कथा : जान्न चाहन्छु
शिव धारापानीका दुई भाइ छोरा थिए–राम र कृष्ण। राम चाँही जनै उत्पादनको तालिमका लागि ल्हासा गयो। त्यसैबेला यता घरमा भाइ कृष्णको विहा भयो। सुकला, शिव धारापानीको घरमा बुहारी भएर आई। जनमत–घरसंसार भन्थ्यो, कान्छी भए पनि पहिली सुकला नै भई।
ल्हासाबाट फर्केर आएपछि रामको पनि बिहा भो। जेठी बुहारीको पदपूर्ति तुल्पाले गरी। धारापानीको घरले पूर्णता पायो। केही दिनपछि द्वन्द्व शुरु भो। पद र श्रेष्ठताले परिवारभित्र कम्पन ल्यायो। सुकला यो घरमा आएकी पहिली भनौं या जेठी बुहारी थिई।
उसले ज्येष्ठतालाई महत्व दिएर आफूलाई यथावत सुस्थिर भइराख्ने चेष्टा गरी। तुल्पा जेठाकी जेठी भएकी हुनाले पछि आए पनि जेष्ठताको अधिकार आफैँमा रहेको ज्ञापन र हठ देखाउँदै गई। आखिर धारापानीको घरकी जेठी बुहारी को हो—सुकला कि तुल्पा भन्ने प्रश्नले विवादको रुप लियो र मुद्दा पर्यो।
परम्परागत ढंगले हैन, प्रमाणका आधारमा जो पहिलो बुहारी भएर धारापानीको घरमा प्रवेश गरेकी थिई उसलाई नै अदालतले जेठी परिभाषित गर्यो। यसको आधार थियो विवाह र गृह प्रवेशको जेष्ठता। अदालत प्रमाण हेर्छ, प्रमाणले यही सत्य पुष्टि गर्यो।
तुल्पा पछि आएकी बुहारी हो, त्यसैले उसको स्थान गौण हुने भयो। नाताले जेठी भएपनि प्रवेश र अधिकारले शायद उसले आफ्नो ज्येष्ठता कायम गर्न सकिन। अदालतको निर्णयको पूर्णपाठ पढेपछि पक्का भो उसले आफ्नो अधिकार गुमाई।
जन्म क्रममा जेठो भए पनि जीवनयात्राको क्रममा कयौँपटक कयौँ ठाउँमा भाइ अगाडि हुन्छ, जेठो हुन्छ र उसैबाट गणना पनि थालिन्छ। त्यसैले जन्म ज्येष्ठता नै सर्वत्र कायम हुन्छ भन्ने कुरा सधैं मान्य हुँदैन।
पूर्णपाठको एक अंशले भन्योः जन्म क्रममा जेठो भए पनि जीवनयात्राको क्रममा कयौँपटक कयौँ ठाउँमा भाइ अगाडि हुन्छ, जेठो हुन्छ र उसैबाट गणना पनि थालिन्छ। त्यसैले जन्म ज्येष्ठता नै सर्वत्र कायम हुन्छ भन्ने कुरा सधैं मान्य हुँदैन।
यस अर्थमा बधू प्रवेशको मितिलाई ध्यानमा राखेर तुल्पाको ज्येष्ठताको अधिकारलाई यो अदालत अमान्य ठान्दछ। साना अक्षरमा अर्को मसीले लेखेको थियोः युगले समाजले फड्का मारिसकेका हुनाले परम्परागत धारणा तथा मूल्य मान्यतालाई बोकेर हिड्ने सोच र संस्कारमा परिवर्तन ल्याउन राजनीतितर्फका पण्डाहरुलाई धन्यवाद गर्दछ।
तुल्पा आजको परिवेशमा हुर्केकी युवती थिई। चेतना र स्वाभिमानले ऊ दीप्त थिई। त्यसैले अदालतको निर्णय उसलाई चित्त बुझेन र शंखदेवको कार्यालयमा पुगी। शंखदेव त्यस क्षेत्रको नामी वकील थियो। उसैको सल्लाहअनुसार ऊ चौतारीमा पुगी।
चौतारी नागरिकहरुको स्वतन्त्र न्याय–पीठ हो। यसको न्याय प्रणालीको महत्व अर्कै थियो। नागरिकहरुसँग विशाद विमर्श गरेपछि चौतारीले परिवेश तयार पारेर भन्यो, ‘भूगोल, जीवन संस्कृति रीति, परम्परा, लोक व्यवहार चिन्तन आदि ऐतिहासिक पृष्ठभूमि हेरेर आज यो चौतारी तुल्पाको याचनालाई न्यायको तुलामा राख्दै निर्णय गर्दछः कुनै पनि विधान र न्यायको तर्जुमा जीवन संस्कृति र भूगोलको रक्षा र पोषणका लागि गरिन्छ।
आधुनिक न्याय प्रणालीले सामाजिक, पारिवारिक तथा सांस्कृतिक र नैतिक सीमालाई भत्काएर मुद्दाको किनारा गरेको देखिएकोले हाम्रो चौतारी परम्परागत पारिवारिक संरचनामा नैतिक संस्कृतिक तथा समाजिक मर्यादालाई समेत दृष्टिगत गरेर तुल्पालाई शिव धारापानीको घरकी जेठी बुहारीको मान्यता प्रदान गर्दछ। कर्म क्षेत्रको ज्येष्ठताले पारिवारिक क्षेत्रको ज्येष्ठतालाई होचो पार्न सक्दैन। त्यसैले तुल्पाको पक्षमा हाम्रो चौतारी न्याय प्रदान गर्दछ।’
‘साथै अन्यायमा परेको पक्षले अपील गर्न पाउने छ। ’
‘जै गोरख !’
किन्तु यो न्याय मान्ने समाजको जनसंख्या सानो थियो। वृद्ध, प्रौढ र जवानमा वर्गीकृत समाजले वृद्धपुस्ताको कुरा सुन्ने स्थिति थिएन। उनीहरुलाई नयाँ विधानले वलशाली तुल्याएको थियो। उनीहरु सुकलालाई नै जेठी बुहारी मान्ने पक्षमा थिए। युवाहरुको समर्थन पाएर ऊ अभिमानले फुलेर बसेकी थिई।
तुल्पा क्रोधले आगो भई र उत्तेजित हुँदै भनी ‘तिमी आफूलाई जेठी बनाएर मेरो लोग्नेसँग बस्ने? तिमी के गर्न खोज्दै छ्यौ? यो समाज के भन्छ? र मलाई कान्छी बनाएर कोसँग सुत्न पठाउँछ? म जान्न चाहन्छु। नागरिक समाजले आफैँमा प्रश्न ग¥यो के चौतारीको न्याय पनि अमान्य नै हुने भो त?
Facebook Comment