आयात प्रतिशत घट्दा बढ्यो निर्यात

डिसी नेपाल
२६ माघ २०७७ १९:४६

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वस्तु आयाततर्फ ४.८ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ६.१ प्रतिशतले वृद्धि भएर रु ६० अर्ब ८० करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ६ महिनाको आर्थिक तथा वित्तीय तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.४ प्रतिशत र चार प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फको निर्यातमा भने ५० प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा अलैँची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, पस्मिना, चाउचाउलगायत वस्तुको निर्यात बढेको छ । त्यस्तै पाम तेल, दाल, जस्तापाता, जुस, तारलगायत वस्तुको निर्यात घटेको छ । यस्तै आव २०७७÷७८ को ६ महिनामा कूल वस्तु आयात ४।८ प्रतिशतले घटेर ६ खर्ब ६१ अर्ब २५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात चार प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३।५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८.५ र १७.४ प्रतिशतले कमी आएको छ । आव २०७७÷७८ को ६ महिनामा कूल वस्तु व्यापार घाटा ५.८ प्रतिशतले घटेर ६ खर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *