सरकारले संकटका समयमा पर्यटन क्षेत्रलाई बेवास्ता गरेको बोर्डको गुनासो

डिसी नेपाल
७ फागुन २०७७ १०:०१

काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले कोरोना महामारीले सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन भएपनि सरकारले पर्यटनप्रति खासै चासो नदिएको गुनासो गरेका छन् । सरकारको नीतिकै कारण पर्यटक आवागमनमा सुस्तता आएको पनि उनले बताए ।

नेपालमा डिजिटल डाटाबेस पर्यटक योजना नभएको र योजना ल्याउनु पर्ने उनले बताए। कोरोनाभाइरस महामारीको एक वर्ष र त्यसले सिर्जना गरेका चुनौती र त्यो अवधिमा नेपाल पर्यटन बोर्डले गरेका काम कारवाहीका बारे जानकारी दिँदै डा. रेग्मीले नेपालमा पर्यटन उद्योग प्रवद्र्धन गर्नको लागि सरकारले जेजस्ता नीतिगत व्यवस्था घोषणा गरेपनि कार्यान्वयनमा भने सुस्त देखिएको बताए ।

रेग्मीका अनुसार विद्यमान विभिन्न वेवसाइटहरुलाई एकीकृत र स्तरोन्नतीको लागि कार्य अघि बढाइएको छ । वेबसाइट लगायत डिजिटल मिडिया, केन्द्रीय व्यापार प्लेटफर्मलाई पुनः इन्जिनियरिङ गर्ने कार्य भइरहेको उनले जनाए। ‘रोग भन्दा भोक ठूलो हँुदै जाँदा कोरोना नियन्त्रण गर्न सरकारले चालेका लकडाउन, निषेधाज्ञाकै बीच पनि व्यवसायलाई स्वास्थ्य मापदण्ड अनुरुप सञ्चालन गर्नु पर्छ भन्ने व्यवसायिहरूको माग तथा आवश्यक्ता अनुसार धेरै कामहरु अगाडि बढायौं’ उनले भने ।

उनले भने, ‘बोडले एक वर्षको अवधिमा अध्ययन अनुसन्धान तथा सर्भे गर्दा हालसम्म डेढ खर्ब रुपैयाँ मात्रै पर्यटन उद्योगमा लगानी भएको र त्यसमा ८५ अर्ब रुपैयाँ यो क्षेत्रमा कर्जा प्रवाह भएको पाइएको छ ।’ उनका अनुसार ३ लाख मानिस पर्यटन व्यवसायमा संलग्न छन् । तर, अप्रत्यक्ष रुपमा भने १०र१२ लाख मानिस पर्यटनमा आश्रित छन् । ‘३ लाख मानिस पर्यटनमा पूर्ण रुपमा आवद्ध छन्, हाम्रो संस्कृती अनुसार एक जनाले ३र४ जनाको परिवार पाल्छ, यसरी १२ लाख जति मानिस पर्यटनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा आश्रित छन्,’ कार्यक्रममा उनले जनाए।

‘हाम्रो नीति पर्यटकलाई सीमामा अनावश्यक तनाव दिने खालको भयो, अनावश्यक सोधिखोजी गर्छौं, यसो गर्दा पर्यटक नै तर्सन्छ, त्यसपछि कहिल्यै पनि नेपाल फर्कने मनसाय गर्दैन, हामीले पर्यटकको संख्या बढाउन पनि प्रणाली परिवर्तन गर्न आवश्यक छ,’ उनले भने ।

उनले आफूहरुको सर्वेक्षणलाई उद्धृत गर्दै पर्यटन उद्योगमा डेढ खर्ब मात्रै लगानी रहेको बताए पनि यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अध्ययनले भने नेपालको पर्यटन क्षेत्रमा १५ खर्ब जतिको लगानी रहेको तथ्यांक देखाएको थियो । गत बैशाखमा सार्वजनिक गरेको सो अध्ययनका अनुसार नेपाली पर्यटन क्षेत्रमा १५ खर्ब लगानी ७ लाख बढीलाई रोजगारी दिएको उल्लेख गरिएको थियो ।

नेपालमा महामारी सुरु भएपछि स्ट्राण्डेड इन नेपाल नामक वेबसाइट सुरु गरी नेपालका विभिन्न ३३ जिल्लामा रहेका ६० देशका नागरिकहरुको खोजी, सम्पर्क स्थापना गरी लुक्ला, पोखरावाट, तथा अन्य स्थानवाट करिव १ हजार ७ सय २१ जना पर्यटकलाई उद्धार गरी आफनो देश फर्कनको लागी रिपार्टि«एसन फ्लाइट सञ्चालन गर्न सहजीकरण गरेको पनि उनले बताए ।

चीनमा कोरोनाको संक्रमण शुरु भएपछि नै अन्य बजारहरुको सम्भाव्यता खोजी गर्नको लागि पर्यटन वोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा निजी क्षेत्र समेतको सहभागितामा १२ वटा टास्क फोर्स गठन गरी भारत, दक्षिण एसिया, बुद्धिस्ट देशहरू, मध्यपूर्वका देशहरू, युरोप र रसिया, अष्ट्रेलिया र न्यूजिल्याण्ड, अफ्रिका, नर्थ अमेरिका, साउथ अमेरिका चीन, नर्थ इस्ट एशिया लगायत विश्वका विभिन्न १२ वटा पर्यटन स्रोत बजारहरूको अध्ययन गरिएको उनले बताए ।

पर्यटनमा परेको असर तथा भावि कार्ययोजनाका लागि नेपालका विभिन्न प्रदेशमा रहेका पर्यटन व्यवसायीहरु तथा नेपालको प्रमुख स्रोत बजार भारतका पर्यटन व्यावसायीहरूसँग पुनः पर्यटन सुचारु गर्ने सम्बन्धमा सम्भाव्यता तथा आगामी कार्यदिशा तय गर्नको लागी अनलाइन अन्तक्रिया आयोजना गरिएको समेत उनले जनाए।

कोरोनाका कारण तत्कालै अन्तर्राष्ट्रिय पर्यटकहरु आउन नसक्ने, नचाहने परिस्थतिमा नेपालको आन्तरिक पर्यटन बजारको अध्ययन गर्न तथा पर्यटकीय सम्पदाहरुको पहिचान गर्न हरेक प्रदेशको लागि टास्कफोर्स गठन गरी अध्ययन गरी सात प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरी काम अगाडि बढेको उनले बताए ।

उनका अनुुसार देश दर्शन कार्यक्रमको लागि विभिन्न निजी क्षेत्रका संघ संस्था तथा प्रदेशहरुसँग छलफल गरी उचित आन्तरिक पर्यटन प्याकेज संकलन गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालय विस्तार गर्नको लागि सम्पूर्ण प्रदेशहरुमा स्थलगत भ्रमण तथा अध्ययन गरी प्रदेश सरकार, प्रदेश मन्त्रालय, स्थानीय तह तथा निजी क्षेत्रसँग अन्तरक्रिया गरी सम्झौता गरिएको छ।

कोभिडको प्रभाव कहिले र कुन रुपमा रहन्छ भन्ने अन्यौलका बीचमा पर्यटनलाई बचाई राख्न आवश्यक रहेकाले बोर्डले स्वास्थ्य र स्वच्छता प्रोटोकल तयार गरी नेपाली तथा अंग्रेजी भाषामा प्रोटोकल वितरण समेत गरेको उनले बताए । कोभिडको कारण तत्कालै अन्तरराष्ट्रिय पर्यटकहरु आउन नसक्ने र नचाहने परिस्थितिमा नेपालको आन्तरिक पर्यटन वजारको अध्ययन गर्न तथा पर्यटकीय सम्पदाहरुको पहिचान गर्न हरेक प्रदेशको लागि टास्कफोर्स गठन गरी अध्ययन र सबै प्रदेशमा पर्यटन पुनरुत्थान समिति गठन गरी काम अगाडि बढेको उनले बताए ।

विभिन्न वेवसाइटहरुलाई एकीकृत र स्तरोन्नतीको लागि कार्य अघि बढाइएको छ । यस्तै विभिन्न ७ भाषामा वेबसाइटहरू संचालनमा रहेका छन् र थप ३ भाषा (थाई, अरेबिक र कोरियन)को कार्य जारी रहेको छ । पर्यटन व्यवसायमा कतिपय व्यवसायिक कोर्स तथा कार्यक्रममा एकरुपता ल्याउन नाथम, हान, नाट्टा, टान, एनटिभिएजस्ता पर्यटनसँग सरोकार राख्ने संस्थाहरूसँग समन्वय गरी पाठ्यक्रममा एकरुपता ल्याउँदै समय सहाउँदो, व्यावसायिक र सबैको अपनत्व हुने गरी पाठ्यक्रम निर्माण भइरहेको उनले बताए ।

अबको योजना

नेपालको पर्यटनमा नयाँ पूर्वाधारको विकास विस्तार तथा क्षेत्रगत रुपमा हिमालमा आरोहण तथा ट्रेकिङ, पहाडमा हिल स्टेशन सहितको पर्यटकीय हब र तराईमा क्यासिनो सहितका पर्यटकीय पूर्वाधार तथा गतिविधि विस्तार गर्ने गरी बोर्डले अवधारणा तय गरी कामहरू अगाडि बढाइरहेको छ । पर्यटन प्रवद्र्धनका लागि बोर्डले पहिलो तीन महिना विश्व समुदायलाई नेपाल खुल्ला छ भन्ने सन्देश प्रवाह गर्ने, दोस्रो ३ देखि ६ महिनामा पर्यटन क्षेत्रले आफुलाई पूर्ण रुपमा तयार राख्ने र ६ महिनापछि पुरानै अवस्थामा फर्किने गरी रणनीति बनाउने तर्फ बोर्डले सरोकारवालासँगको सहकार्यमा आवश्यक कामहरु गरिरहेको छ । जसलाई फेरि सुरु गर्न, पुनर्जीवन र सुरुवातको अवधारणा भनिएको छ ।

पर्यटन व्यवसायीको गुनासो

कार्यक्रममा पर्यटन व्यवसायीहरुको पनि सहभागिता थियो। विशेष श्रेष्ठले कार्यक्रममा बोल्दै लामो योजना भन्दा छोटो योजना बनाउनु पर्ने बताए। अरु देशहरु उठेपछि हामी उठ्दा ढिलो हुने उनको भनाइ थियो।

पर्यटन व्यवसायीले सरकारले कोरोना प्रभावित व्यवसायीका लागि छुट्याएको पुनर्कर्जा नपाएको गुनासो गरेका थिए । पर्यटन व्यवसायी विशेष श्रेष्ठले आफूहरुले पुनर्कर्जा पाउनु पर्ने भएपनि नपाएको गुनासो गरे । यस्तै अर्का पर्यटन व्यवसायी प्रविण पाण्डेले पनि हामी कृषि विकास देशबाट अब पर्यटन देश बन्नु पर्ने बताए।

देशमा विमानस्थलहरु बन्दै छन् तर पर्यटक नै आएनन् भने समस्या हुन सक्ने उनले बताए । व्यवसायीहरु अहिलेसम्म बाँचिरहेकै भए पनि अझै लामो समय यस्तै रहे बाँच्न अप्ठयारो हुने भएकोले अब पर्यटक आउने बाटो खोल्नु पर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *