प्रचण्डमा नाटकीय परिवर्तनः ओलीको आलोचना घटाएर देउवालाई फकाए

डिसी नेपाल
२८ माघ २०७७ १७:३४

काठमाडौं। विगत २ महिनायता भएका आन्दोलनका कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचना गर्दै आएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालमा आज नाटकीय परिवर्तन देखियो । बुधबारको सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्ड ओलीको आलोचना भन्दा कांग्रेस र जनता समाजवादी पार्टीलाई फकाउनेतर्फ बढी केन्द्रित देखिए । हुन त आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवस कार्यक्रममा प्रधानमन्त्रीले पनि सडक आन्दोलनबारे टिप्पणी गरेका थिएनन् ।

प्रचण्डको आजको सम्बोधन हेर्दा उनले आफ्नो पार्टीको एक समूह मात्र आन्दोलनमा रहँदा आन्दोलन तुहिन सक्ने आशंकाले अन्य दलहरुको समेत साथ खोजेको जस्तो देखिन्थ्यो । प्रचण्डले पटक पटक शान्ति सम्झौतामा ७ दलको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेको र संविधान जारी गर्ने सरकारको नेतृत्व सुशील कोइरालाले गरेको स्मरण गरे । आफूहरुले गर्ने आन्दोलन शान्तिपूर्ण हुने भन्दै प्रचण्डले त्यसले मात्रै लोकतन्त्र र संविधानको रक्षा गर्ने समेत बताए ।

बुधबार प्रचण्ड–नेपाल समूहले राजधानीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेस र जनतासमाजवादी पार्टीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदम विरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरे । ‘लोकतान्त्रिक आन्दोलनको छवि बनाएको नेपाली कांग्रेस र संघीय लोकतान्त्रिक गणतन्त्रको छवि बनाएको जनता समाजवादी पार्टी लगायतका पार्टीहरु अब कुनै भ्रममा पर्न आवश्यक छैन यो असंवैधानिक कदम हो’ उनले भने।

शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको र संविधान बनाउन समेत पूर्व प्रधानमन्त्री सुशील कोइरालाले भूमिका खेलेको प्रसंग निकालेर कांग्रेसको प्रशंशा गर्दै उनले अहिले संविधानको रक्षा गर्नका लागि पनि कांग्रेसको भूमिका आवश्यक रहेको बताए । विगतका कार्यक्रमहरुमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीविरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत हुने गरेका भएपनि बुधबारको आमसभामा भने उनले प्रधानमन्त्रीको आलोचना निकै कम गरे ।

यद्यपि उनले शान्तिपूर्ण आन्दोलनलाई नजरअन्दाज गरेको खण्डमा बालुवाटार र सिंहदरबार घेर्नेसम्मको कार्यक्रम गर्ने जनाएका छन्। ‘मैले हिसाब त गरेको छैन, मलाई आएको एसएमएसअनुसार यहाँ पाँच लाख मानिस जम्मा भएका छन्, यो उपस्थितिलाई नजरअन्दाज गरियो भने भोलि हामी सिंहदरबार र बालुवाटार पनि घेर्नेछौं,’ प्रचण्डले भने, ‘संवैधानिक निकायले पनि यो जनसभा हेरेर संविधान र लोकतन्त्रको पक्षमा फैसला दिनुहुनेछ भन्ने विश्वास लिएको छु।’

सर्वोच्च अदालत र निर्वाचन आयोगले जनसभा हेरेर निर्णय गर्नुपर्ने र त्यसो नगरे थप आन्दोलन गर्ने चेतावनी पनि प्रचण्डले दिएका छन्। ‘संविधान र लोकतन्त्रका विरुद्धमा केही काम गरियो भने दुर्भाग्यपूर्ण हुनेछ । यो शान्तिपूर्ण आन्दोलन विद्रोहमा जान्छ, विद्रोहमा गयो भने के हुन्छ ? हिजो सानो टुकडीले युद्ध गर्दा कस्तो अवस्था भएको थियो, हेक्का राख्नु पर्छ,’ प्रचण्डले जनसभामा भने, ‘संवैधानिक व्यवस्थाअनुसार जाने कमिटमेन्टअनुसार संविधान निर्माण गरेका हौं, त्यो भएन भने अब आँधी आउँछ, हुरी आउँछ, ‘ग्रिन रिभोलुसन’ हुन्छ नेपालमा, त्यो शान्तिपूर्ण हुन्छ ।’

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्क्याउने कार्य गरेको पनि प्रचण्डको आरोप छ । ‘ओलीसँग डराएर संवैधानिक निकायले फैसाला गर्छन् भनेर पत्याउँछन् त ? म त पत्याउँदिनँ, तर निर्वाचन आयोगले राम्रो संकेत भने देखाएको छैन,’ प्रचण्डले भने, ‘तर निर्वाचन आयोग नडराऊ, काइते कुरामा विश्वास गर्ने ? तपाईंहरू डराउनु पर्दैन ।’ प्रतिनिधिसभा विघटन गरेको मुद्दामा पश्चातापबोध गर्दै राजीनामा दिएको वक्तव्य निकाल्न प्रधानमन्त्री ओलीलाई प्रचण्डले सुझाव दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *