निर्वाचन जरुरी रहेको बताएका छन् । उनले आगामी वर्ष वैशाख १७ र २७ गते निर्वाचन हुने पक्का भइसकेका कारण निर्वाचनबाट असल प्रतिनिधि छनोट गर्ने अधिकार जनतालाई भएको बताए ।

बुटवलको चौराह–चिडियाखोला सडक विस्तार कार्यको आज शुभारम्भ गर्दै मन्त्री पौडेलले जनताको चाहनाविपरीतका कार्यले गर्दा प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय सरकारले गरेको उल्लेख गरे । “प्र्रतिपक्षभन्दा पनि आफ्नै दलको विरोधले गर्दा सरकारलाई समस्या भयो”, मन्त्री पौडेलले भने, “छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि प्रतिनिधिसभा विघटन गरी सरकार जनतासँग जाने निर्णमा पुगेको हो ।”

अर्थमन्त्री पौडेलले मुलुक विकास निर्माणको महाअभियानमा अघि बढेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्न आफ्नो दलका नेताले व्यवधान सिर्जना गरेको बताए । मन्त्री पौडेलले बुटवल नारायणगढ, बुटवल धानखोल सडक स्तरोन्नति, तिनाउ दानव करिडोर सडक आयोजना, झुम्साखोला खानेपानी, अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण, तिनाउ नदी डाइभर्सन, अन्तरराष्ट्रिय विमानस्थल, मेडिकल कलेज निर्माण र सिद्धबाबा सुरुङ मार्ग निर्माण प्रक्रियामा रहेको भन्दै यी योजना सम्पन्न हुँदा रुपन्देही विकासको नमूना जिल्लाका रुपमा स्थापित हुने दाबी गरे ।

मन्त्री पौडेलले बुटवल आधुनिक र व्यवस्थित शहर बन्दै गएको बताउँदै विकासका योजनालाई प्रभावकारी बनाउन स्थानीयको साथ र सहकार्य आवश्यक हुने धारणा राखे । उनले भने, “चौराह–चिडियाखोला सडक सडक निर्माण अघि नबढ्दा बुटवलको सुन्दरता बिग्रिएको थियो । अब बुटवलको अनुहार चहकिलो हुनेछ ।” मन्त्री पौडेलले सडक निर्माणका क्रममा घर हटाएर सडक विस्तार आयोजनामा सघाउनेप्रति आभार व्यक्त गर्दै आयोजना सम्पन्न गर्नका लागि सबैको सहयोग रहने विश्वास व्यक्त गरे ।

डिभिजन सडक कार्यालयका प्रमुख जयलाल मरासिनीले चौराहदेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर हरियाली सडक निर्माणका लागि कञ्चनजङ्गा बिरुवा जेभी कम्पनी काठमाडौँले आगामी २०७९ वैशाख ३१ मा सम्पन्न गर्ने गरी ठेक्कामा लिएको जानकारी गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *