सिपाही राखेर रवाफ जमाउने, धाक देखाउने भीभीआईपी
राजा वीरेन्द्रका लागि नारायणहिटी दरबारका २ गेटमा ४ जना र ४ सुरमा ४ जनासहित जम्मा १ सेक्सन कालो सैनिक पोसाक पहिरन भएका गोर्खा सैनिकसँग मात्र जीवन बिताउने मनसाय थियो।
भित्रिया मान्छेहरुसँग पटक पटक अभिव्यक्त यो राजइच्छाको विपरीत हामीले सुरक्षा पत्रमाथि पत्र खात लगाउदै गयौं। शान्तिकामी राजालाइ पछि बृगेड घेराभित्र राख्यौं। तर, व्यवहारमा ‘जति धेरै सुरक्षा उति धेरै चुनौती’ भन्ने सर्वमान्य सत्यलाई स्वीकार गर्न आनेकाने गर्यौं।
सैनिक वृत्तको सुरक्षा पत्रभित्र जेलिएर बस्न बाध्य भए राजा वीरेन्द्र। फलस्वरुप नागरिक समाज र सर्वसाधारण जनताबाट राजा एक्लिए। जनताको मन मुटुमा बस्नुपर्दछ भन्ने राजाको सदिच्छामा हामीले ग्रहण लगाइदियौं।
सुन्दरीजल पानी मुहान छेउ पंक्तिकार ४२ कि.मि. दौड सकेर मिस्टिन डब्बामा सेल्फ कुकिङ परेडको भात पकाउदै थिएँ। एक्कासि झलल बलिरहेको अनुहार अगाडि ठिङ्ग उभिएको देखें। राजा वीरेन्द्र भनेर पत्याउनै कठिन भयो। जनताको पिउने पानी सफा र स्वच्छ छ/छैन यकीन गर्न राजा त्यहाँ पुगेका थिए। ठीक ३२ वर्ष अगाडि, न ड्राइभर न सुरक्षा देखेर म छक्क परेको थिएँ।
तर कहिले शिवपुरी पानीमुहान, कहिले खरिपाटी पानी ट्याङ्की, कहिले आर.एन.ए.सि त कहिले विद्युत प्राधिकरण र दूरसंचार एक्ला राजाको छड्के निरीक्षण भइरहन्थ्यो। सेना प्रहरी ब्यारेकहरुको छड्के निरीक्षणसमेत नियमित भइरहन्थ्यो। उद्देश्य एउटै थियो– ‘जनताका सेवाग्राही संघ संस्थाहरु सदैव चुस्त दुरुस्त र प्रभावकारी हुन्।’
चन्दा त्रासबाट मुक्ति पाउन सुरक्षा माग गरेको देखियो। सुरक्षाकर्मीको दुरुपयोग गरेर सम्पति लाभ र चुनाव प्रभावित पारेको देखियो। नातागोता देखि ठेकेदार बिचौलिया र दलालहरुलाई समेत सशस्त्र सुरक्षाकर्मीहरु दान दक्षिणा दिए झैं टिका लगाएर दिएको देखियो।’
कृत्रिम सुरक्षा घेरा राजालाई पटक्कै मन परेको थिएन। र, राजा सुरक्षा सतर्कता त्याग गरेर जनताको मन मुटु भित्र बस्न चाहन्थे। आखिरमा सुरक्षा किल्लाभित्र उनै जनप्रिय राजाको गोली लागेर स्वर्गवास भयो।
यो पृष्ठभूमिसँगै नेपालका अहिलेका भीभीआईपीहरुको सुरक्षाबारे केही चर्चा गर्दछु। नेपाल सरकारले केही दिनयता भीभीआईपीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको संख्याबारे पुनरावलोकन गरेको छ।
यसबारे कतिले प्रश्न पनि उठाएका छन् भने कतिले आफ्नै कार्यकर्ता तालिम गराएर आफ्नो सुरक्षामा खटाएका समाचारहरु बाहिरिएका छन्। भीभीआईपीको सुरक्षा जिम्मेवारी पुनरावलोकन ठीक बेठीक के हो? र, हुनुपर्ने के हो?
प्रजातन्त्र र सुरक्षा
प्रजातन्त्रले सुरक्षाफौजमाथि पहिलो कब्जा जमायो। प्रजातान्त्रीकरण, समावेशीकरण र नागरिक नियन्त्रणका नाममा सुरक्षा फौज छिन्न भिन्न पार्ने र कब्जा गर्ने नियत अत्यन्त खोटो थियो। व्यक्तिगत सुरक्षाका नाममा सुरक्षाकर्मीहरु डफ्फाका डफ्फा खपत गर्ने खराब नजिर बस्यो।
द्वन्द्वले यो खपतलाई दिन दुगुना रात चौगुना बढाइदियो। भीभीआईपीहरुलाई सुरक्षाकर्मीले मात्र पुगेन।
हतियार राख्न पाऊँ भनेर जिल्ला प्रशासन कार्यालयमा निवेदनको चाङमाथि चाङ पर्न शुरु भयो। प्रजातन्त्रको बहार आएको खुशियालीमा नेताहरुका नाता–गोता, ससुराली, व्यापारिक इष्टमित्र समेतले सुरक्षा दस्ता हात लगाउन पाए। प्रजातन्त्र फालेर तुरुन्त गणतन्त्र उदय भयो । सुरक्षाकर्मीहरुको चरम दुरुपयोग झन् झन् बढेर गयो। संगठनको उपहास। मर्यादित पोशाक र अनुशासित हतियारको बेइज्जत भयो, गरियो।
सुरक्षा थ्रेट मूल्यांकनको अभिभारा
१८ वर्ष अगाडि वर्तमान प्रधानमन्त्री मन्त्रीगण र राजाका उपाध्यक्षहरुको सुरक्षा थ्रेट मूल्यांकन गरी प्रतिवेदन पेश गर्ने गोप्य अभिभारा पंक्तिकारलाई प्राप्त भयो। निवर्तमान प्रधानमन्त्री, मन्त्रीगण र दलका नेताहरुको सुरक्षा मूल्यांकन पनि जिम्मेवारीभित्र पर्यो।
सुरक्षा थ्रेट को मिहिन अध्ययन गरेर प्रतिवेदन तयार पारेँ र संगठनलाई दिएँ: ‘वनको होइन, मनको बाघको त्रासले भीभीआईपीहरुलाई भयभित बनाएको देखियो। चन्दा त्रासबाट मुक्ति पाउन सुरक्षा माग गरेको देखियो। सुरक्षाकर्मीको दुरुपयोग गरेर सम्पति लाभ र चुनाव प्रभावित पारेको देखियो। नातागोता देखि ठेकेदार बिचौलिया र दलालहरुलाई समेत सशस्त्र सुरक्षाकर्मीहरु दान दक्षिणा दिए झैं टिका लगाएर दिएको देखियो।’
सैनिक संगठनको सिष्टम अनुकरण गर्न अदम्य साहसको टड्कारो आवश्यकता छ। जसको लागि वर्तमान सरकारले सुरक्षाकर्मी फिर्ता गर्ने सुधारको विन्दू पहिल्याइदिएको छ। यो सुधारलाई सिद्धान्तमा होइन व्यवहारमा उतारेर देखाउन संगठन प्रमुखहरु दृढ निश्चयी, साहसिक र प्रतिबद्ध हुन जरुरी छ।
संगठनले प्रतिवेदनका बुँदा पत्याइदियो र सशस्त्र सुरक्षाकर्मी होइन बुलेट प्रुफ लाइफ ज्याकेट वितरण गर्ने मनासिव निर्णय गर्यो। हामीले लाइफ ज्याकेट वितरण गर्न शुरुमात्र के गरेका थियौं। ज्याकेटको माग अनपेक्षित बढेर गयो।
भीभीआईपीहरुले १ दर्जनदेखि २०० थानसम्म ज्याकेट माग गरेर आफ्नो त्रसित मनोविज्ञान अथवा ‘मनको बाघ’ उदाङ्गो पारेर देखाए। २ जना भीभीआईपीहरुले आफ्नो निजि मोटरलाई समेत बिसौं लाख खर्चेर रातारात बुलेट प्रुफ बनाइदिन सास्ती दिए।
अन्त्यमा, सुरक्षा थ्रेट प्रतिवेदन सत्य सावित भयो। कोही भीभीआईपीलाई लक्ष्य गरेर न गोली न बम फायर भयो। झन् आत्मघाती मिसन त शान्तिकामी नेपाली जनताको मनमा नभएको कुरा थियो।
सुरक्षा मोहः अर्थ र कारण
नेतृत्वको पृष्ठभूमि, जेलनेलको विगत र पूर्वाग्रह प्रतिशोधको भय, अपराधी समूहसंगको साँठगाँठ, आर्थिक अपराधलाई रक्षाकवच सुरक्षामोहको प्रमुख कारण हुन्। चुनाव प्रभावित पार्ने भय, त्रास, धम्की र रबाफ अर्को खोटो नियत हो। व्यापार–व्यवसाय, कालो धन्दाको पर्दा अर्को गुह्य छलकपट हो।
हातपात, गालामा चड्कन र जुत्ताचप्पल प्रहारको सुरक्षा आस सुरक्षा आवश्यकताको अर्को सामान्य कारण हो। एकपटक पाएको सुरक्षा सुविधा फिर्ता गर्न पटक्कै नमान्ने र विभिन्न बहानामा राख्नैपर्ने अर्को महारोग हो। पदमा रहिरहनुपर्ने मोह पनि यही हो।
पाए ठूलो नत्र सानै पद स्वीकार्नुपर्ने बाध्यता सुरक्षाकर्मीको थमौती, आर्थिक अपराधको बचाउ र कमाउधन्दाको निरन्तरतालाई हो।
सुरक्षाकर्मी फिर्ता गर्नु त परै जावस् मरणोपरान्त हैसियतबेगरका सन्ततिलाई हस्तान्तरण गर्ने पापी नजिर बोकेको मुलुकमा दर्ज छ हाम्रो सुन्दर देश नेपाल।
बिना रेकर्ड गुपचुप खटाइएका सुरक्षाकर्मीहरुको रेकर्ड झन् कहालिलाग्दो र डरलाग्दो छ। अब ती सुरक्षाकर्मीहरु बिनाबिलम्ब फिर्ता बोलाइनुपर्दछ। सुरक्षाकर्मीको माग र दुरुपयोग गर्न पल्केका वर्गहरुलाई बिप्लव समूह वरदान भएको छ।
दोषी को हो भन्नै परेन। तर, दोषीमध्ये सुरक्षा संगठन पनि एक हुनु भनेको विडम्बना हो। राजनीतिक छत्रछाया प्राप्त गर्नु, अपेक्षित बजेट बिनियोजन गराउनु र आफ्नो दुनो सोझ्याउनु सुरक्षा संगठनका गुह्य तर खराब नियत हुन्।
नेताहरुको सूचना लिनु राष्ट्रिय ईण्टेलिजेन्सको मर्म र भावना हुनुपर्नेमा ईण्टेलिजेन्सको जग भत्काएर नेताहरुले उल्टो संगठन प्रमुख र संगठनको कमजोरी, छिद्र र गोप्य सूचना हासिल गरिरहेको संवेदनशील कुरामा सतर्क हुन सुरक्षा निकायहरुलाई बिलम्ब भइसकेको छ।
स्मरणरहोस् सुरक्षाकर्मीहरुको गोप्य खटनपटनबाट संगठनप्रमुखलाई क्षणिक फाइदा होला तर संगठन र राज्यलाई त्यो अभिशाप र दुर्भाग्य हो। संगठनभित्र राजनीति हुल्ने बदनियत हो । आफ्नो जागिर र भविष्य अचानोमा राख्ने जुवा हो।
किनभने व्यक्तिको सुरक्षामा खटिएको फौजले हाकिमको खुट्टी देखेको हुन्छ । उसलाई फिर्ता गर्न सकिँदैन। बरु, उसले आफ्नो निलम्बन र घटुवा गरिदिने खतरा हुन्छ। समग्रमा संगठन पूरै कमजोर र ध्वस्तको बाटोमा गइरहेको हुन्छ।
वर्तमान र भविष्यका नेतृत्वले जीवनशैली, सोच र व्यवहारमा आमूल परिवर्तन गरेर जनप्रिय नेतृत्व साबित गर्न यो ‘सुरक्षाकर्मी खोसुवा’ राष्ट्रिय अभियान सही प्रारम्भ विन्दू होस्।
आजभोलि संगठनलाई फलानो र तिलानो पठाइदेउ भन्ने आदेश गिरेको देखिन्छ। भोलि बढुवा देऊ र पर्सी शान्तिसेना देऊ भन्ने पुरक आदेश अनवरत जारी भइरहन्छन्। संगठनको कार्यविधि, प्रक्रिया, मूल्य, मान्यता भत्किँदै जान्छ र एकदिन संगठन सिष्टममा होइन व्यक्तिगत मनपरिमा चल्ने हदसम्म पुग्दछ। गणतान्त्रिक सुरक्षा निकायहरु हाल यही बेथितिको शिकार भइरहेका छन्।
नेपाली सेनामा वर्तमान नेतृत्वले सुधार गरेको महत्वपूर्ण पक्ष यही हो। व्यक्तिगत मनोमानी होइन सिष्टममा चल्ने सैनिक संस्था सिपाहीहरुको लागि वरदान भएको छ। तर बिडम्बना, अरु सुरक्षा निकायहरु नचाहदा नचाहँदै पनि उल्टो यात्रा गर्न विवश छन्।
सैनिक संगठनको सिष्टम अनुकरण गर्न अदम्य साहसको टड्कारो आवश्यकता छ। जसको लागि वर्तमान सरकारले सुरक्षाकर्मी फिर्ता गर्ने सुधारको विन्दू पहिल्याइदिएको छ। यो सुधारलाई सिद्धान्तमा होइन व्यवहारमा उतारेर देखाउन संगठन प्रमुखहरु दृढ निश्चयी, साहसिक र प्रतिबद्ध हुन जरुरी छ।
सुरक्षा थ्रेट भर्सेस सुरक्षा आवश्यकता
प्रमुख जिल्ला अधिकारीको खतरा मूल्यांकनलाई सुरक्षाकर्मी खटाउने आधार मानिएको छ। जुन पटक्कै व्यवहारिक र वैज्ञानिक छैन। राष्ट्रिय ईण्टेलिजेन्स संगठन र राष्ट्रिय सुरक्षा परिषदको अभाव नै सुरक्षा दुरुपयोगको बिउ हो भन्नुमा अत्युक्ति नहोला। प्रमुख जिल्ला अधिकारीलाई बलिको बोको बनाउनु युक्तिसंगत हुँदैन। सुरक्षा थ्रेट सीमानामा छ, सुरक्षा बल घर घरमा छन्। पत्रमाथि पत्र सुरक्षा बल आवश्यकताको औचित्य कसैलाई थाहा छैन।
पूर्व प्रधानमन्त्रीहरुलाई दिइएको १८ देखि ७० जना सुरक्षाकर्मी गणतन्त्रको खिल्ली उडाउने ख्यालठट्टाजस्तो हो। बुद्ध भगवानको जन्मस्थान शान्ति क्षेत्र नेपालको बदनाम हो। शान्तिकामी नेपाली जनताको शिर निहुराउने लज्जास्पद हरकत हो। अन्य मुलुकमा जस्तो सुरक्षा निगरानीमा राखे पुग्दछ। ईण्टेलिजेन्स छाताभित्र राखेर सुरक्षा दिए काफी हुन्छ। फिजिकल गार्ड दिएर सम्मान गर्ने हो भने २ जनामा सीमित गरिनुपर्दछ।
सुरक्षा थ्रेट दूरदराजका जनतालाई छ। छात्रा तथा महिलाहरुलाई छ। तर सुरक्षा बल सत्ता, शक्ति, व्यक्ति, राजधानीमा पोको परेर बसेको छ। दलको संघ देखि प्रदेश हुँदै स्थानीय नेता र दलको कार्यालयलाई पहरा दिएर बसिरहेको छ। संगठन अनुशासनहिन हुने, निष्प्रभावी हुने र भविश्यमा विद्रोहको शिकार हुने संभावनालाई हामीले नकार्ने कि समय छदै सकार्ने?
भीभीआईपीको बुद्धिमता
पूर्व पदाधिकारीहरुले नेपालमा जस्तो भारी सुरक्षाकर्मी विश्वमा कही कसैले पाउँदैन। पाए पनि लिँदैनन्। सरल सादगी र सामान्य जीवनयापन सबैको रोजाइ र रहरको विषय हुन्छ। जीवन विज्ञानले दिने यो शिक्षाको सबैले स्वस्फूर्त अनुशरण गर्दछन्।
विश्वका वर्तमान शक्तिशाली शासकहरु पैदल र साइकल यात्रा गरेर घर कार्यालय गरिरहेका छन्। बिना सुरक्षा जनतामाझ जनता भएर सादा जीवन बिताउदै कुशल सेवा र त्याग गरिरहेका छन्। हामीले पाठ कहिले सिक्ने? सान र ढर्रा कहिले सच्याउने?
जननिर्वाचित भीभीआईपीहरुको रक्षाकवच भनेको जनता हुन्। सशस्त्र सुरक्षाकर्मी भनेको सुरक्षा चुनौती हुन्। बैमनष्यता र दूरी बढाउने तथा शत्रु कमाउने औजार जस्तै हुन्। कहिलेकाहीं आफ्नै जीवनलीला अन्त्य गरिदिने दूर्भाग्य पनि हुन्।
तसर्थ, राज्यले खोस्नुअगाडि सादा जीवन जिउने निर्णय गर्नु भीभीआईपीको बुद्धिमता हुने थियो। जनताको करबाट पालित पोषित सुरक्षाकर्मी आजीवन लिएर उनै जनतालाई तर्साउनु थर्काउनुलाई कसरी जनप्रिय नेता भन्ने?
वर्तमान र भविष्यका नेतृत्वले जीवनशैली, सोच र व्यवहारमा आमूल परिवर्तन गरेर जनप्रिय नेतृत्व साबित गर्न यो ‘सुरक्षाकर्मी खोसुवा’ राष्ट्रिय अभियान सही प्रारम्भ विन्दू होस्।
सुरक्षा संगठन प्रमुखहरुले साहसिक पहलकदमी लिएर सुरक्षाकर्मी फिर्ता र नागरिक सुरक्षा सुदृढीकरणको अभियानलाई मजबुत बनाउन्। राष्ट्रपति र प्रधानमन्त्रीबाहेकको व्यक्तिको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले अन्य सुरक्षा निकायलाई हस्तान्तरण गरोस् र सीमा सर्भे एवं सीमा सुरक्षा सुदृढीकरणमा ध्यान केन्द्रित गरोस्।
यतिबेला राष्ट्रिय सुरक्षाकर्मीलाई बेवास्ता गरेर आफूखुसी सुरक्षाकर्मी राखिएको कुराले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विवादमा परेका छन्। यसरी निजी सुरक्षाकर्मी राख्दा राखिने सुरक्षाकर्मीको पहिचान, तालिम, क्षमता, औचित्यता र संवेदनशीलता के हो ? पूर्व भीभीआईपीले आफूखुशी सुरक्षाकर्मी राष्ट्रिय सुरक्षाकर्मीसँग मिसाएर संयुक्त प्रयोग गर्दा हुने फाइदा बेफाइदा के के हुन्। प्रयोगविधि के हो? शक्ति प्रयोगको प्राथमिकता कस्तो हो? त्यसको पनि निक्र्यौल हुन जरुरी छ।
सुरक्षाकर्मीको क्रेज संघदेखि प्रदेश हुँदै स्थानीय सरकारसम्म ऐंजेरुझैं फैलिएको छ, भ्रष्टाचारजस्तै। सुरक्षाकर्मी शिरदेखि पुच्छरसम्म व्याप्त भ्रष्टाचारको प्रत्यक्षदर्शी र साक्षी हुन सक्दैनन्। न माथिदेखि तलसम्म हजारौं हजार भीआईपीलाई मञ्चमा आसिन गराएर सलामी टक्राउन सक्दछन्।
वर्तमान भीआईपीहरुको प्राचीन र भद्दा सुरक्षा व्यवस्थालाई पुनरावलोकन गरी समयसापेक्ष, हलुका र सुहाउदो बनाउनुपर्दछ। धेरैथरि सुरक्षाकर्मीहरुको डुप्लिकेशन हटाउनुपर्दछ। दर्जन कार्गेटको संख्या कटौती गरेर ३ वा ४ वटामा झार्नुपर्दछ। सूचना प्रविधिमा लगानी गरेर फिजिकल गार्डको संख्या घटाउनु जनउत्तरदायी लोकतन्त्र सुहाउदो स्मार्ट सुरक्षा व्यवस्था हुने छ।
पूर्व प्रधानमन्त्रीहरुलाई दिइएको १८ देखि ७० जना सुरक्षाकर्मी गणतन्त्रको खिल्ली उडाउने ख्यालठट्टाजस्तो हो। बुद्ध भगवानको जन्मस्थान शान्ति क्षेत्र नेपालको बदनाम हो। शान्तिकामी नेपाली जनताको शिर निहुराउने लज्जास्पद हरकत हो। अन्य मुलुकमा जस्तो सुरक्षा निगरानीमा राखे पुग्दछ।
ईण्टेलिजेन्स छाताभित्र राखेर सुरक्षा दिए काफी हुन्छ। फिजिकल गार्ड दिएर सम्मान गर्ने हो भने २ जनामा सीमित गरिनुपर्दछ। र, एउटा अनुकूल समय र विन्दूमा त्यो फिजिकल गार्ड हटाएर प्रविधि अनुगमनको सुरक्षा सुनिश्चित गरिनु बुद्धिमानी, मितव्ययी, शोभनीय र प्रजातन्त्र अनुकूल हुने छ। क्षेत्रीय र विश्व अभ्यासले सिकाएको पाठ पनि त्यही हो।
भद्दा र खर्चिला सुरक्षा क्रेजले सुरक्षा संगठनमा राजनीति र भ्रष्टाचारको बिजारोपण त अवश्यम्भावी गर्छ नै; विद्रोह र सुरक्षा चुनौती थोपर्ने सम्वेदनशील खतरा उत्तिकै हुन्छ।
यतिबेला राष्ट्रिय सुरक्षाकर्मीलाई बेवास्ता गरेर आफूखुसी सुरक्षाकर्मी राखिएको कुराले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विवादमा परेका छन्। यसरी निजी सुरक्षाकर्मी राख्दा राखिने सुरक्षाकर्मीको पहिचान, तालिम, क्षमता, औचित्यता र संवेदनशीलता के हो ?
पूर्व भीभीआईपीले आफूखुशी सुरक्षाकर्मी राष्ट्रिय सुरक्षाकर्मीसँग मिसाएर संयुक्त प्रयोग गर्दा हुने फाइदा बेफाइदा के के हुन्। प्रयोगविधि के हो? शक्ति प्रयोगको प्राथमिकता कस्तो हो? त्यसको पनि निर्क्याैल हुन जरुरी छ।
अन्त्यमा, व्यक्ति सुरक्षाले प्राथमिकता पाएको मुलुकलाई लोककल्याणकारी राज्य बनाउन बिलम्ब भइसकेको छ। भीभीआईपी होइन नागरिकहरुको शान्ति सुरक्षालाई सुनिश्चित गर्न जोड दिनुपर्दछ। नागरिक सुरक्षा छाताभित्र जनप्रतिनिधि स्वतः सुरक्षित हुने वातावरण श्रृजना गरिनुपर्दछ।
खुशी र सुखी नागरिकले आफ्ना जनप्रतिनिधिलाई स्वस्फूर्त रक्षाकवच प्रदान गर्ने अन्तर्राष्ट्रिय अभ्यासको हामीले अनुकरण गर्नुपर्दछ। व्यक्ति सुरक्षाले होइन, राष्ट्रिय सुरक्षाले समग्र देश र देशवासीको रक्षा सम्मान कल्याण गर्ने आदर्श परिपाटी नयाँ नेपालको सुरक्षा रोडम्याप हुनुपर्दछ।
(लेखक भीभीआईपी सुरक्षाविज्ञ र संरक्षणविद् हुन्)
Facebook Comment