बिमला दिदीको चिया पसल : पाँच सयकाे लगानी, वार्षिक ६ लाख आम्दानी
काठमाडौं। नयाँ बानेश्वरको संसद भवनमा ठूला–ठूला आर्थिक समृद्धिका कुरादेखि समाजवादका भाषण घन्किन्छन्। बहिर हजारौँ युवाहरु रोजगारीका लागि भौंतारिएका हुन्छन्। छेउमै ती अस्थिर युवा मनलाई स्थिर र सोचमग्न बनाउने चियाको पारखीहरुको गन्तव्य थलो बनेको छ बिमला दिदीको चिया पसल।
नयाँ बानेश्वरको भित्री भागमा हावाहुरी छेक्न टिनका र तारका जाली टाँगिएको छ। एउटा ग्यास चुलो राखिएको छ। बस्नका लागि ३५ देखि ४० वटा बाँसको मुडाको व्यवस्था गरिएको छ। चिया पिउन दैनिक सयौं युवाहरुको भिड लाग्छ। बिमला दिदी चिया बनाउन निकै व्यस्त हुन्छिन्।
व्यस्तता पनि यति छ कि उनीसँग बाहिरको मान्छेसँग बोल्न पनि समय नै लिनुपर्छ। व्यापार र परिश्रम गर्नेहरुलाई मँहगा घर होइन, सानो ठाँउ र सानै लगानीबाट पनि धेरै गर्न सकिन्छ भन्ने प्रमाणित गरेकी छिन् बिमला दिदी अर्थात बिमला पराजुलीले।
उनले चिया पसल सुरु गरेको १९ वर्ष भयो। ५०० रुपैयाँको लगानीमा सुरु गरेको यो अवधिमा धेरै उतरचढाव र अनुभव बटुलेकी छिन्। ‘जुनसुकै काममा सबै भन्दा ठूलो मेहनत र निरन्तरता हो,’ उनले भनिन्। सिन्धुपाल्चोक घर भएकी बिमला पराजुली काठमाडाैंलाई आफ्नो कर्मथलो ठान्छिन्। उनका परिवारमा ३ जना सदस्य छ। श्रीमान खानेपानी विभागका कर्मचारी हुन् , छोरो क्यामपस पढ्दै छन्।
चियापसल धेरैको महत्वकांक्षी व्यवसाय होइन। मानिसहरु ठूला–ठूला योजना बनाउँछन्, पूरा गर्न नसकेपछि जिन्दगी भर दुःखी हुन्छन्। सामान्य कुराहरुमा पनि खुसी हुनुपर्छ र सबै कामको सम्मान गर्न जान्नुपर्छ।
१९ वर्ष पहिले नयाँ बानेश्रमा ५०० रुपैयाँको लगानी गरेको थिएँ। ठेलामा पसल थियो। सुरुमा १०० रुपैयाँ फाइदा भएको थियो। त्यो दिनदेखि आजसम्म घाटा व्यहोर्नु परेको छैन,’ उनले भनिन्। प्रत्येक बिहान ५ बजे नै पसल आइपुग्छन् उनी। अनी सुरु हुन्छ चियासँगको न्यानो दिन। ‘राति ९ बजेसम्म चियाको पारखीहरु आउँछन्। लकडाउन भन्दा आजभोली ग्राहक बढेका छन्।
चियाको चुस्कीसँगै दिनको सुरुवात गर्ने र व्यस्त समयलाई चियाले नै व्यवस्थापन गर्ने नेपालीहरुको बानी परेको छ,’ अबेरसम्म पसल खोल्नुको कारण बताउँछन् उनी। बिमला दिदीको दैनिकी यति हो। वर्षको सबै दिन खुल्ला हुन्छ उनको चिया पसल।
‘चियामा ७ थरीको मसला राख्छु, २० मिनेटसम्म उमाल्छु। अरु चियापसलेहरुले जताभावी पैसा लिएका छन्। मैले सामान्य मान्छेहरुले पनि पिउन सक्ने गरी मसला हालेको दुध चिया २० रुपैयाँ मै दिन्छु,’ चिया शुल्कबारे उनको प्रस्टोक्ति छ।
‘दिनमा ७० लिटर दुध खपत हुन्छ। दैनिक ५०० कप जति चिया बिक्री हुन्छ। ‘मासिक आठ हजार भाडा तिर्छु सबै खर्च व्यवस्थापन गरेर मासिक ५० हजार फाइदा हुन्छ,’ उनले भनिन्।
चियापसल धेरैको महत्वकांक्षी व्यवसाय होइन। मानिसहरु ठूला–ठूला योजना बनाउँछन्, पूरा गर्न नसकेपछि जिन्दगी भर दुःखी हुन्छन्। सामान्य कुराहरुमा पनि खुसी हुनुपर्छ र सबै कामको सम्मान गर्न जान्नुपर्छ।
‘सरकारी जागीर खाँदा पनि पेन्सन हुन २० वर्ष लाग्छ। सबै कामको प्रतिफल ढिलो नै प्राप्त हुन्छ। म आज यो ठाँउसम्म आइपुग्न पनि लामो समय कठिन यात्रा हिँडेकीे छु। काममा निरन्तरता र लगनशिलता हुनुपर्छ सबै सहज हुन्छ’, चियाको उडिरहेको वाफसँगै बताइहेकी थिइन्।
‘धेरैले ठाने जस्तो सहज सपनाको शहर थिएन काठमाडौं। आर्थिक अभावले गुजारेपछि ७ वर्षसम्म ठेलागाडा मै चिया बेचेँ । महँगो घरमा भाडा तिर्न सकिँदैन थियो। सुरुवाती दिनहरुमा स्टोभको चुलो ठेलासम्म ल्याउँथे फर्किँदा साथै लिएर जान्थे।ँ कोठामा गएर त्यही चुलोमा खाना पकाउथेँ,’ पुराना दिन सम्झिन्छिन्।
सात वर्ष ठेलामा गरेपछि आज यो स्थानमा आइपुगेको उनले बताइन्। ‘अहिलेको व्यस्त व्यवसायले जीवनप्रति सकारात्मक आश जागेको छ। चियाकै कमाइले काठमाडौंमा जग्गा किनेको छु अब १ वर्षपछि घर बनाउने योजना बनाएको छु,’ उनले बताइन्।
चियापसलका धेरै ग्राहकहरु भन्थे हामी पुराना र नियमित ग्राहक हौँ। ग्राहक विजय बिष्ट भन्छन्, ‘यहाँको चियाको छुट्टै मिठास छ। बाक्लो मसलेदार चियाको एक चुस्कीले शरीर नै फुर्ती हुन्छ। अन्य ठाँउ भन्दा मिठो स्वाद सामान्य शुल्क र बिमला दिदीको आत्मीय व्यवहारले नै हामीलाई चियाखाने दैनिकी थलो बनाएको छ।’
काम गर्ने हो भने देशमै प्रसस्त सम्भावना देख्छिन् उनी। भन्छिन्, ‘ कामको सम्मान गर्ने हो भने देशमै रोजगारी छ। एउटा छोरा छ उसलाई पनि देश भित्रै काममा लाउने मेरो योजना छ।। यहाँ मान्छे लाजले काम गर्दैनन्। काम गर्न जान्ने हो भने जतापनि पैसा छ। हामी काम गर्दैनौं सपना ठूला बुन्छौँ। अर्काको देशमा गर्ने मेहनत यँही गरौँ पैसा र सुख नेपाल मै छ।’
Facebook Comment