भारतीय औषधि कम्पनीलाई ५० मिलियन डलर जरिवाना

डिसी नेपाल
२८ माघ २०७७ १६:५९

काठमाडौं। भारतको एक औषधि कम्पनीलाई ५० मिलियन डलर (झण्डै ६ अर्ब नेपाली रुपैयाँ) जरिवाना तिर्न आदेश दिइएको छ । अमेरिकाको न्याय विभागका अनुसार फ्रिसेनियस काबी ओंकोलोजी लिमिटेड (एफकेओएल) कम्पनीले जानकारी लुकाएको र रेकर्ड मेटाएको आरोप स्वीकार गरेको छ । कम्पनीमाथि २०१३ मा अमेरिकाको औषधि नियामक निकाय फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनको टिम जाँचको लागि कम्पनीको कार्यालयमा जानुभन्दा ठिक अगाडि कैयौं रेकर्ड नष्ट गरेको आरोप थियो ।

ल ३६० को रिपोर्टअनुसार कम्पनीले आफ्नो अपराध स्वीकार गर्नुको साथै जरिवानाको रुपमा ५० मिलियन डलर तिर्न पनि स्वीकार गरेको अमेरिकाको न्याय विभागले जनाएको छ । अमेरिकाको नेवादाको संघीय अदालतमा कम्पनीविरुद्ध आपराधिक मुद्दा दायर गरिएको थियो । एफकेओएल कम्पनीमाथि अमेरिकाको संघीय खाद्य, औषधि तथा कस्मेटिक ऐनको उल्लंघन गरेको आरोप लगाइएको थियो ।

रिपोर्टका अनुसार अमेरिकाको न्याय विभागले कम्पनीले अमेरिकी उपभोक्ताको लागि प्रयोग हुने औषधिको जाँचको बेला एफडिएसँग जानकारी लुकाइएको र रेकर्ड मेटाइएको बताएको छ । यसकारण अमेरिकी उपभोक्ता खतरामा परेको विभागले बताएको छ । दस्तावेजका अनुसार यो कम्पनीले पश्चिम बंगालको कल्यानीमा रहेको कारखानामा औषधि उत्पादन गर्छ । कम्पनीले क्यान्सरको औषधिका लागि सामग्री तयार गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *