दिल्ली विस्फोटः आतंकवादी आक्रमण भएको इजरायलको भनाइ
काठमाडौं (एजेन्सी)। भारत र इजलायबीच कूटनीतिक सम्बन्ध स्थापना भएको शुक्रबार २९ औ वर्षगाँठको अवसरमा भारतको राजधानी दिल्लीमा दुई देशका अधिकारी एक रिट्रिटमा व्यस्थ रहँदा इजरायली दूतावास नजिकै एक विस्फोट भएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार जतिबेला यो विस्फोट भए त्यहाँबाट केही नजिकै रिट्रिय कार्यक्रम जारी थियो। दिल्लीस्थित एपीजे अब्दुल कलाम रोडस्थित इजरायली दूतावासभन्दा करिब १५० मिटरको दूरीमा विद्युतीय तरंग कन्ट्रोलबाट सञ्चालित सामान्य बम विस्फोट गराइएको हो। यो विस्फोटमा कुनै मानवीय क्षति नभए पनि केही कारमा क्षति पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
विस्फोटपछि भारतीय विदेशमन्त्रीले इजलायली विदेशमन्त्रीसँग फोनमा वार्ता गरेका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्ना इजरायली सकमक्षीलाई भारत सुरक्षाका लागि तयार रहेको विश्वास दिलाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनले दोषीमाथि कारबाही गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
विदेशमन्त्रीपछि भारतीय सुरक्षा सल्लाहाकार अजित डोभालले इजलायली सुरक्षा सल्लाहाकारसँग कुरा गरेका थिए। उनले इजरायली समकक्षीलाई घटनाबारे जानकारी दिँदै यो घटनामा संलग्न जो कोहीमाथि कारबाही गरिने बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
उता इजरायलले यो घटनालाई आतंकवादी घटना भनेको छ। तर, हालसम्म यो घटनाको जिम्मेवारी कसैले लिएको छैन।
Facebook Comment