नेकपा (प्रचण्ड–नेपाल) समूहको प्रदर्शनः काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त

डिसी नेपाल
२८ माघ २०७७ ११:३१

काठमाडौं। प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपा –प्रचण्ड–माधव नेपाल) समूहले आयोजना गरेको प्रदर्शनका कारण राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। प्रचण्ड–नेपाल समूहले आज विशाल जनप्रदर्शन गर्न दुई लाख मानिस काठमाडौं उतार्ने दाबी गरेका छन्।

अहिले राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसका कारण राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। महानगरीय ट्राफिक प्रहरीका अनुसार ठूला सवारी साधानलाई चक्रपथमा नै रोकिएको र साना सवारी साधनलाई पनि रत्नपार्कबाहेक अन्यत्र डाइभर्ट गरिएको जनाएको छ।

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले भने, ‘विहानैदेखि ट्राफिक प्रेसरमा छ। काठमाडौंमा हुने अरु कार्यक्रम जस्तै यो कार्यक्रम पनि ठूलो भएकाले यस्तो भएको हो।’ ठूला गाडीहरुलाई रिङरोड भित्र प्रवेश गर्न नदिएको एसपी अधिकारीले जानकारी दिए।

‘साना गाडीहरु पनि रत्नपार्क सेरोफेरोमा कम मात्रामा आउने वातावरण बनाएका छौं। ठूला गाडीहरुलाई त रिङरोडबाट छिर्न दिएका छैनौं।’

माघ १० गते प्रचण्ड–नेपाल समूहले गरेको आमसभा, २२ गतेको आम हड्ताल, २३ गतेको ओली समूहको शक्ति प्रदर्शन र आज हुने प्रचण्ड नेपाल समूहको शक्ति प्रदर्शनका कारण काठमाडौंको ट्राफिक र जनजीवन प्रवाभित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभाको विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ।

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले सडक आन्दोलनलाई त्यति महत्व नदिएको अवस्थामा सत्तारुढ दल नेकपाकै दुई समूहबीच शक्ति देखाउने कार्य भइरहेको छ। प्रतिगम भएको भन्दै प्रचण्ड–नेपाल समूहले सडक आन्दोलन गर्ने, सडकमै आमसभा गर्दा सर्वसाधारणले भने सास्ती पाएका छन्।

यस्तो छ जुलुसको रुट

कृष्णबहादुर महरा, पम्फा भुसाल लगायतका नेताले पुल्चोक, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धरा जाने जुलुसको नेतृत्व गरेका छन्।

त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपानेले नेतृत्व गरेका छन्। माइतीघरबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य लगायतले नेतृत्व गरेका छन्।

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतले नेतृत्व गरेका छन्। जमलबाट निस्कने जुलुसको नेतृत्व भने लिलामणि पोखरेल लगायतले गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *