नेपालमा भाजपा सरकार बनाउने शाहको भनाइको भारतमै विरोध, नेपालीसँग माफी माग्न माग

डिसी नेपाल
३ फागुन २०७७ १७:३१

काठमाडौं। भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले हिजो दिएको एउटा अभिव्यक्तिले नेपालमा ठुलो तरंग ल्यायो । देवले हिजो भारतीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार गठन गर्नुपर्ने बताएको खुलासा गरेका थिए । पार्टीको एक आन्तरिक बैठकमा शाहले त्यस्तो भनेको देवको दावी थियो ।

यससँगै नेपाल र श्रीलंकामा एक किसिमको तरंग आयो । भारतले स्वतन्त्र छिमेकी देशहरुप्रति पनि आफ्नै राज्यको जस्तो व्यवहार गरेको भन्दै आलोचना भयो । यद्यपि अहिलेसम्म नेपालका शीर्ष नेताहरुको तर्फबाट यस विषयमा आधिकारिक धारणा आएको छैन । केही फाट्टफुट्ट विरोधका स्वर सुनिए पनि यसले ठूलो रुप लिइसकेको छैन ।

नेपालमा यस विषयमा धेरै चासो नदिइएका बेला भारतमा भने यो विषयले ठूलो विवाद ल्याएको छ । भारतको केन्द्र सरकारको मुख्य विपक्षी दल कांग्रेस आइसहित कम्युनिष्ट पार्टीहरुले शाहको यो अभिव्यक्तिको चर्को आलोचना गर्दै शाहले नेपाली र श्रीलंकाली जनतासँग माफी माग्नुपर्ने माग उठेको छ । कांग्रेस आइकी नेतृ तथा अल इण्डिया कंग्रेस कमिटीकी प्रवक्त सुप्रिया श्रीनेतले यसलाई ‘डिप्लोमेटिक ब्लण्डर’ भन्दै यस विषयमा नेपालीहरुसँग माफी माग्नुपर्ने बताइन् ।

उता त्रिपुरा कांग्रेसकै उपाध्यक्ष तपस देवले पनि यसको विररोध गरेका छन् । उनले आफूहरुले छिमेकी देशहरुको सम्मान गर्ने बताउँदै ती देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुरा स्वीकार्य नहुने बताए । भाजपाको यो शैली अराष्ट्रिय र अप्रजातान्त्रिक भएको उनले बताएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

विरोध भएपछि भाजपाले आफूहरुले आफ्नो संस्कृति अन्य देशहरुसम्म फैलाउन चाहेको स्पष्टीकरण दिएको छ । भाजपाका व्रवक्ता नवेन्दु भट्टाचार्यले भने ‘भारतीय संस्कृति र दर्शन भारतबाहिर फैलाउने हाम्रो काम केही दिनअघि नै सुरु भएको हो । हामी फरक देशका जनताको मन जित्नेतर्फ केन्द्रित छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *