ऋद्धिसिद्धि सिमेन्ट उद्योगले स्थानीयलाई पटक–पटक धोका दिँदा उपमहानगर बेखबर
काठमाडौं। ऋद्धिसिद्धि सिमेन्ट उद्योगले स्थानीयलाई धोका दिएको छ। हेटौंडा उपमहानगरपालिका १५ वडामा स्थापित उद्योगले पटक–पटक स्थानीयलाई असर नपार्ने र प्रदुषण नहुने सम्झौता र प्रतिबद्धताका बावजुद पटक पटक सम्झौताको उल्लंघन गरेर स्थानीयलाई सास्ती दिने कार्य गरेको हो।
नेपालमा सिमेन्ट उद्योगमा प्रतिष्ठित मानिने शंकर समूह र अम्बे समूहले १० अर्ब रुपैयाँ लगानीमा ऋद्धिसिद्धि सिमेन्ट उद्योग स्थापना गरेका हुन्। उद्योगले ऋद्धिसिद्धि ब्राण्डमा ओपिसी सिमेन्ट उत्पादन गरिरहेको छ। ऋद्धिसिद्धिको प्लान्ट हेटौडाको रातोमाटेमा छ। ४० विघामा फैलिएको यो सिमेन्ट प्लान्टमा डेनमार्क र जर्मन कम्पनीको मेशिनरी प्रयोग भएको छ।
२०७२ सालमा निर्माण शुरु हुँदा उद्योगले अत्याधुकि मेसिन ल्यायर धुवाँ धुलो रहित उद्योग स्थापना गर्ने गरी १६ बुँदे प्रतिबद्धता जनाएको थियो। तर, उद्योगले त्यसको विपरित सर्वसाधारणलाई सास्ती हुने गरि धोका दिँदै आएको छ। प्रतिबद्धता अनुरुपका कैयौं बुँदाहरु प्लान्ट निर्माण सुरु भएको ५ वर्ष बितिसक्दा पनि पूरा भएका छैनन् ।
उद्योगले त्यो समयमा विभिन्न १६ बुँदामा प्रतिबद्धता जनाएको थियो। उपमहानगर १५ का वडाअध्यक्ष महारत्न लामाले भने ‘धुवाँ धुलो धेरै भयो, अव्यवस्थित गाडीको चाप हुँदा सर्वसाधारणलाई सास्ती भइरहेको छ। हामीले स्थानीयको गुनासो आएपछि उद्योगलाई गएर पटक पटक भन्यौँ। यो विषयमा लिखित र मौखिक रुपमै कुराहरु राखेका छौँ। उहाँहरु हुन्छ, गर्छौँ त भन्नु हुन्छ तर केही समयपछि फेरि समस्या देखन्छ। स्थिति उस्तै हुन्छ ।’ उनले उद्योगका कारण स्कुले विद्यार्थी, बालबालिका, वृद्धहरुलाई धेरै समस्या परेको बताए। स्थानीयलाई समस्या नहोस् भनेर आफू पनि निरन्तर लागिरहेको उनको भनाइ छ।
स्थापना हुँदा उद्योगले गरेको १६ बुँदे सहमतिमा स्थानीयलाई रोजगारी, स्कुललाई आर्थिक सहयोग, स्वास्थ्य चौकीमा सहयोग, एम्बुलेन्स सहयोग गर्ने प्रतिबद्धता गरेको थियो। तर, उद्योग सञ्चालनमा आएको एक वर्ष बितिसक्दा पनि ती प्रतिबद्धता पूरा हुन सकेका छैनन्।
उपमहानगर बेखबर
उपमहानगरले भने यो विषयमा कुनै जानकारी नै नभएको बताएको छ। हेटौंडा उप– महानगरपालिकाका प्रमुख हरिबहादुर महतले आफूहरुलाई यो विषयमा कुनै जानकारी नै नभएको बताए। उनले गैरजिम्मेवार तरिकाले कोही कसैले पनि यो विषयमा गुनासो र माग नगरेको बताए। प्रदूषणले स्थानीय आक्रान्त हुँदा पनि केही थाहा नभएको बताउने उपमहानगरको मूल नारा भने ‘ग्रिन एण्ड क्लिन सिटी’ छ।
निर्माण कम्पनीले फेरि भन्यो अब यस्तो हुँदैन
निर्माण कम्पनीले भने धुवाँ र धुलो कहिलेकाहीँ निस्केको र सवारी अस्तव्यस्त भएको स्वीकार गर्दै छिट्टै यो समस्या हट्ने प्रतिबद्धता जनाएको छ। डिसी नेपालसँग कुरा गर्दै कम्पनीका महाप्रबन्धक लोकेन्द्र मल्लले कहिलेकाहीँ यस्तो समस्या हुने गरेको बताए।
‘धुवाँ धुलो कहिलेकाहीँ निस्केको छ’ उनले भने ‘बाटो कच्ची छ। वर्षामा हिलो र अघि पछि धुलो हुने गरेको छ। अहिले हामी बाटो ग्राबेल गर्ने सोचमा छौँ। सवारी जाम भएकोप्रति पनि हाम्रो ध्यान गएको छ। पार्किङको उचित व्यवस्था भइरहेको छ। अब छिट्टै यो समस्या समाधान हुनेछ।’
स्थानीयसँग गरिएका प्रतिबद्धताको सन्दर्भमा उनले स्थानीयसँग छलफल भइरहेको बताए। धेरै कुराहरु पूरा भइरहेको बताउँदै उनले अब स्थानीयसँग छलफल गरी चाँडै एम्बुलेन्स उपलब्ध गराउने बताए। केही पूरा गर्न बाँकी रहेका कुरा छिट्टै सम्बोधन हुने उनको भनाइ छ।
Facebook Comment