कर्णाली प्रदेश प्रमुख कलौनीद्वारा ल्होसार पर्वको शुभकामना
कर्णाली । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘ग्याल्पो र सोनामल्होसार पर्व, २०७७’को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्। एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले नयाँ वर्ष आरम्भको रूपमा बौद्ध धर्मावलम्बीहरुले मनाउने ग्याल्पो र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरे।
उनले बाह्र पशुपक्षी र जीवजन्तुका नामबाट वर्ष नामकरण गरी सोहीअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिप्रदाको दिन मनाउँदै आएको बौद्ध धर्मावलम्बीहरुको ग्याल्पो ल्होसारअनुसार आजदेखि मुसा वर्ष सकिएर गोरु वर्ष शुरु भएको र तामाङ समुदायको सोनाम ल्होसारअनुसार सुङ्गुर वर्ष शुरु भएको अवसरमा यस पर्वले नेपाल र नेपालीमा आपसी भाइचारा, सामाजिक सद्भाव र एकता कायम गर्न सहयोग पुग्ने बताए।
जारी सन्देशमा प्रदेश प्रमुख कलौनीले भनेका छन्, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक विविधता रहेको नेपाली समाजमा यस प्रकारका चाडपर्वले सामाजिक सद्भाव र एकतालाई दिगो एवं दरिलो बनाउन सहयोग गर्छ र यसमा हामी सबैको साझा दायित्व हुनुपर्दछ । ल्होसार पर्वले सम्पूर्ण नेपालीलाई एकताबद्ध गरी स्वच्छ, सुखी र समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्याई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मद्दत पुग्ने विश्वास लिएको छु।”रासस
Facebook Comment