निर्वाचन आयोगलाई ओली समूहको सुझावः पार्टीको विवाद टुंगिसकेको छ, दर्ता प्रक्रिया शुरु होस्

डिसी नेपाल
१६ माघ २०७७ १८:०८

काठमाडौं। सत्तारुढ दल नेकपाको एक समूहले निर्वाचन आयोगलाई दल दर्ताका लागि प्रक्रिया शुरु गर्न सुझाव दिएको छ भने अर्को समूहले केही समयपछि छलफल गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समयले निर्वाचन आयोगलाई नेकपाको विवाद टुंगिसेको भन्दै दल दर्ताको प्रक्रिया शुरु गर्न सुझाव दिएको छ।
नेकपाको विवादबारे छलफल गर्न आयोगले शुक्रबार दुबै समूहका नेताहरुलाई बोलाएको थियो।

छलफलमा ओली समूहले दल दर्ताका प्रक्रिया शुरु गर्न सुझाव दिँदै प्रचण्ड–माधव समूहले भने आफ्ना समूहका नेताहरु काठमाडौं बाहिररहेको भन्दै छलफलका लागि समय मागेको छ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै ओली समूहका नेता सुवास नेम्वाङले नेकपाको विवादबारे आयोगले टुंगो लगाइसकेको भन्दै अबद ल दर्ताका लागि प्रक्रिया शुरु गर्नुपर्ने सुझाव दिएको बताए। उनले आयोगले पार्टीको आधिकारिकताको टुंगो यसअघि नै लगाइसकेको दाबी गर्दै सर्वोच्चमा विचाराधीन मुद्दाका विषयमा भने आफूले केही पनि नबोल्ने बताए।

‘पार्टी आधिकारिकताका विषयमा आयोगले आफ्नो निर्णय अस्ती नै सुनाइसकेको छ,’ नेम्वाङले भने, ‘त्यसैलाई आधार मानेर निर्वाचनको सम्पूर्ण प्रक्रिया अघि बढ्छ, अब निर्वाचनको विकल्प छैन। वैशाख १७ र २७ गते निर्वाचन गर्ने विषयमा थोरै पनि ढिला गर्नु हुँदैन।’

निर्वाचन आयोगले नेकपाको विभाजनलाई अस्वीकार गर्दै ओली र प्रचण्ड अध्यक्ष रहेको ४४१ सदस्यीय नेकपालाई मान्यता दिएको थियो। तर, नेकपामा अहिले दुई वटा समूह क्रियाशील रहेकाले आयोगले दिएको निर्णयले निकास नदिने नेकपाकै नेताहरुले बताइरहेका बेला ओली समूहले दल दर्ता पक्रिया अगाडि बढाउन सुझाव दिएको हो।

प्रचण्ड–नेपाल समूहका नेता बाहिरिएपछि ओली समूहका नेता आयोग पुगेका थिए। अयोगका पदाधिकारी र ओली समूहका नेताहरुबीच छलफल भयो। उक्त छलफलमा ओली समूहका नेताहरुले तोकिएकै समयमा निर्वाचन हुने भन्दै निर्वाचन सम्बन्धी कानूनलाई अगाडि बढाउन आयोगका पदाधिकारीसँग आग्रह गरेको ओली समूहका नेता नेम्वाङले जानकारी दिए। ‘अब निर्वाचन सम्बन्धी कानुन अगाडि बढाउन एक मिनेट पनि ढिला गर्नु हुँदैन,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘अब निर्वाचनको विकल्प छैन। अहिले पनि तपाईँहरु निर्वाचनको तयारीमा लाग्नु भएको छ। यसै गरी फेरि पनि लाग्नुस्।’

उक्त छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्वाचन तयारीका विषयमा हालसम्म गरेको काम बारे जानकारी गराएका थिए। आयुक्त इश्वरीप्रसाद पौड्यालले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न कुनै पनि कमिकजोरी नहुने गरी आयोगले तयारी गरिरहेको बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *