मलेसियामा नेपाली श्रमिकले पाउने ‘सामाजिक सुरक्षा सुविधा तथा क्षतिपूर्ति नेपालमै दिलाइने’

डिसी नेपाल
३ फागुन २०७७ १२:००

काठमाडौं। मलेसियामा काम गरिरहेका श्रमिकहरूले पाउने सामाजिक सुरक्षा बापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउन पाउने बारेको समझदारीपत्रमा छिट्टै हस्ताक्षर हुने वैदेशिक रोजगार बोर्डका अधिकारीहरूले बताएका छन्।

केही दिनमै समझदारीपत्र मलेसिया पठाइने र मलेसियाको सामाजिक सुरक्षा संस्था सोक्सोले त्यसमा मन्जुरी दिएलगत्तै कार्यान्वयनमा आउने उनीहरूको भनाइ छ।

हालसम्म वैधानिक रूपमा मलेसियामा रहेका झन्डै तीन लाख नेपाली कामदार सोक्सोमा आबद्ध रहेको मलेसियास्थित नेपाली दूतावासका अधिकारीहरूले जनाएका छन्।

परिवारसम्म पुर्याउन समझदारी

मलेसिया सरकारले आप्रवासी कामदारलाई पनि सामाजिक सुरक्षा दिनेगरी कानुन बनाएको एक वर्षभन्दा बढी भइसकेको छ। तर उक्त सामाजिक सुरक्षाअन्तर्गत दर्ता भएका नेपाली कामदारले पाउने सुविधा र क्षतिपूर्ति नेपालमा उनीहरूको परिवारसम्म पुर्याउने माध्यमको टुङ्गो लाग्न सकेको थिएन।

हालै मन्त्रिपरिषद्ले मलेसियाको सामाजिक सुरक्षा संस्था सोक्सोसँग समझदारी गर्ने अधिकार वैदेशिक रोजगार बोर्डलाई दिएको छ। अब बोर्डले त्यस्तो सुविधा र क्षतिपूर्ति आफ्नो संस्थामार्फत पीडित परिवारसम्म पुर्याउने गरी समझदारी गर्नुपर्नेछ।

त्यसका लागि लामो समय कुर्नुपर्ने अवस्था नरहेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले बताए। उनले भने ‘हामीले यहाँबाट समझदारीपत्रको प्रस्ताव पठाउँछौँ। त्यसपछि उहाँहरूले त्यसको अध्ययन गर्नुहुन्छ अनि हामी हस्ताक्षर गर्छौँ।’ ‘यसको सुरुवात भइसकेको छ। पत्राचार गर्ने समयबाहेक ढिलो हुँदैन। फेब्रुअरी महिनाभन्दा बढी लाग्दैन।’

क्षतिपूर्ति तथा उपचार खर्च

नेपालबाट वैधानिक रूपले गएका कामदारहरूले नेपालका तर्फबाट पाउने सुविधा र क्षतिपूर्ति पनि वैदेशिक रोजगार बोर्डमार्फत् नै पाउने गरेका छन्। मलेसियास्थित नेपाली दूतावासका अधिकारीहरूले नेपालबाट पठाइने समझदारीपत्रको पर्खाइमा रहेको जनाएका छन्।
धेरैजसो नेपाली कामदार मलेसियाको सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भइसकेको दूतावासका श्रम मामिला हेर्ने काउन्सिलर दीपक ढकालको भनाइ छ।

उनले भने, ‘यहाँ काम गरिरहेका लगभग दुई लाख ९८ हजार हाम्रा नेपाली श्रमिकहरू यहाँको सामाजिक सुरक्षासम्बन्धी निकाय सोक्सोमा आबद्ध भएको जानकारी हामीलाई गराइएको छ। सोक्सोबाट पाउने जेजति लाभ हो त्यो पाउन उनीहरू योग्य भएरै बसेका छन्। अवैधानिक रूपमा रहेका कामदारको हकमा मात्रै समस्या हो।’

सोक्सोमा दर्ता भएका कामदारहरूको कुनै कारणवश अङ्गभङ्ग भएमा वा बिरामी भएमा उनीहरूलाई क्षतिपूर्ति तथा औषधि उपचार खर्च दिने व्यवस्था रहेको छ।

मृत्यु भएमा श्रमिकका आश्रितलाई क्षतिपूर्तिस्वरूप मृत्यु हुँदाको बखत श्रमिकले पाइरहेको तलबको ९० प्रतिशत रकम मासिक पेन्सनको रूपमा दिइने अनि शव व्यवस्थापन र अन्तिम संस्कारको खर्चको हकमा मलेसियामै दाहसंस्कार गरिएमा वा शव नेपाल ल्याएमा फरकफरक रकमको व्यवस्था रहेको अधिकारीहरूको भनाइ छ।  बीबीसी नेपालीबाट सभार




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *