कोरोनाले बढी प्रभावित पर्यटन क्षेत्रलाई सरकारले ध्यान दिएको छैनः सीईओ डा.रेग्मी
काठमाडौं। कोरोना महामारीले सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन भएपनि सरकारले पर्यटनप्रति खासै चासो नदिएको गुनासो नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले गरेका छन्। उनले बिहीबार पत्रकार सम्मेलनमा यस्तो गुनासो गरेका हुन्।
कार्यक्रममा विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको एक वर्ष र त्यसले सिर्जना गरेको चुनौती र त्यो अवधिमा नेपाल पर्यटन बोर्डले गरेका काम कारवाहीबारे डा.रेग्मीले बताएका थिए।
नेपालमा पर्यटन उद्योग प्रवद्र्धन गर्नको लागि सरकारले जेजस्ता नीतिगत व्यवस्था तथा भाषणवाजी गरेपनि कार्यान्वयनमा भने सुस्त देखिएको उनको भनाइ थियो।
उनले सरकारको नीतिकै कारण पर्यटक आवागमनमा सुस्तता आएको बताए। साथै, नेपालमा डिजिटल डाटाबेस पर्यटक योजना नभएको र त्यस्तो योजना ल्याउनुपर्नेमा उनको विशेष जोड थियो। उनले विद्यमान विभिन्न वेवसाईटहरुलाई एकीकृत र स्तरोन्नतीको लागि कार्य गर्न अघि बढाइएको जनाए। उनका अनुसार वेवसाईटलगायत डिजिटल मिडिया, केन्द्रीय व्यापार प्लेटफार्मलाई पुनःईन्जिनियरिङ गर्ने कार्य भइरहेको छ।
बजारहरुको सम्भाव्यता खोजी गर्नको लागि पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा निजी क्षेत्र समेतको सहभागितामा १२ वटा टास्क फोर्स गठन गरी भारत, दक्षिण एसिया, बुद्धिष्ट देशहरू, मध्यपूर्वका देशहरू, युरोप र रसिया, अष्ट्रेलिया र न्युजिल्याण्ड, अफ्रिका, नर्थ अमेरिका, साउथ अमेरिका, चीन, नर्थइस्ट एसियालगायत विश्वका विभिन्न १२ वटा पर्यटन स्रोत बजारहरूको अध्ययन भइरहेकाे छ।
रोगभन्दा पनि भोक ठूलो हँुदै जाँदा कोरोना नियन्त्रण गर्न सरकारले चालेका लकडाउन, निषेधाज्ञाकै बीच पनि व्यवसायलाई स्वास्थ्य मापदण्ड अनुरुप सञ्चालन गर्नुपर्छ भन्ने व्यवसायीहरुको माग तथा आवश्यक्ता अनुसार धेरै कामहरु अगाडि बढाइएको डा.रेग्मीले जनाए।
उनका अनुसार कोरोनाको महामारीकै बीच बोर्डले गरेका कामहरु, चलिरहेका काम तथा आन्तरिक एवं बाह्य पर्यटन पुनरुत्थानका लागि अबका दिनमा अबलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमहरूका बारेमा जानकारी गराउने अभिप्रायले उक्त पत्रकार सम्मेलन आयोजना गरिएको हो।
‘हामीले अध्ययन गरे अनुसार हालसम्म डेढ खर्ब रुपैयाँ मात्रै पर्यटन उद्योगमा लगानी भएको छ, त्यसमा ८५ अर्ब रुपैयाँ पर्यैटन क्षेत्रमा कर्जा प्रवाह भएको छ’, उनले भने। उनका अनुसार तीन लाख मानिस पर्यटनमा संलग्न छन्। तर, अप्रत्यक्ष रुपमा भने १०–१२ लाख मानिस पर्यटनमा आवद्ध छन्।
त्यस्तै, नेपाल पर्यटन बोर्डको सर्भेले नेपाली पर्यटन उद्योगमा डेढ खर्ब मात्रै लगानी रहेको बताए पनि यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अध्ययनले नेपालको पर्यटन क्षेत्रमा १५ खर्ब जतिको लगानी गरेको तथ्यांक देखाएको उनको भनाइ थियो। गत बैशाखमा सार्वजनिक गरेको सो अध्ययनका अनुसार पर्यटन क्षेत्रमा १५ खर्ब ७ लाख भन्दा बढीलाई रोजगारी दिएको उल्लेख छ।
पर्यटक नै तर्सिने गरी हाम्रो नीति विपरित पर्यटकलाई बोर्डरमा अनावश्यक टर्चर दिने, अनावश्यक कुराहरुमा सोधिखोजी गर्ने क्रियाकलाप भइरहेको भन्दै उनले कहिल्यै पनि नेपाल फर्कने मनसाय नहुने गरी पर्यटकलाई दुःख दिने त्यस्ता कार्यहरु रोक्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा रेग्मीले कोरोना भाइरसको समयमा बोर्डले गरेका काम र अब गर्ने कामको बारेमा पनि जानकारी गराएका थिए। स्टाण्डर्ड यन नेपाल नामक वेबसाइट सुरु गरी नेपालका विभिन्न ३३ जिल्लामा रहेका ६० देशका नागरिकहरुको खोजी कार्य गरेको र लुक्ला, पोखरा तथा अन्य स्थानबाट करिब एक हजार सात सय २१ जना पर्यटकलाई उद्धार गरी ती पर्यटकहरुलाई आफनो देश फर्काइएको उनले बताए।
चीनमा कोरोनाको संक्रमण सुरु भएपछि नै अन्य बजारहरुको सम्भाव्यता खोजी गर्नको लागि पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा निजी क्षेत्र समेतको सहभागितामा १२ वटा टास्क फोर्स गठन गरी भारत, दक्षिण एसिया, बुद्धिष्ट देशहरू, मध्यपूर्वका देशहरू, युरोप र रसिया, अष्ट्रेलिया र न्युजिल्याण्ड, अफ्रिका, नर्थ अमेरिका, साउथ अमेरिका, चीन, नर्थइस्ट एसियालगायत विश्वका विभिन्न १२ वटा पर्यटन स्रोत बजारहरूको अध्ययन गरेको डा.रेग्मीले बताए।
पर्यटनमा परेको असर तथा भावि कार्ययोजना सम्बन्धमा नेपालका विभिन्न प्रदेशमा रहेका पर्यटन व्यवसायीहरुसँग तथा नेपालको प्रमुख स्रोत बजार भारतका पर्यटन व्यावसायीहरूसँग पुनःपर्यटन सुचारु गर्ने सम्बन्धमा सम्भाव्यता तथा आगामी कार्यदिशा तय गर्नको लागि अनलाइन प्लेटफर्ममार्फत अन्तक्रिया आयोजना गरिएको समेत उनले जनाए।
कोरोनाका कारण तत्कालै अन्तर्राष्ट्रिय पर्यटकहरु आउन नसक्ने परिस्थतीमा नेपालको आन्तरिक पर्यटन बजारको अध्ययन गर्न तथा पर्यटकीय सम्पदाहरुको पहिचान गर्न सातै प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरी काम अगाडि बढेको उनले जनाए।
उनका अनुसार आन्तरिक नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालय विस्तार गर्नको लागि सम्पूर्ण प्रदेशहरुमा स्थलगत भ्रमण तथा अध्ययन गरि प्रदेश सरकार, प्रदेश मन्त्रालय, स्थानीय तह तथा निजी क्षेत्रसंग अन्तरक्रिया गरि सम्झौता गरिएको छ।
त्यस्तै, उनका अनुसार पर्यटकका लागि विभिन्न सात भाषामा वेबसाइटहरू संचालनमा रहेका छ भने थप तीन भाषा (थाई, अरेबिक र कोरियन) को वेबसाइट बनाउने कार्य जारी छ।
पर्यटन व्यवसायमा कतिपय वयवसायिक कोर्ष तथा कार्यक्रममा एकरुपता ल्याउन नाथम, हान, नाट्टा, टान, एनटिभिए जस्ता पर्यटनसँग सरोकार राख्ने संस्थाहरूसंग समन्वय गरी पाठ्यक्रममा एकरुपता ल्याउँदै समय सुहाउँदो व्यावसायिक र सबैको अपनत्व हुने गरी पाठ्यक्रम निर्माण भइरहेको छ, उनले जानकारी गराए।
पर्यटन व्यवसायीको गुनासो
अरु देशहरु उठेपछि मात्र हामी उठ्दा ढिलो हुने भन्दै कार्यक्रममा पर्यटन व्यवसायी विशेष श्रेष्ठले लामो योजनाभन्दा छोटो योजना बनाउनु पर्नेमा जोड दिएका थिए। उनले सरकारले कोरोना प्रभावित व्यवसायीका लागि छुट्याएको पुनरकर्जा नपाएको गुनासो गरेका थिए।
त्यस्तै अर्का पर्यटन व्यवसायी प्रविण पाण्डेले अब हामी कृषि प्रदान देशबाट पर्यटन देश बन्नुपर्नेमा जोड दिएका थिए। उनले भने, ‘हाम्रो देशमा एयरपोर्टहरु बन्दैछन्। तर पर्यटक नै आएनन भने समस्या हुन सक्छ। त्यसैले पर्यटन क्षेत्रको विकास र विस्तारका साथै सुविधासम्पन्न बनाउनु पर्छ। जसले गर्दा पर्यटकहरुको आगमनमा वृद्धि हुन्छ।’
कार्यक्रममा पर्यटन व्यवसायीहरुले कोरोनाले थलिएको व्यवसायलाई सहज हुने वातावरण बनाइदिन माग गर्दै पर्यटन क्षेत्रको विकासमा जोड दिन सरकारलाई सुझाएका थिए।
Facebook Comment