ओमानमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन आग्रह

काठमाडौं। ओमनको मस्कटस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरुलाई विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को महामारी अझै पनि नियन्त्रणमा नआइसकेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
दूतावासले ओमानमा रहेका सबै नेपालीलाई पर्याप्त मात्रामा सामाजिक दूरी कायम गर्न र यस भाइरसको संक्रमणबाट जोगिन रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न सूचनामार्फत अपिल गरेको हो।
कोरोना भाइरसको अनुगमन र मूल्यांकन गरिरहेको ओमानको सर्वोच्च कमिटीले यही जनवरी २७ मा गरेको निर्णयानुसार सामूहिक रूपमा भेला हुने तथा सामाजिक कार्यहरूमा जमघट हुने कार्यमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। सोही कुरालाई मध्यनजर गर्दै ओमानमा रहेका नेपालीहरुलाई त्यहाँस्थित नेपाली दूतावासले ओमान सरकारले जारी गरेका निर्देशनहरू पालना गर्न भनेको हो।
दूतावासको जारी सूचनाका अनुसार एकातिर नेपाल, ओमान लगायत प्रायः देशहरूले यसको रोकथामको लागि भ्याक्सिनको प्रयोग गर्न शुरू गरिसकेका छन् भने अर्कोतिर विभिन्न मुलुकहरूमा यस भाइरस उत्परिवर्तित स्वरूपहरूमा फेला परिरहेको र ती उत्परिवर्तित स्वरूप अझ बढी संक्रामक रहेको अनुसन्धानहरूले देखाएको छ।
यससँगै ओमानमा सामूहिक रूपमा भेला हुने तथा सामाजिक कार्यहरूमा जमघट हुने कार्यमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ। साथै ओमानमा रहेका नेपालीहरूलाई यस सम्बन्धमा थप बुझ्नु परेमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
Facebook Comment