सवारी चालक अनुमतिपत्रको ट्रायल दिने अवधि बढाइयो

काठमाडौँ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल)को समयावधि बढाएको छ। विभागले आइतबार एक सूचना जारी गर्दै ट्रायल परीक्षाको समयावधि बढाएको हो।
विभागले यसअघिको लाइसेन्सका लागि लिखित परीक्षा पास गरेको तीन महिनाभित्र तीन पटक ट्रायल दिन पाउने व्यवस्थालाई बढाउँदै अधिकतम १८ महिना पुर्याएको छ।
विभागका प्रवक्ता डा.लोकनाथ भूषालले भने, ‘पहिले तीन महिनाभित्र तीन पटक ट्रायल दिन पाउँथे अब १८ महिनाभित्र तीन पटक ट्रायल दिन मिल्ने व्यवस्था गरेका छौं।’
कोभिड–१९ ले गर्दा नौ महिनासम्म त्यसै बन्द भएको र अहिले खुले पनि आवेदन दिनको संख्या उच्च भएकोले यसलाई नियन्त्रित गर्न समयावधि बढाउनु परेको प्रवक्ता भूषालले बताए।
कोभिड–१९ का कारण लामो समयदेखि बन्द भएको र त्यो समयको आवेदन पनि यसैमा खप्टिएकोले गर्दा अबको नौ महिनामा सबै क्लियर हुने आशामा समय बढाउनु परेको उनले बताए।
पुनः पहिलेकै अवस्थामा आएपछि भने फेरि पुरानै नियम लागू हूने पनि उनले बताए। लिखित परीक्षा पास गरे पनि ट्रायल परीक्षामा रोकिइरहेका सेवाग्राहीको सुविधाका लागि विभागले यस्तो निर्णय गरेको जनाइएको छ।
दुई पटक ट्रायलमा फेल भएकाहरुका लागि तीन महिनाभित्रमा नै ट्रायल दिनैपर्ने बाध्यात्मक स्थिति अब रहने छैन्। यसले गर्दा परीक्षार्थीमा तनाव कम हुने प्रवक्ता भूषालको बुझाइ रहेको छ।
अब ट्रायलका लागि १८ महिनाको समय पाउँदा थप सुविधा हुने पनि उनले बताए। विभागबाट भएको उक्त निर्णय अनुसार मातहतका यातायात कार्यालयहरुलाई सोही व्यवस्था अनुसार कार्यान्वयन गर्न समेत निर्देशन गरिसकिएको भूसालको भनाई छ।
योसँगै अब नयाँ लाइसेन्सका लागि आवेदन दिने परीक्षार्थीले लिखित पास गरेर ट्रायल फेल भएको खण्डमा अधिकतम १८ महिनासम्म पुनःट्रायल दिन पाउने भएका छन्।
Facebook Comment