डायमण्ड परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने
काठमाडौं । नेपाल रत्न तथा आभूषण सङ्घले डायमण्ड परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी नेपालमा जेम्स ल्याब नभएका कारण डायमण्ड परीक्षणका लागि विदेश पठाउनुपर्ने बाध्यता भएको भन्दै उक्त बाध्यताको अन्त्यका लागि आगामी तीन महिनाभित्र प्रयोगशाला सञ्चालनमा ल्याउने जानकारी दिएको हो ।
सम्मेलनमा सङ्घकी अध्यक्ष ज्योत्सना श्रेष्ठले सङ्घको कार्यालयमा रु ३५ लाख लागतमा प्रयोगशाला स्थापना गर्न लागेको जानकारी दिइन् । “गरगहना किन्दा व्यवसायी नठगिउन भन्नका लागि जेम ल्याब स्थापना गर्न लागेका हौँ”, उनले भनिन् । सङ्घको पुस २५ मा काठमाडौँमा सम्पन्न १६औँ वार्षिक साधारणसभा तथा छैटौँ महाधिवेशनबाट निर्वाचित अध्यक्षसमेत रहेकी श्रेष्ठले आफ्नो तीनवर्षे कार्यकालमा व्यवसायका लागि आवश्यक सुन पर्याप्तमात्रामा उपलब्धताका पहल गर्ने बताइन् ।
नेपाली मौलिक गरगहना निर्माणका लागि नेपाली कालिगढलाई सीपमूलक तालिम प्रदान गर्ने, नेपाल जेम एण्ड ज्वेलरी एक्स्पोको चौँथो संस्करण आयोजना गरिनेसमेत अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । व्यवसायीका लागि आवश्यक कर्जा, पुनःकर्जा तथा कर्जा पुनर्तालिकीकरणका लागि राष्ट्र बैंकसँग समन्वय गर्ने, रत्न तथा आभूषण सङ्घलाई प्रदेशस्तरमा विस्तार गर्दै लैजाने सङ्घले जनाएको छ ।
व्यवसायका लागि आवश्यक सुन पर्याप्तमात्रामा उपलब्धताका लागि सङ्घले पहल गर्ने बताइएको छ । सङ्घका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले नेपालमा प्रत्येक दिन १० किलोग्राम मात्र सुन भित्रिने गरेको बताउँदै उक्त सुन नेपाली बजारका लागि कमी भएको उल्लेख गरे । नेपालका लागि प्रतिदिन ३५ देखि ४० किलोग्राम सुन आवश्यक रहेको उनको भनाइ थियो । नेपालमा हाल १५ देखि २० हजार व्यवसायीले सुन तथा हिराको व्यवसाय गर्दै आएका छन् । उक्त व्यवसायबाट देशभरका करीब छ लाख व्यक्तिले प्रत्यक्ष तथा अप्रतक्ष्यरुपमा रोजगारी प्राप्त गरेको सङ्घले जनाएको छ ।
Facebook Comment