प्रचण्ड–नेपाल समूहको आन्दोलनलाई प्रधानमन्त्रीले बाल नदिएपछि…

डिसी नेपाल
२८ माघ २०७७ १६:२४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम विरुद्ध’ भनिएको नेकपाको प्रचण्ड–माधव नेपाल समूहको आन्दोलनलाई प्रधानमन्त्री ओलीले वास्ता नगरेको विषय अहिले राजनैतिक वृत्तमा चर्चामा छ । यसअघि प्रचण्ड–नेपाल समूहले कुनै कार्यक्रम गर्दा प्रधानमन्त्री ओलीले सोही दिन आन्दोलनप्रति कटाक्षपूर्ण टिप्पणी गर्ने गरेका थिए ।

बुधबार प्रचण्ड–नेपाल समूहले जनसभा आयोजना गरे । सभामा तीन पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहित कैयौं नेताहरुले प्रधानमन्त्री ओलीको आलोचना गरे । उनीहरुले प्रधानमन्त्रीलाई तानाशाह भने, ओलीको युग सकिएको र उनी सरकारमा बस्ने अधिकार नभएको टिप्पणी गरे । यता आफ्नो विरोध हुँदै गर्दा अर्कोतिर प्रधानमन्त्री ओली अर्को मञ्चमा थिए । तर, सरकारी टेलिभिजन च्यानल नेपाल टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण भइरहेको मञ्चमा उभिएका प्रधानमन्त्री ओलीले आन्दोलनप्रति कुनै टिप्पणी गरेनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहको आन्दोलनबारे कुनै टिप्पणी गरेनन् । बरु उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै सुझाव दिए । प्रधानमन्त्रीले आयोगलाई अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुने गरी काम गर्न भने । मिडियालाई कुनै व्यक्ति दोषी ठहर नहुँदै दोषी बनाउने खालका समाचार सम्प्रेषण नगर्न सुझाव पनि दिए ।

प्रधानमन्त्रीले आयोगलाई देश र नागरिकलाई शीरमा राखेर काम गर्न आग्रह गर्दै त्रासबाट मुक्त भएर अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुने गरी काम गर्न सुझाव दिए । आयोगमा सरकारका तर्फबाट कुनै हस्तक्षेप नहुने भन्दै प्रधानमन्त्रीले आयोग सरकारको लाचार छायाँ नभएको बताए । प्रधानमन्त्री ओलीले राज्यका सबै निकायका प्रतिनिधि क्रियाशील भएमा देशको भ्रष्टाचार अन्त्य गर्न सहज हुने विश्वास व्यक्त गरे । कानुनको नजरमा सबै बराबर भएकाले दोषीलाई कानुनअनुसार कडा कारबाही हुने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *