नेकपा (प्रचण्ड-नेपाल) समूहको शक्ति प्रदर्शन : कोही भोकै, कोही खाली खुट्टा

तर्कबहादुर थापा
२८ माघ २०७७ १७:०९

काठमाडौं। ‘वीरगञ्जबाट आएको हजुर, रामकिसन मेरो नाम हो,’ भद्रकाली मन्दिरलाई दाइने पारेर उत्तर तिरको सडक, प्रदर्शनीमार्गलाई मोहोडा बनाएर बनाइएको स्टेज। तर, झलनाथ खनाको शब्द सापटी लिँदा डकर्मी र सिकर्मीले बनाएको धरहरा हर्दै रामकिसन भन्दै थिए, ‘हिजो राति आएको। रातभरी नै गाडीमा आयो।’ उनी काठमाडौं माघ महिनामा मात्र २ पटक आएका छन्। किन आएको थाहा छैन। टोली नेताको नाम अकमकिँदै रामकिसनले भने, ‘उ..उ…उसलाई थाहा छ।’

पैसा दिन्छु भनेका छन् उनलाई अस्तिको भन्दा बढी। करिव ४/५ दिन पहिला काठमाडौं आउँदाको पैसा समेत पाएका छैनन्। ‘फेरि काठमाडौं गएपछि बढी पाइन्छ र पुरानो पनि दिन्छ,’ रामकिसन भन्दै थिए। रामकिसन जस्तै करिव ३÷४ वर्ष पहिला ५० वर्ष उमेर पुगेका सबैको उस्तै कुरा थियो। अलि पढेलेखेजस्तो देखिने मान्छेले ‘चलो’ भनेपछि सबै कमिलाको ताँती झैं उनको पछि लागे। आफ्नो कुम्लो कुटुरो काँधमा बोकेर।

फूलमति देवी पनि काठमाडौं आएकी छन्। सर्लाहीबाट काठमाडौं आएकी उनी सडकमा छिन्। ‘आन्दोलनमा आएको हो,’ काठमाडौं आउनुको उद्देश्य उनलाई यो भन्दा बढी थाहा छैन। ‘खाना खा’ को छैन। बिस्कुट खाएँ,’ फुलमति देवीले भनिन्। गाउँमा नै गाडी पुगेर काठमाडौं आएको उनको भनाइ छ। उनी काठमाडौं आए पनि मन भने घरमै छ।

आफैंले बोकेको झण्डालाई ओछ्याएर बसेकालाई पनि राजनीतिसँग कुनै नाता नभएको अनुभूति दिलाउँथ्यो। नजिकै १०/१२ वर्षको बच्चाले ‘पानी लिनुस् न हजुर’ भनेर घोक्रो फुट्ने गरी कराउँदा पनि नेताहरुको कानमा उनीहरुकै भाषाका प्रतिगमन, केपी ओली लगायतका शब्द बाहेक अरु परेनन्।

‘काठमाडौं आए पनि घरको पीर लागिरहेको छ। चाडैँ घर फर्किन पाए खान पनि चाहिन्थेन’, उनले भनिन्। कार्यक्रमका लागि सर्लाहीबाट आएकाहरु थापागाउँबाट अनामनगरको भाटभटेनी हुँदै दक्षिण लागे। माइतीघर मण्डला र नयाँ बानेश्वरकोबीचमा पर्ने आर्कब्रिजमा अरु जुलुससँग उनीहरु मिसिए। माइतिघर हुँदै रत्नपार्क घुमेर सभास्थलमा पुगे। खुट्टामा चप्पल समेत थिएन।

यो दृष्य थियो नेकपाको प्रचण्ड-नेपाल समूहले काठमाडौंमा आयोजना गरेको शक्ति प्रदर्शनको। टुँडिखेललाई पछाडि पारेर बनाइएको स्टेजको तीन तर्फ उनीहरुकै शब्दमा मानव सागर थियो। पुष ५ गते राजीनामा दिनुभन्दा पहिलाका कृषिमन्त्री घनश्याम भुषाल कार्यक्रम स्थलको उत्तरतर्फ रहेको विद्युत प्राधिकरणको गेटै अगाडि रोडमा थचक्क बसेका थिए।

सडकमा फिँजारिएको विरोधसभा लेखेको ब्यानरसँगै रहेका उनले ‘पापड’ खाइरहेका थिए। महिला नेतृ अमृता थापामगरको भाषण सुरु भयो। ‘खड्ग प्रसाद ओली’ शब्दबाट सुरु भएको उनको भाषणमा सुदुरपश्चिममा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको कुरा उठ्यो।

पार्टीभित्रको विवाद छताछुल्ल भएको पुष ५ गते पहिला सरकारमा रहेको पार्टीकी नेतृले सडकमा आएपछि निर्मला र भागिरथीका हत्यारा पत्ता लगाउन नसक्ने भन्दै गरिएको भाषाण फरक सुनिएको थियो। नेपालमा सशस्त्र आन्दोलन गरेको तत्कालीन नेकपा माओवादीले नेपालमा जातीय संघ संगठनहरु खोलेर राजनीति गर्न सुरु गरेको थियो।

सोही पार्टीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख वक्ता भएको सभामा जनकपुरबाट नेकपाको मोर्चा सम्हालेर काठमाडौं पुगेका रामचन्द्र झाले जातीय राजनीतिक गरेको भन्दै अरु कसैलाई आरोप लगाउँदै थिए। उनका यी शब्दले पनि कताकता नसुहाएको आभाष दिँदै थिए। अलकत्रा विछ्याइएको सडकमा खालिखुट्टा हिड्ने महिला, हातमा समातेर लछार्दै लगिएका बालबालिका तथा टाउको र काँधमा कुम्लो बोकेका वृद्धवृद्धालाई नेताहरुले गरेको भाषणको कुनै प्रवाह थिएन।

आफैंले बोकेको झण्डालाई ओछ्याएर बसेकालाई पनि राजनीतिसँग कुनै नाता नभएको अनुभूति दिलाउँथ्यो। नजिकै १०/१२ वर्षको बच्चाले ‘पानी लिनुस् न हजुर’ भनेर घोक्रो फुट्ने गरी कराउँदा पनि नेताहरुको कानमा उनीहरुकै भाषाका प्रतिगमन, केपी ओली लगायतका शब्द बाहेक अरु परेनन्।

सडकभरी थचक्क बसेका मान्छेहरु देख्दा बदाम, पानी, मेवा, सुन्तला, कपडा, घडी लगायतका सामानको व्यापार गर्नेहरुलाई ग्राहक आएको भान हुन्थ्यो। नेताहरुले गरिव, किसान, मजदूरको हितमा अहिलेको सरकारले केही गरेन भन्दा तिमीहरु पनि उनीहरुकै मान्छे त हो भन्दै उत्तर फर्काउँथे। तर, कहाँ सुन्नु नेताले। आफू भन्दा बढी उमेरको मान्छेले चट्पटे बेच्ने ठेला डोर्याइ रहँदा पूर्व मन्त्री भुषाल भने सुन्तला खानमा मस्त देखिन्थे।

विरोध प्रदर्शन लेखेको कालो ब्यानर ओछ्याएर लस्करै बसेका महिला नेतृलाई अमृता थापाको भाषण भन्दा प्यारो बदाम लागिरहेको थियो। सूर्य अंकित झण्डा भूइँमा फालेर पानीका बोतल अगाडि राखेर बसेकी महिला हेर्दा छुट्याउन गाह्रो पथ्र्यो उनी व्यापारी हुन वा कार्यकर्ता।

नेताहरुले गरेको भाषणले शहिद गेटमा फोटो खिच्ने र टिकटक बनाउनेलाई पनि छोएको थिएन। उनीहरु पनि कार्यक्रममा आएका त हुन। तर, शहिदगेट देखेपछि अरु ‘बालमतलब’। धरहरलाई हेर्न गएकालाई पनि कार्यक्रमको कुनै प्रवाह थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *