को-को लागे वामदेवको नेकपा एकता राष्ट्रिय अभियानमा ?

डिसी नेपाल
१४ माघ २०७७ १९:४६

काठमाडौं। सत्तारुढ दल नेकपा दुई गुटमा विभाजन हुँदा तेस्रो धारमा रहेका तत्कालिन नेकपाका उपाध्यक्ष वामदेव गौतमले बुधबार राजधानीमा एक कार्यक्रमका बीच नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरे। नेकपालाई विभाजनबाट रोक्न भन्दै उनले घोषणा गरेको अभियान ६५२ सदस्यी रहेको छ।

तर, यो अभियानमा तत्कालिन नेकपाका चर्चित अनुहार भने देखिएनन्। अभियानमा तत्कालिन नेकपाका ६ जना केन्द्रीय सदस्य रहेको दावी गरिए पनि बुधबार मञ्चमा भने ६ जना देखिएनन्। हरि पराजुली, माया ज्ञवाली र तुलसी थापालगायतका ६ जना केन्द्रीय सदस्य अभियानमा लागेको वामदेव निकट स्रोतले जनायो। पराजुली सँधै गौतमसँगै रहेका एक विवादास्पद छवि भएका व्यक्ति हुन्। थापा भने गौतमकी पत्नि हुन्।

यो अभियानमा सहभागी हुने सबैभन्दा चर्चित व्यक्ति दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे हुन्। त्यस्तै कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्का पनि अभियानमा लागेकी छन्। यस्तै धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोजकुमार नेवाङ्बोलगायतका जनप्रतिनिधहरु अभियानमा रहेको स्रोतको दावी छ। गौतमले राष्ट्रिय एकता अभियान घोषणा गर्दा कुनै बेला उनीसँग निकट रहेका बलराम बाँस्कोटाले समेत उनलाई साथ दिएनन्। बाँस्कोटा प्रचण्ड–माधव समूहमा खुलेका छन्।

नेता गौतमले बुधबार अभियानको अवधारणा पत्रसमेत प्रस्तुत गर्दै अभियानले नेकपालाई एकजुट बनाउने दावी गरेका छन्। नेकपा दुई गुटमा विभाजित हुनुअघि गौतमले प्रचण्ड–माधवलाई साथ दिएपछि तत्कालिन नेकपाको ९ सदस्यीय नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री ओली अल्पमतमा परेका थिए।

५ पुसमा सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि प्रचण्ड–माधव समूह सडकमा आन्दोलन गरिरहेको छ भने ओली समूह चुनावको तयारीमा जुटेको छ। तर गौतम भने कतै नलागी तेस्रो धार बनाउँदै एकता अभियानमा लागेका हुन्। त्यसो त गौतमलाई ओली र प्रचण्ड दुबै समूहले आफूतर्फ तान्न निकै प्रयास गरेका थिए। तर उनी कतै गएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *