समाज सेवाको गर्भबाट जन्मिएको हाम्रो खानाघर रेस्टुरेन्ट

डिसी नेपाल
१८ माघ २०७७ ६:४१

काठमाडौं। विश्वमा एकले अर्कालाई गर्ने सहयोगबाट मात्र दुःखीहरुले राहत पाउन सकेका छन्। असहायले सहायता र बेसहाराले सहारा पाएका छन्। मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवियता भने हराएको छैन र हराउनु पनि हुँदैन। जतिसुकै विज्ञान वा प्रविधिको विकास भए पनि मानिसमा मानवीयताको आवश्यकता छ।

सेवा धर्म हो, सबैभन्दा पुरानो धर्म हिन्दुको प्रमुख धार्मिक ग्रन्थ गीता मा भनेझैं कर्म गर फलको आश नगर भन्ने कुरालाई मध्यनजर गर्दै त्यसलाई व्यवहारमा उतार्ने मानिसहरु पनि हाम्रो समाजमा छन्। मानिसमा मानवीयता कायमै रहेको संकेत दिन दुःखीहरुको सेवा र सहयोगमा अघि बढेका हातहरुले प्रमाणित गरिरहेका छन्। कि निस्वार्थ सेवा एउटा मानवीय धर्म हो र मानिसमा मानवीयता हुन्छ।

दुई दशक अघि कलेज पढ्न काठमाडौं प्रवेश गरेका बिमल पन्तको जीवन पनि त्यस्तै मान्छे मध्येका एक हुन्। उनको दिनचर्या यसरी नै बितिरहेको छ।

काठमाडौं कसैका लागि लागि उर्वर छ, भने कसैका लागि मरुभूमि पन्त भन्छन् “एसएलसी पास भएपछि काठमाडौं पढ्न आएँ। गाउँको परिवेश र यहाँको स्थिति धेरै गुणा फरक थियो।” गाउँमा गाईको पूजा गर्ने म काठमाडौं आएपछि सडक भरिनै खाने र बस्ने ठेगान नभएका गाई देख्दा मेरो मन तरङ्गीत बन्यो। व्यस्त शहर काठमाडौं। यहाँ भेगिए र वर्गीय आधारमा आफ्नो जस्तो नखाएको आफ्नो जस्तो नगाएको भनेर हेप्ने मान्छेहरु पनि कम छैनन्। अर्कोलाई समस्या परेको देखे पनि नदेखे झै गर्ने शहरिया मान्छेलाई त्यो गाई गोरुको बारेमा सोच्ने फुर्सद हुने कुरै भएन। सडकमा त्यस्ता गाई देख्दा म धेरै भक्कानिए। मान्छेको भोक र शोकलाई समेत देख्ने दृष्टि नभएका मान्छेले त्यो गाईको भोक र शोक कसरी देख्थ्ये र?

उनले अगाडि भने, ‘त्यसपछि धेरै सोँचे र अन्ततः यस्ता गाई गोरुको सेवा गरेर बस्छु भन्ने संकल्प गरें। करिव २०६० सालको कुरा हो, त्यतिखेर देखिनै मैले सडकका गाई गोरुलाई खाना र भ्यायसम्मको उपचार गर्न थालेँ। मंहगो काठमाडौंमा घरबाट पठाएको पैसा कम नै हुन्थ्यो। तर, पनि आफुले अलि कम खायर भएपनि भोका र नाङ्गाहरुलाई केही छुट्याउथ्येँ। गाई गोरुको सेवा गर्दै जाँदा विस्तारै थाहा भयो कि सडकमा त गाई गोरु मात्रै कहाँ हो र, भोका नांगा अधिक संख्यामा सडक मानव पनि हुँदा रहेछन्।’

कोही नहुनेको सेवा गर्दै जाँदा आफूजस्तै साथीहरुसँग भेट र साथ समर्थन मिल्ने गरेको उनी सम्झन्छन्। त्यही शिलशिलामा २०७१ सालमा ‘हाम्रो टीम नेपाल’ संस्थाको उदय भयो जसको नेतृत्व उनै बिमल पन्तले गरिरहेका छन्।

पहिले प्रत्यक्ष भेटघाटबाट मात्रै संस्थामा आवद्धता भए पनि हाल सामाजिक सञ्जालका माध्यमबाट जोडिने मान्छेको संख्या बढिरहेको अध्यक्ष पन्तले बताए। हाल देश विदेश गरि यो संस्थामा ११ सय सदस्य आवद्ध छन्।

‘हाम्रो टीम नेपाल’ले तल्लो वर्गलाई लक्षित गरि निरन्तर सामाजिक कार्य गर्दै आइरहेको उनको भनाइ छ। यही संस्थाले २०६६ सालदेखि सञ्चालन गरेको निशुल्क कपडा बैंक अहिले पनि ४० भन्दा बढी जिल्लाहरुमा सहयोग गर्दै आएको छ। २०७२ सालको विनाशकारी भूकम्प लगायत, बाढी, पहिरो जस्ता सामाजिक विपत्तिमा संस्थाले कुनै न कुनै रुपमा सहयोग पुर्याउँदै आएको छ।

हाम्रो खाना घर रेष्टुरेन्टको परिकल्पना

विश्वव्यपी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि धेरै असर पर्यो। सबै क्षेत्र र वर्गका मानिसलाई महामारीको असर परे पनि बिशेषगरि सडक मानवहरु र दैनिक श्रमजिवी वर्गलाई निकै ठूलो संकट आइलाग्यो।

गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि त्यसको तीनदिन पछाडि संस्थाले सडकमा भोका बस्न बाध्य भएका मान्छेलाई खाना वितरण सुरु गर्यो। लकडाउनको अवधिमा मात्रै उक्त संस्थाले १५ सय भन्दा बढिलाई रासन वितरण र ४ लाख मान्छेहरुलाई खाना खिलाउने कार्य गरेको छ।

यही शिलशिलामा धेरैले रोजगारी गुमाएको, कोठा भाडामा बस्ने बिद्यार्थीलाई महंगीका कारण भोकै बस्नु पर्ने अवस्था आएको लगायत समस्यालाई मध्यनजर गर्दे काठमाडौँ उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको ‘हाम्रो टीम नेपाल’ले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको संस्थाले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो। हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको बताए। रेष्टुरेन्टबाट भएको बचतले अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने पनि अध्यक्ष पन्तले बताए।

६० जना क्षमता भएको रेष्टुरेन्ट सञ्चालनका लागि २० लाख रुपैयाँ लागेको पन्तले बताए। महगां रेष्टुरेन्ट खुल्ने क्रम बढे पनि नेपाली खानाको लोभ हुँदै गइरहेको उनको भनाइ छ। उनले यस रेस्टुरेन्टबाट नेपाली खानाको प्रवर्द्धन हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *