दलालहरुको राजनीति कति दिन टिक्ला ?

डिसी नेपाल
५ फागुन २०७७ ८:१७

नेपाली जनताहरुको सातदशक लामो निरन्तरको बलिदानीपूर्ण संघर्षहरु र पटक पटकका आन्दोलनहरुबाट प्राप्त उपलब्धी र जन अधिकारहरुलाई संस्थागत गर्दै स्थापित गरिएको ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई अगाडि बढाउने सन्दर्भमा कठिनताहरु देखिन थालेको छ।

गाउँगाउँमा सिहदरबार बनाउने र टोलटोलमा सिहदरबारको अधिकार लैजाने भन्दै संघीयताको नाममा विकेन्द्रिकृत गरिएको राज्यको पुन संरचनाले जनतालाई राहतभन्दा ज्यादा आहत पुगेको आवाजहरु बिस्तारै बिस्तार चर्को स्वरमा गुञ्जिने संभावना बढ्दो छ, बढ्दै छ।

आम नागरिकमा आशाभन्दा ज्यादा निराशा बढी छ। हामीले नेपाली जनतालाई राजनीतिक परिवर्तन गरिसकेपछि एकै पटक आकास छुने बिकासको कामहरु गर्न सक्छौ भन्ने हावादारी र बकमफुसे सपनाहरु बाँडेर पटक पटक जनताहरुलाई झुक्याएर सडकमा ल्यायौं।

तर, जनताको रोजी रोटी र दैनिकीमा उनीहरुले आशाकृत गरेको थोरैपनि काम हुन सकेन, त्यो अहिले संभव पनि छैन। राजनीति र विकासलाई छुट्याउन नसक्दासम्म त झन् हाम्रो जस्तो अल्पविकसित समाजमा विकासका कुराहरु बेतुक र छलकपट मात्र हुन पुग्दछ।

मैले लेख्दै आएको छु, फेरि पनि लेख्छु। राजनीति पेशा होइन, पवित्र मनोभावले गर्ने बिशुद्ध समाजसेवा नै हो। यहीँ छ भेद र यहीँ छ समस्या। राजनीति गर्ने मानिसहरु जबसम्म आर्थिक हिसाबले पारदर्शितासँगै आत्मानिर्भर र स्वचालित हुन सक्दैनन्, कम से कम तबसम्म राजनीति र बिकासलाई फरक बनाउन सकिँदैन, सकिएको छैन।

विकास निर्माणमा हुने गरेको राजनीतिक संलग्नता नै नेपालको बिकासको मुख्य बाधक हो। चाहे त्यो काठमाडौंको सिंहदरबारमा रहेको सिंहासनमा बसेर होस् वा चाहे त्यो नगर, गाउँघर, बिकट ठाउँहरुमा चारबर्षदेखि लगिएको नयाँं सिंहदरबारको सिंहासनमा बसेर।

यी सबैथरी मानिसहरुले राजनीति समाज सेवाको साटो पेशा बनाउँदै विकास निर्माणमा पहुँच राख्दै मनमा पाप र पैसामा लोभ पाल्दासम्म विकास र समृद्धिको कुरा फगत र फाल्तु गफमात्र सावित हुन्छ।

राजनीति र विकासलाई छुट्याउन नसक्दासम्म त झन् हाम्रो जस्तो अल्पविकसित समाजमा विकासका कुराहरु बेतुक र छलकपट मात्र हुन पुग्दछ।

राणा शासनको एकसय चारबर्ष र पञ्चायती व्यवस्थाको तिस वर्षलाई एउटा टोकरीमा राख्दै बितेको अर्को तिस वर्षमा बनेको बजेटमा भएका खर्चहरुबाट भएका विकास निर्माणका योजनाहरुलाई निसंकोच कसैप्रति आग्रह र पुर्वाग्रह नराखी निष्पक्ष तबरले एकपटक गम्भीर भएर सोंचौ त तपाईको टोल छिमेकमा कति पैसा आयो र कहाँ के भयो बन्यो।

स्थिति भयावह र कहाली लाग्दो नै छ। झ्वाट्ट सुन्दा असजिलो लाग्ने पछि बिस्तारै हो कि क्या हो? जस्तो महसुस हुने एउटा सत्य राजनीतिक बेरोजगार नै हाम्रो जस्तो विकासन्मुख देश र समाजको तगारो हो।

ऋण धन, चन्दा सहयोग माग्दै जम्मा गरेको पैसाको आधारमा शक्तिमा पुग्ने वा शक्ति आर्जन गर्ने र शक्तिमा बिराजमान भइसकेपछि त्यही शक्तिको आडमा पैसा आर्जन गर्ने परम्परागत सोंच र पैसालाई नै पूजा गर्ने हाम्रो मानसिकतामा पूरापूर परिवर्तन नहुँदासम्म जुनसुकै र जस्तोसुकै नामको व्यवस्था, शासकीय स्वरुप र अधिकारहरु गाउँ होइन, घरघरमा पुग्दा पनि नेपाली जनताको जीवनस्तर माथि उठ्दैन रहेछ भन्ने प्रमाणित भइसक्यो। झुट्टा आश्वासन र छलछामपूर्ण कृयाकलाप नेपाली राजनीतिको लागि दीर्घरोग र क्यान्सर जस्तै हो।

राजनीति गर्ने मानिसहरु सामाजिक भावानाले अभिप्रेरित र समाजप्रति जबाफदेही हुने निर्मल वातावरणको निर्माण जरुरी छ। संघीय संसद, प्रदेशसभा, महा, उप र नगरपालिका साथै गाउँपालिका र वडाहरुमा निर्वाचित हुने जनप्रतिनिधिहरु ब्यक्तिगत स्वार्थको निम्ति द्रव्यमोहमा पौडी खेल्ने र विकासका हरेक योजनाहरुमा आफ्नो उपस्थिति चाहाने प्रवृत्तिले व्यक्तिमाथि होइन, जनताहरु व्यवस्थामाथि नै औंला उठाउन थाल्दैछन्।

दलालहरुको राजनीति र राजनीतिक दलालहरुको स्वार्थी क्रियाकलापले व्यवस्थाको बद्नामी भएको छ। यो मेरो आरोप सबैका प्रति होइन, धेरैका निम्ति भने अवश्य नै हो। जुनसुकै तह र तप्काको किन नहोस्, जनप्रतिनिधिहरु भनेका जनचाहाना अनुसारको नीति निर्माता, त्यसको सही कार्यान्वयन भए नभएको जानाकारी लिने, आवश्यक परेको खण्डमा निर्देशन दिने र तारन्तार अनुगमनहरु गर्ने नै हुन् र हुनुपर्छ।

यहाँंनेर यसो हुन सकेन। हाम्रो विडम्मना ज्ञान र चेतनामा आएको कमी वा जबरजस्त एकलकाटे बानीले हो, यसको ठिक उल्टो भइरहेको छ, हुँदैछ। स्थानीय तहमा आफू अनुकुलका योजनाहरु आफै छान्ने, उपभोक्ता समितिमा आफ्नो नजिकको मानिसहरुलाई नै चयन गर्न प्रयत्न गर्ने।

निच्च दाह्रा देखाउँदै वडा, गाउँ वा सबैखाले नगरपालिकाको प्राबिधिक र कार्यकारीलाई अनुनय विनय गरेर या आशा र लोभमा पारेर कार्यक्रमहरु स्विकृति गर्ने परिपाटीले सतही विकासलाई बढवा दिएको छ, यस क्रमको अन्त्य अवश्य नै हुनेछ, समयले गर्नेछ।

राजनीति गर्ने मानिसहरु जब आर्थिक र मानसिकरुपमा पूर्ण स्वतन्त्र हुन्छ, तब ती दुई चीजले उसलाई स्वाभलम्बी बनाउँछ। जब मानिस स्वाभलम्बी र स्वनिर्भर बन्दछ अनि उसले समानता र निष्पक्षतापूर्वक काम गर्ने साहस गर्दछ। जहाँ समानता र निष्पक्षताले राजगर्न शुरुगर्छ, त्यहा सामाजिक न्याय, सामाजिक सद्भाव सहित विकास र निर्माणले गति लिन्छ।

मेरो वा पराईको बाहनामा हामीले चुन्ने हाम्रो जनप्रतिनिधिको राजनीतिप्रतिको अटल विश्वास सहितको निरन्तरता, शैक्षिक ज्ञान र चेतनाले भरिपूर्ण जिवनी र आर्थिक स्वतन्त्रतालाई प्रमाणित गर्न योग्य क्षमताको बारेमा प्रश्नहरु नगर्दासम्म मैले माथि उठाएको विषय फिक्का रहन्छ र समाज यस्तैयस्तै समस्याहरुको भुमरीको दुष्चक्रहरुमा फसिरहेको छ, फसिरहन्छ।

त्यसैले राजनीति र बिकास एउटै सिक्काको दुईपाटा हुन्, सिक्काको दुबै पाटालाई हेर्न जसरी तपाई मैले एकै पटक सक्दैनौ र यसलाई पल्टाएरमात्र दुबैपाटालाई हेर्न सकिन्छ, ठीक त्यसैगरी राजनीतिसँग जोडिएको बिकासलाई पनि फरक ढंगबाट केलाउँदै भिन्नाभिन्नै किसिमले हेर्ने र सोहीनुरुपको व्याख्याहरु गर्ने गर्नुपर्दछ।

हाम्रोजस्तो विकासतर्फ उन्मुख समाजमा बिकासका योजनाहरुमा राजनीतिक नेतृत्वले प्रभाब पार्न र राख्न खोज्ने एउटा चरित्र सँधै हाबी छ। तर पनि नेपाली समाजमा आएको चेतनाले बिस्तारै त्यसलाई असंभव बनाउँदै, यो चंगुलबाट मुक्त हुने कोशिसहरु भइराखेको नै छ। यसका लागि गरिएका प्रयत्नहरु र आवाजहरुलाई जुनरुपमा एकाकार पार्दै बुलन्द बनाउनु पर्ने हो, त्यो भएको छैन, एकदिन अबश्य नै होला ? आशाबादी भने बनौं।

हाम्रो नेपाली समाजको बनौटको स्वरुप र सामाजिक संरचना अनि परिवेसको कारण पनि हामीकहाँ को के र कसो गर्दैछ? कसको के कति सम्पति र आम्दानीहरु छ र हुन्छ? उसले गरेको ब्यापार र चलाएको भनिएको उद्योग धन्दाहरुको अवस्था कस्तो छ? नोकरी वा अन्य आम्दानीहरुको श्रोत के कसो हो? भन्ने बारेमा सार्वजनिक नै बहस र छलफलहरु हुने गर्छन्।

मानिसको मौलिक हक र व्यक्तिगत गोपनियता एवं सम्पतिमाथि उसको स्वामित्वसम्बन्धी ऐन कानुन र संबिधानमा व्यवस्था गरेता पनि यस्ता विषयहरु फितलो राज्य संयन्त्र र कमजोर प्रणालीका बाहिरी नै रहन्छन्।

संघीय संसद, प्रदेशसभा, महा, उप र नगरपालिका साथै गाउँपालिका र वडाहरुमा निर्वाचित हुने जनप्रतिनिधिहरु ब्यक्तिगत स्वार्थको निम्ति द्रव्यमोहमा पौडी खेल्ने र विकासका हरेक योजनाहरुमा आफ्नो उपस्थिति चाहाने प्रवृत्तिले व्यक्तिमाथि होइन, जनताहरु व्यवस्थामाथि नै औंला उठाउन थाल्दैछन्। दलालहरुको राजनीति र राजनीतिक दलालहरुको स्वार्थी क्रियाकलापले व्यवस्थाको बद्नामी भएको छ। यो मेरो आरोप सबैका प्रति होइन, धेरैका निम्ति भने अबश्य नै हो।

अझ भन्ने हो भने, धन सम्पति आर्जन गरेको रबाफमा राजनीतिक हैसियत, सामाजिक सम्मान र आफ्नो प्रभुत्वलाई समाजमा जमाइराख्न चाहने प्रवृत्ति भएका केही मानिसहरुले यसको सम्बन्धमा त झन् बिगुल नै फुक्दछन ।

राजनीतिक क्षेत्र र वातावरणलाई धुमिल एवं दुषित बनाउन गरेका अनेकौ हर्कतहरुको चपेटामा समाज बिस्तारै फस्दैछ, फस्छ। विशुद्ध समाजसेवाको रुपमा गरिएको राजनीति, पेशाको नाममा गरिएको राजनीति र पैसाको रबाफमा थालिएको राजनीतिको त्रिकोणात्मक भिडन्तको शिकार गुट, समुह र दल बनिरहेको र बन्दै छ।

माथि उल्लेख गरेका तीनमध्ये पहिलो किसिमको राजनीतिलाई प्रसंसा र बढवा दिदै बाँकी दुईलाई यथासक्य छिटो निरुत्साहित गर्ने भरपुर प्रयत्नहरु थालेनौ भने अर्को पटक अथवा वर्षौं वर्षसम्म पनि हामी आफ्नै पुर्पुरोमा आफ्नै हातले ठटाउने शिवाय अरु विकल्प छैन ।

डरत्रास र धम्की देखाउँदै गरिब, निमुखा र निर्दोष जनतालाई साधन बनाउदै शक्ति र द्रव्य आर्जन नै साध्य हो भन्दै बेला बेलामा पुस महिनाको घामजस्तो झुल्कने र गाउँ शहरमा भनेगरेको जस्तो स्वभाव अनि चरित्रको झझल्को दिने ब्यक्तिहरुको गतिबिधीहरुलाई यथासंभव चाँडो निस्तेज पारौं।

बिनाकुनै समर्पण र बिनाकुनै निष्ठा अनि फोस्रो प्रतिबद्धताबाट प्राप्त हुने कुनै पनि ज्ञान र चीजहरुबाट अनन्तसम्म जानै सक्दैनौं। तपाईँको लगाव र मेहेनत बेगर आउने उपलव्धी क्षणिक र सपनाजस्तै हुन्छ । समस्याहरुको दीर्घकालीन समाधानको अचुकबाण तपाई जनतासँग छ। त्यसको उपयोग सही समयमा गर्दा नतिजा पनि सोहीअनुसार आउनेछ। नत्र पुन कागतीको बिरुवा रोपेर, सुन्तलाको स्वाद चाख्न पाइएन भनेर पछुताउँनुजस्तै हुनेछ।

अन्त्यमा, राजनीति र बिकासमा निहीत भिन्नतालाई फराकिलो बनाउँदै मनदेखि नै आफूलाई परिवर्तन गर्छु, अनिमात्र समाजको परिवर्तन संभव छ, भन्ने भावाना हामी सबैमा बिकास हुन सकेन भने फेरि भन्छु, बिकास संभव एक छैन दुई छैन तीन छैन। राजनीतिक व्यक्ति र नेतृत्वको स्वच्छ चरित्र र आर्थिक पारदर्शिताले नै स्थायी कर्मचारीतन्त्रलाई बिधि र कानुनको परिधीमा राखी सेवाग्राही जनताहरुलाई छिटो छरितो सेवा प्रदान गर्न सकिन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *