कोरोना अनुभव : जोखिमपूर्ण रिपोर्टिङदेखि आइसोलेशनसम्म
गलकोट। कोरोनाअघि सामान्यता पत्रकारको दैनिकी कार्यक्रम, सभासम्मेलन तथा फिल्ड रिपोर्टिङमा चलिरहेको थियो। कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी महामारीका रुपमा फैलिसकेको थियो। एउटा पत्रकारको हैसियतले कस्तो प्रकारको रोग रहेछ भन्ने जिज्ञासा चिनको बुहानबाट शुरु भएको कोरोना भइरसका कारण प्रभावित बनेका नेपाली विद्यार्थीकोे उद्धार भइरहँदा मनमा उब्जिएको थियो।
कोरोना नेपालमा आउने कुरामा आशङ्का व्यक्त गरिएको थियो। विश्वस्वास्थ्य सङ्गठनले सबै देशमा सावधानी अपनाउन भनेको थियो। नभन्दै नेपालमा त्यसको सामान्य प्रभाव फागुनबाटै शुरु भयो। कोरोनाले पत्रकारको दैनिकी नै फे-यो। गण्डकी प्रदेशको बागलुङ जिल्लाको व्यस्त सडक विस्तारै कम हुँदै गयो। हात मिलाउने विस्तारै भेटघाटमा नमस्कार गर्ने परिपाटी बस्यो। साविक धौलागिरि अञ्चलको सदरमुकाम बागलुङ बजार सरकारले गरेको बन्दाबन्दीकै क्रममा सुनसान भयो। सबै बजारवासी गाउँ फर्कन थाले।
शुरुमा म शहरमा मास्क, स्यानिटाइजरमा भएको कालोबजारी र सर्वसाधारणमा देखिएको त्रासमा केन्द्रित थिएँ। कोभिड–१९ को सङ्क्रमण रोक्न भइरहेका प्रयास र जोखिमबारे विभिन्न निकायसँग गफ गर्दै आएँ। चैत पहिलो साता सबैतिर सावधानी शुरु भयो । हामीले सावधानी अपनाएर काम गर्न थाल्यौँ।
सरकारले चैत ११ बाट लकडाउन घोषणा गर्नुअघि नै गण्डकी प्रदेशका विभिन्न शहर सुनसान भइसकेका थिए। गाडी पातलिएका थिए। फिल्डमा गएर रिपोर्टिङ गर्न जोखिम थियो। तैपनी पत्रकारितालाई निरन्तरता दिइँदै आएँ। त्यसपछि मेरो ध्यान कोरोनाले असर गर्नसक्ने उद्योग, कृषि, व्यापार, सरकारी कार्यालयमा थियो। लकडाउनपछि जनजीवन ठप्प भयो। स्थानीय र प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका गतिविधि शुरु गरिसकेका थिए।
भूकम्पको महामारीमा धनी गरीब सडकमै आएजस्तै बन्दाबन्दीलेसमेत सबैलाई असर गर्न थाल्यो । जनजीवन प्रभावित बन्न थाल्यो। नेपाली पत्रकारिता क्षेत्रमा नयाँ शब्द आउन थाले जस्तै : लकडाउन, सटडाउन, बन्दाबन्दी, स्यानिटाइजर, आइसोलेशन, क्वारेन्टिन, स्वाब, आरडिटी, पिसिआरलगायत। बागलुङमा चैत दोस्रो साता नेपालमै पाँचौँ कोरोना सङ्क्रमित पुष्टि भएसँगै बागलुङ एकाएक नेपालभर चर्चामा आएको थियो। राजधानी बाहिर कोरोना पुष्टिको घटना पहिलो थियो।
बागलुङमा दुई दर्जन पत्रकार क्रियाशील छन्। जसमध्ये अधिकांश पत्रकारले युद्ध र आन्दोलनमा रिपोर्टिङको अनुभव नभएका थिए। तर महामारीको रिपोर्टिङ भने सबै पत्रकारलाई नौलो थियो। तर विभिन्न देशमा कोरोनाका कारण लाखौँ मानिसले ज्यान गुमाएका सन्दर्भमा त्रासपूर्ण अवस्था पत्रकारलाई नहुने कुरै भएन। बागलुङका अनलाइनबाहेकका मिडिया बन्द भए। पत्रकारले केन्द्रीय मिडिमा रिपोर्टिङदेखि घरमै बसेर अनलाइन सञ्चालन गर्ने परिपाटी विकास भयो।
काठमाडौँका ठूला मिडियालेसमेत घरबाटै सेवा दिन थाले। अनलाइन पत्रकारिताको महत्व निकै बढेर गयो भने कोरोना कहरमा जनतालाई सही सूचना सही समय दिनलाई नेपालका अनलाइन सक्षम भए। कोरोना मैले काम गरिरहेको संस्था राष्ट्रिय समाचार समितिले अतिरिक्त समाचारसमेत प्रकाशनमा ल्यायो। अनलाइनले राससले उत्पादन गरेको समाचार निकै प्राथमिकताका साथ प्रकाशन गरे। ठूला मिडियाका पत्रकारसमेत कोठामै सीमित भएको सन्दर्भमा राससको महत्व झनै बढेर गयो।
अझ भनौ कोरोना नियन्त्रणमा पत्रकारिताको अझ ठूलो भूमिका भएको सबैले महशुस गर्दै आएँ। मास्क र स्यानिटाइजरको प्रयोगको प्रचल ह्वात्तै बढेर गयो। शुरुको बन्दाबन्दीमा म पनि जिल्ला सदरकमुकामबाट गाउँ फर्कें। बागलुङ बजार पूर्णरुपमा बन्द भएपछि दैनिक उपभोग्य वस्तुको अभाव भइरहेको थियो। जन्मथलो रहेको बागलुङ नगरपालिका–८ सिगाना १८ दिन बसाई गरे। जुन पत्रकारिता शुरु गरेको आठ वर्षमा सबैभन्दा बढी लामो बसाई थियो। तर गाउँमा रहँदासमेत आफ्नो कर्मबाट टाढा रहिएन।
फोनबाटै कोरोनाको समाचार, स्वाब सङ्कलन, सङ्क्रमितको अवस्थादेखि उनीहरुको अनुभवसमेत जनताकामा पु-याउने काम गरिरहेँ। ल्याप्टप र मोबाइल डाटाका भरमा १८ दिन रिपोर्टिङ गरेसँगै पुनःजिल्ला सदरमुकाम आइयो। जिल्लामा बन्द भएका पत्रिका पुनःसञ्चालन हुन थाले तर प्रभावकारीरुपमा अनलाइन बढी चलेको पाइयो। त्यतिबेला जम्मा आधादर्जन क्रियाशील पत्रकार मात्रै फिल्ड रिपोर्टिङमा थिए। अन्य पत्रकार कोठामै सीमित भएको अवस्थामा जोखिम मोलेरै भए पनि समाचार सङ्कलनका लागि धौलागिरि अस्पताल धाउन थालियो।
कोरोनामा समाचारको मुख्य स्रोत र स्थान धौलागिरि अस्पताल थियो। धौलागिरि अस्पताल जिल्लाका पत्रकारको मात्रै हैन, नेपालकै मिडियाको स्रोत थियो। राजधानी बाहिर पहिलो सङ्क्रमितको उपचार गर्न तोकिएको अस्पताल थियो धौलागिरि अस्पताल। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट पत्रकारको फोन उठानमै व्यस्त भएको अनुभव सुनाउँथे। दिनभर पत्रकारकै फोन मात्रै आउँदा तनावसमेत भएको उनले अनुभव सुनाएका थिए।
अस्पतालले वैशाखभित्रै देशकै पाँचौँ सङ्क्रमित बागलुङ नगरपालिका–४ कुँडेलेकी १८ वर्षीय युवती अंशु सापकोटा र बागलुङ नगरपालिका–३ गैँडाकोटकी ६५ वर्षीय मनकुमारी पौडेलको सफल उपचार भयो। उनीहरुले आत्मबलले कोराना जितेको अनुभव समेटिएका समाचार राससमार्फत नेपालका धेरै मिडियाले कभर गरेका थिए।
अस्पतालको नाम समाचारकै कारण एकाएक चर्चामा आयो। चर्चामात्रै भएन सङ्घीय सरकार र प्रदेश सरकारले कोरोना अस्पतालका रुपमा अस्पताललाई विकास गर्ने भन्दै गण्डकी प्रदेशपछि सघन उपचार कक्ष र भेन्टिलेटरसहितको सुविधा दिनसमेत कोरोनाकै कारण सफल भयो।
पटकपटक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पतालको अनुगमनमा आउनुभयो । सङ्घीय सरकारका प्रतिनिधिसमेत बेलाबेलामा आए। कोरोना नभएको भए अस्पतालमा अझै केही वर्ष सघन उपचार कक्ष सेवा हुने थिएन। अहिले अस्पतालमा तीन शैया सघन उपचार कक्ष र तीन भेन्टिलेटर छन् भने अस्पतालको आफ्नै अक्सिजन प्लान्ट रहेको छ।
अस्पतालले कोरोना कहरमै मुहार फेरेको पाइयो। तर अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी र अनुभवी चिकित्सकको भने अभाव खड्किरहेको थियो। यसलाई निरन्तर समाचारका रुपमा प्रस्तुत गरियो भने स्वाब सङ्कलन भएको १७ दिनसम्म रिपोर्ट नआउँदा क्वारेन्टिनमा निसासिएर बस्नुपरेको पीडा र भारतलगायत तेस्रो मुलुकबाट उद्धार गरी आएकालाई स्थानीय तहले गरेको प्रशंसनीय कार्य र बेवास्थाका विषयका समाचारलेसमेत प्राथमिकता पाए। स्वास्थ्यकर्मीको अनुभवदेखि पाँच दिन पैदल हिँडेर बागलुङ आएका मजदूरका पीडासमेत समाचार बने।
असारपछि जनजीवन केही सहज बन्दै जान थाल्यो। कोरोनालेभन्दा मानिसलाई भोकले सताउन थाल्यो, कोरोना सन्त्रासका बीच मानिस दिनचर्यामा लाग्न थालिसकेका थिए। गोजीमा स्यानिटाइजर बोकेर कामकाजी हिँडिरहेका थिएँ। तर बेलाबेलामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सीमित स्थानमा बन्दाबन्दी गर्न थालियो। त्यही बेलादेखि कोरोना भाइरस सङ्क्रमणको त्रास, यसबाट जोगिन सर्वसाधारणले अपनाइरहेको सावधानीबारे लेख्न शुरु गरेको थिएँ।
यसै सन्दर्भमा सबैभन्दा बढी समाचार बन्दाबन्दीले पर्यटन, शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, रेमिट्यान्स र कृषि क्षेत्रमा पारेको असरलाई महत्वपूर्णरुपमा लेखन गरियो। अझ रोचक कुरा त कोरोनाले मानिसको जीवनमा आएको परिवर्तन र गाउँ फर्केर गरेको नवीन व्यवसायका विषयमा लेखिएका दर्जन बढी समाचारले निकै प्राथमिकता पाए। कोरोना कहरकैबीच केहीले गाउँमै पाडापाडी संरक्षण, बाख्रापालन, बाँझो जग्गामा खेती गर्न शुरु गरेको लगायतका समाचार लेखियो।
शुरुको अवस्थामा कोरोना सङ्क्रमित, स्वाब सङ्कलन, नयाँ रोगबाट त्रसितपूर्ण अवस्था र सङ्क्रमितका अनुभव लेख्दै आएको म विस्तारै त्यसको दीर्घकालीन असरका बारेमा लेख्दै जान थालेँ। नयाँ विषय र नयाँ शब्दावली भएका कारण कतै समाचार त्रुटिपूर्ण हुने हो कि भन्ने चिन्ता लाग्थ्यो तर निरन्तर डाक्रसँग परामर्श गरी समाचार तयारी गरिन्थ्यो। आफ्नै सङ्क्रमित हुने डर त छँदै थियो।
बागलुङमा केही पत्रकार फिल्डमै पुगेर कोरोना रिपोर्टिङ गरे पनि केही डर र भयका कारण फोनबाटै समाचार सङ्कलन गरे। फिल्डमा जाने पत्रकारलाई कोरोना को उच्चजोखिम मानिएका समयमा पिसिआर परीक्षण गर्ने अस्पताल तथा स्वास्थ्य कार्यालयले व्यवस्थापन मिलायो। पत्रकार महासङ्घ जिल्ला शाखाले मसहित पाँच जना सक्रिय पत्रकारलाई पहिलो चरणमा पिसिआर परीक्षण गराएको थियो। त्यो समयमा कसैलाई कोरोना पुष्टि भएन। त्यसपछि अलि ढुक्क भएर समाचार सङ्कलन गर्न परिचयपत्र र पहेलो ज्याकेट लगाएर निरन्तर खटिएका थियौँ।
धौलागिरि अस्पतालमा पहिलोपटक कात्तिक १८ मा कोरोना सङ्क्रमितको मृत्युले फेरि पत्रकारमा समेत सन्त्रास छायो। शव व्यवस्थापनका विषयमा जानकारी लिन अस्पतालदेखि शव व्यवस्थापनस्थल निरयघाटसम्म कडा सुरक्षाका बीच पुगियो।
शव व्यवस्थापनमा अन्य जिल्लामा अवरोध भएको घटना बाहिर आएपछि शव व्यवस्थापनमा बाक्लो सुरक्षाकर्मी खटाइएको थियो। शव व्यवस्थापनको तस्बिरसमेत राससमार्फत धेरै मिडियामा आयो। अहिले बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगिसकेको छ।
भदौ असोजदेखि कोरोनालाई मानिसले वास्तै गर्न छोडिसकेका थिए। नेपालमा दैनिक ५०० को हाराहारीमा कोरोना सङ्क्रमण भइरहेको हुन्थ्यो भने पाँच/सात जना मरेको समाचार आउँथ्यो। कोरोना कहरमा मलाई घरबाट निकै दबाब थियो फिल्डमा नजानु भन्ने तर पत्रकारिताको कर्म र धर्म निभाउन म निरन्तर फिल्डमा खटिँदै आएँ।
स्वास्थ्यमा समस्या हुँदा केही दिन परिवारबाट समेत अलग भएर समाचर सङ्कलनमा गएँ। परिवारबाट मलाई बारम्बार भनिन्थ्यो मृत्युभन्दा ठूलो पत्रकारिता हैन त्यसैले घरबाटै पत्रकारिता गरौँ तर मेरो मनले मानेन म फिल्डमै पुगेर रिपोर्टिङ गर्न थालेँ। फिल्डमै पुगेर तयार पारेको समाचार निकै प्रभावकारी र फरक र धेरैले चासोका साथ पढेको अनुभवसमेत गर्न पाइयो भने पत्रकार जहाँपनि जान्छ कोरोना सार्ला भन्ने जस्ता आरोपसमेत खेप्दै आइयो।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनानाएरै पत्रकारिता कर्म गर्दा गर्दै माघ ३ गते साँझदेखि मेरो स्वास्थ्यमा एक्कासी समस्या आयो। त्यसैदिन विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाबाट उद्घाटन भएको थियो। दिनभर भीडभाडका बीच समाचार सङ्कलन गरियो । साँझपख केही स्वास्थ्यमा समस्या भएको महशुस भयो।
भोलिपल्ट सामान्य ज्वरो आयो। तर निरन्तर कमल चलाइराखेँ। माघ ४ गते साँझपख कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण स्वास्थ्य परीक्षण गर्न धौलागिरि अस्पताल पुगेँ। अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले कोरोना परीक्षण गर्न भनेपछि त्यही दिन स्वाब दिएर घरमा आएँ। घरमा आएपछि लगातार टाउको दुख्न, श्वास फेर्न गाह्रो हुने तथा ज्वरो आउने समस्याले ग्रस्त बनायो। चार दिनसम्म निरन्तर आएको ज्वरो पाँचौँ दिनदेखि केही कम भयो।
माघ ८ गते कोरोना सङ्क्रमण भएको जानकारी पाएँ। म माघ ३ गतेदेखि परिवारसँगबाट अलग्गै बस्दै आएको थिएँ। तर जीवनसङ्गिनीकोसमेत कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आयो। होम आइसोलेशनबाटै दर्जन बढी खोजी समाचार लेखेँ। समय कटाउन निकै समस्या भएको होम आइसोलेशनमा समाचार लेखेर पठाउँदा केही सन्तुष्टि मिल्थ्यो।
सङ्क्रमणको समयमा चार दिन भने समाचार लेख्न सकिएन। होम आइसोलेशनमा बसिरहँदा मन निकै विचलन भएकोसमेत थियो। कोठामै नियमित व्यायम, तातोपानीको बाफ तथा झोलिलो खानेकुराले कोरोनालाई जित्न सफल भएँ र पुनः फिल्ड रिपोर्टिङमै फर्कें। होम आइसोलेशनमा बस्दा धेरै स्वास्थ्यकर्मी, अग्रज पत्रकार तथा आफन्तले फोनमार्फत सुझाव तथा सल्लाहसमेत दिइराख्नुभयो जसले कोरोना जित्न निकै सहज भयो।
Facebook Comment